भक्तपुर, २१ असार । कानुन अध्ययन समाज भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुर जिल्लाका कानुन व्यवसायीहरूको भेला शनिबार सम्पन्न भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कानुन व्यवसायीहरू अध्ययनशील र विद्वान भएको बताउँदै सही विचार र राजनीतिको पक्षमा सक्रिय हुनुपर्ने बताउनुभयो ।
कानुन अध्ययन समाजका संस्थापक अध्यक्ष र हाल सल्लाहकारसमेत रहेका प्रजापतिले विचारबिनाको सङ्ख्याको कुनै अर्थ नहुने बताउँदै अग्रगामी विचारले ढिलो चाँडो जीत हासिल गरेरै छोड्ने बताउनुभयो ।
उहाँले पुँजीवादी व्यवस्था धनी र शोषकवर्गको शासन व्यवस्था भएको र सरकारहरूले पुँजीपतिवर्गको सञ्चालक समितिको जस्तो काम गर्ने तथ्य प्रस्ट पार्नुभयो ।
देशका शासक दलहरूले देश र जनताको हितमा संविधानअनुसार बनाउनुपर्ने ऐन नबनाइरहेको तर विदेशी पुँजी र दलाल पुँजीपतिहरूको हितमा धमाधम ऐन नियम निर्माण गरेको बताउँदै शासन व्यवस्था सधैँ वर्गीय हुने माक्र्सवादको मूल सिद्धान्त नेपालमा पनि सही साबित भइरहेको छ भन्नुभयो ।
उहाँले नेमकिपाले देशको संसद् र सडकमा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको बताउँदै सैद्धान्तिक र वैचारिक सङ्घर्षले देश र जनतालाई लाभ पुगिरहेको हुन्छ भन्नुभयो ।
उहाँले पुँजीवादी व्यवस्थाको विकल्प पुँजीवादी व्यवस्था नै हुन नसकेझैँ एउटा पुँजीवादी पार्टीको विकल्प अर्को पुँजीवादी पार्टी हुन नसक्ने र सरकारमा जाने पार्टीहरू फेरिए पनि पुँजीवादी व्यवस्थामा तात्विक भिन्नता नआउने प्रस्ट पार्नुभयो ।
उहाँले निर्वाचन भनेको शान्तिपूर्ण तरिकाले वर्गशत्रुको गलत कार्यविरुद्ध ढ्याङ्गे ठोक्ने कार्य भएको बताउँदै निडरताका साथ वैचारिक स्पष्टताका निम्ति निर्वाचन लड्नुपर्ने सुझाव दिनुभयो ।
भेलामा कानुन अध्ययन समाज नेपाल केन्द्रीय समितिका अध्यक्ष एवं अधिवक्ता रामप्रसाद प्रजापतिले शासक दल सम्बद्ध कानुन व्यवसायी सङ्गठनहरूको अकर्मण्यता र भ्रष्टाचारका कारण देशको न्याय क्षेत्र र न्यायपालिका नै बदनाम हुन पुगेको हो भन्नुभयो ।
कानुन अध्ययन समाज नेपालले न्याय क्षेत्रमा रहेका विकृति–विसङ्गति र भ्रष्टाचारविरुद्ध प्रखर रूपमा विरोधको आवाज बुलन्द गर्दै आएको चर्चा गर्नुभयो ।
गरिब कामदारवर्गका कानुन व्यवसायीहरूको प्रतिनिधित्व बार एशोसियसनमा नहोस् भन्ने नियतले नै निर्वाचनमा चर्को उम्मेदवारी शुल्क तोकेको बताउँदै त्यसको विरुद्ध कानुन अध्ययन समाजले सुरुदेखि नै सङ्घर्ष गर्दै आएको छ भन्नुभयो ।
भेलाको आयोजक समितिका अध्यक्ष एवं अधिवक्ता राजु कैतीले कामदारवर्गका जनताको प्रतिनिधित्व गर्ने कानुन अध्ययन समाजको वैचारिक स्पष्टताको निम्ति बारको निर्वाचनलाई उपयोग गर्नुपर्ने बताउनुभयो ।
भेलाले अधिवक्ता गम्वीरमान ज्याख्वको अध्यक्षतामा कानुन अध्ययन समाज भक्तपुर जिल्ला अदालत बार एकाइ समिति गठन ग¥यो ।
भेलाले साउन १० गते तोकिएको नेपाल बार एशोसियसन भक्तपुर जिल्ला अदालत शाखाको निर्वाचनमा पूरै प्यानल उम्मेदवारी दिने, चर्को उम्मेदवारी शुल्क घटाउन माग गर्दै निर्वाचन समितिमा ज्ञापनपत्र दिने र कानुन व्यवसायीहरूका विभिन्न मागका सम्बन्धमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने आदि निर्णय गरिएको जिल्ला अध्यक्ष राजु कैतीले जानकारी दिनुभयो ।