शासक दलहरूले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाए


भक्तपुर, २० कार्तिक । नेपाल मजदुर किसान पार्टी वडा नं. १० निर्वाचन परिचालन समितिको आयोजनामा आइतबार क्वाठण्डौमा चुनावी जनसभा भयो ।
सभामा भक्तपुर क्षेत्र नं. १ प्रतिनिधिसभाका उम्मेदवार प्रेम सुवालले शासक दलका नेताहरूले सिंहदरबारलाई भ्रष्टाचारको मूल अखडाको रूपमा परिणत गरेको बताउनुभयो ।
वैदेशिक ऋणमा डुबाएर देशलाई परनिर्भर बनाइरहेको विचार उहाँले व्यक्त गर्नुभयो ।
सिद्धान्त र विचारलाई तिलाञ्जली दिएर शासक पार्टीहरूले नेपाली जनतालाई घात गरिरहेको उल्लेख गर्दैै उहाँले विदेशी पुँजी र शक्तिराष्ट्रको पछि लागेर देश कसरी विकास हुन्छ भन्नुभयो ।
प्रदेश १ ‘ख’ का उम्मेदवार सुरेन्द्रराज गोसाईले बहुदल स्थापना भएको ३३ वर्षसम्म शासक दलहरूले सत्तामोहमा केन्द्रित रही राजनीति गरिरहेको बताउनुभयो ।
कुनै देशमा नभएको गठबन्धन शासक पार्टीहरूको ठगबन्धन भएको उहाँले बताउनुभयो ।
प्रदेशसभा उम्मेदवार गोसाईले भन्नुभयो, “आफ्नो निर्वाचन चिह्न बन्धकमा राख्ने ठूला भनाउँदा पार्टीहरूले देशलाई बन्धक राखी गठबन्धन गरेका छन् ।”
प्रदेश १ ‘क’ का उम्मेदवार मीनबहादुर बाटा र नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले नेमकिपाका उम्मेदवारहरूलाई निर्वाचित गर्न मादल चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो ।
नेमकिपा १० नं. वडा निर्वाचन परिचालन समितिका अध्यक्ष चन्द्रबहादुर उलकको सभापतित्वमा भएको उक्त सभामा नेमकिपा १० वडा समितिका अध्यक्ष लक्ष्मीप्रसाद चवाल र सरोज सुवालले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार