‘कम्युनिस्ट’ नेताहरू पुँजीवादी सरकारमा गएका हुनाले नेपालको मजदुर आन्दोलन कमजोर


भक्तपुर, १९ वैशाख । नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति भक्तपुरले १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार ¥याली तथा जनसभाको आयोजना ग¥यो ।
संसारका मजदुर एक होऔँ, बाँच्न पाउने ज्यालाको बन्दोबस्त गर, लगानी बोर्ड खारेज गर, एमसीसी सम्झौता खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, सन् १९५० को सन्धि खारेज गर, देशघाती नागरिकता खारेज गर, सुन तस्करहरूलाई पक्राउ गर, रासायनिक मल व्यवस्था गर, नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिन्दावाद आदि नाराका साथ च्याम्हासिंहबाट सुरु भएको ¥याली नगर परिक्रमापछि नासमनामा पुगी जनसभामा परिणत भएको थियो ।


जनसभामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले वर्ग रहेसम्म वर्गीय मजदुर आन्दोलन भइरहने विचार व्यक्त गर्दै मजदुरवर्गको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टीको सरकार नआएसम्म देश, जनता र मजदुरहरूको हित हुनेछैन भन्नुभयो ।
लेनिनवादी नीतिअनुसार कम्युनिस्टहरू पुँजीपतिवर्गको सरकारमा जान नहुने प्रस्ट पार्दै उहाँले आफूलाई कम्युनिस्ट भनिने दलका नेताहरू पुँजीवादी सरकारमा गएकै कारण नेपालको मजदुर आन्दोलन कमजोर भएको बताउनुभयो ।
देशघाती सम्झौताले हाम्रो देश हाम्रो नहुने हुँदा देशघाती सरकार र पार्टीको विरोध गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “नेपाली युवालाई भाडाको सिपाही बनाउने गोर्खा भर्ती, नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को नेपाल–भारत सन्धि, अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता, जन्मको आधारमा नेपाली नागरिकता लिएका विदेशीका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिने नागरिकता ऐन खारेज गर्नुपर्छ ।”
युवाहरूलाई आफ्नै देशमा काम गर्न नदिइएसम्म देश विकास नहुने उल्लेख गर्दै सचिव सुवालले विदेशी लगानीकर्ताहरूले यहाँका उद्योगधन्दामा लगानी गरे आफ्नो पुँजी संरक्षण गर्न विदेशी सेना आउने धेरै सम्भावना भएको हुँदा यसले देश नयाँ उपनिवेश बन्ने हुँदा सबै सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
देशका उद्योगधन्दाहरू चलाउन स्वदेशी पुँजी लगानी गर्न जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले विदेशी लगानीले नेपाली जनतालाई शोषण गर्ने र देशलाई उपनिवेश बनाउने विदेशी लगानी आवश्यक छैन भन्नुभयो ।
युक्रेन–रुस युद्ध र इजरायल–प्यालेस्टिन युद्धमा साम्राज्यवादी देश संयुक्त राज्य अमेरिकाले हतियार बेचेर नाफा कुम्ल्याइरहेको र विश्वमा आतङ्क मच्चाइ शान्ति बिथोलिरहेको चर्चा गर्दै उहाँले रुस–युक्रेन युद्धमा नेपालले युक्रेनको समर्थन गरेर देशको असंलग्न नीति र पञ्चशीलको सिद्धान्त उल्लङ्घन गरी देशविरोधी काम गरेको चर्चा गर्नुभयो ।
भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्नुपर्नेमा जोड दिँदै सचिव सुवालले काठमाडौँको सेवा सुविधा देशका सबै जिल्लामा पु¥याएर सन्तुलित विकास गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।
देशको राजधानी दाङमा सारेर काठमाडौँ उपत्यकालाई सांस्कृतिक केन्द्र बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सिंहदरबार भ्रष्टाचारको अखडा बनिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उठ जाग सारा नेपाली
उठ जाग सारा नेपाली, एकजुट भई उठौँ,
सर्वस्व हरण गर्ने, जालो च्यात्न उठौँ ।
अबेर भयो हेर, अबेर भयो हेर,
शत्रु को हो, मित्र को हो, चिन्नलाई उठौँ ।
अबेर भयो अबेर, बखत चिनेर उठौँ,
एमसीसी नेपालीको काल हो, सङ्घर्ष गर्न उठौँ ।
संसारको मालिक बन्न, एसिया कब्जा गर्ने,
साम्राज्यवादी अमेरिकाको, चाल बुझेर उठाँै ।
युक्रेनमा आगो लगाई युद्धको बीउ रोप्ने,
विश्व इतिहासको पृष्ठ पल्टाई यही बेला उठौँ ।
अफगानिस्तान इराक, लिबियाझैँ ध्वस्त पार्ने,
एसियाली नाटोविरोधी, एकजुट भई उठौँ ।
सिक्किम फिजीझैँ काखमा राखी गल्ला रेट्ने,
हेर्न नचाहने नेपाली भई बाच्न उठौँ ।
उठ जाग सारा नेपाली, एकजुट भइ उठौँ,
सर्वस्व हरण गर्ने, जालो च्यात्न उठौँ ।
पासा पुचः समूह, भनपा ९ द्वारा ‘जनसभामा गाइएको गीत

शासक दलका नेताहरूले भ्रष्टाचारी र अपराधीहरूको पनि भागबन्डा गरी संरक्षण गरिरहेको उल्लेख गर्दै उहाँले मजदुरवर्ग या सच्चा कम्युनिस्ट पार्टीले जनतालाई धोका दिँदैन; मजदुरवर्गविरोधी दलले देश र जनताको हित गर्दैन भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी महिला सङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष सृजना सैंजुले किसान र मजदुरहरूको देशमा सरकार र राज्य भएको अनुभूति दिन नसकेको उल्लेख गर्दै श्रमको मूल्य र रोजगार नपाएर हजारौँ हजार युवा–मजदुरहरू बिदेसिन बाध्य भइरहेको उल्लेख गर्नुभयो । देशका ८० लाख युवा मजदुरहरू विदेशमा सस्तो ज्यामी बन्न बाध्य भइरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “श्रमिक महिलाहरूको स्थिति त झन् डरलाग्दो छ† देशलाई खोक्रो बनाउने, देशलाई बर्बाद बनाउन शासकहरूले गलत कार्य गरे ।”
देशको मजदुर आन्दोलन शिथिल बनाउन नै सरकारले विदेशमा युवाहरू पठाउन गलत कार्य गरिरहेको उल्लेख गर्दै उहाँले मजदुरहरूको बिछोड या पीडालाई रेमिट्यान्सले समाधान नगर्ने बताउनुभयो ।
नेपाली मजदुर र युवाहरू विदेश पठाएर भारतीय मजदुर देशमा भित्याउने सरकारको गलत नीतिको निन्दा गर्दै उहाँले देशको अर्थतन्त्र परनिर्भर र भारतनिर्भर भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “बेरोजगारी समस्या बढेको छ । श्रम बजारमा भारतीय एकाधिकार कायम छ । देशको परनिर्भरता नै यहाँको दुःख र गरिबी हो । देश र जनताको आवश्यकताअनुसार उद्योग खोलेर आधारभूत आवश्यकता पूर्ति नभएसम्म देश विकास सम्भव छैन ।”
अरु देशसँग भिख मागेर देशको विकास भएको इतिहास छैन; देशको उद्योग विदेशीलाई दिएर जनताको आवश्यकता पूर्ति हुनेछैन; सरकारी उद्योग डुबाएर, बेचेर, निजीकरण गरेर खाएकोले देशमा बेरोजगारीको सङ्ख्या बढ्यो; जनता घरवारविहीन भए, उहाँले भन्नुभयो ।
आर्थिक अपराध र देशघाती काम छोप्न लगानी सम्मेलन गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “आर्थिक डाँवाडोलको कारण युद्ध हो† देश देश जुधाएर हतियार बेचेर नाफा कमाउने देश अमेरिका हो; अमेरिका युद्ध गरेर, गराएर, ध्वंस बनाउन चाहन्छ; अतः संसारमा शान्तिको किरण छर्न युद्धको विरोध गर्नुपर्छ ।”
नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष एवं कार्यक्रमका सभापति उपेन्द्र सुवालले मजदुरहरूको पेट र परिवार पाल्न नै मजदुर आन्दोलन भएको उल्लेख गर्दै अमेरिकाको सिकागो सहरका मजदुरहरूको अहिलेको पीडा उहिले यो गणतान्त्रिक सरकारमा कायम रहेको बताउनुभयो ।
भारतीय मजदुर भित्याएर नेपाली मजदुर विदेश पठाउने सरकारी नीतिको विरोध गर्दै उहाँले समाजवादी क्रान्तिपछि देश, जनता र मजदुरको हित हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम सञ्चालन समितिका संयोजक विष्णुराम दुमरुले मजदुर आन्दोलन दबाउन अनेक दमन, छलछाम गरेर दबाउन खोजे पनि अमेरिकामा मजदुर आन्दोलन देशव्यापाी बनेको र सो आन्दोलन अन्ततः सफल भएको सन्दर्भमा १ मईको दिनलाई श्रमिकको विजयको दिवसको रूपमा मनाइरहेको बताउनुभयो ।
सिकर्मी सङ्घ भक्तपुरका अध्यक्ष विक्रम ढुकुछुले सिद्धान्तहीन राजनीति र भागबन्डाले देश दिशाहीन बनिरहेकोमा चिन्ता व्यक्त गर्दै कामअनुसारको ज्याला पाउन समाजवाद स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल यातायात मजदुर सङ्घ भक्तपुरका अध्यक्ष राजेश बुयोले मजदुरवर्गमाथि भइरहेको शोषण अन्त्य गर्न सम्पूर्ण मजदुरहरू एक हुनुपर्नेमा जोड दिँदै शोषण कायम हुने पुँजीवादको विरोध गर्न र शोषणरहित समाज स्थापनाको निम्ति समाजवादको बाटोमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
औद्योगिक मजदुुर सङ्घका प्रतिनिधि हरिकाजी कार्कीले बजार भाउ वृद्धिको अनुपातमा सेवा सुविधा नदिएको विचार राख्दै श्रम ऐन मजदुरहरूको हितविपरीत रहेको बताउनुभयो ।
रमेश दुमरुले पनि बोल्नुभएको सो कार्यक्रममा श्रमिकहरूको अन्तर्राष्ट्रिय गीत र पासा पुचः भनपा ९ को तर्फबाट ‘उठजाग सारा नेपाली’ नामको क्रान्तिकारी गीत गाइएको थियो ।
कार्यक्रमका अतिथि सुवालले किसान कार्यकर्ता गंगाराम ज्याख्वलाई हँसिया र मजदुर राजन कोजुलाई हथौडा हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
जुलुस सुरु हुनुअघि च्याम्हासिंहमा नेक्रामसङ्घ भजिसका गणेशप्रसाद सुवाल र पुण्यराम न्हुछेले मजदुर आन्दोलनको आवश्यकता र उपलब्धिबारे जानकारी दिनुभयो ।

पार्टी गतिविधिहरु
समाचार