निर्वाचन राजनीतिक पार्टीहरूको घोषणापत्रको लडाइँ हुनुपर्नेमा जोड


बझाङ, ९ वैशाख । वैशाख १५ गते हुने बझाङ क्षेत्र नं. १ (क) को प्रदेशसभाको उपनिर्वाचनको प्रचार प्रसारको क्रममा आइतबार नेपाल मजदुर किसान पार्टीको तर्फबाट बान्ने चौरमा चुनावी सभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले निर्वाचन जनतालाई राजनीतिक चेतना दिने मेलाजस्तै भएको धारणा राख्दै निर्वाचन राजनीतिक पार्टीहरूको घोषणापत्रको लडाइँ हुनुपर्नेमा जोड दिनुभयो ।
बहुदल आएको ३५ वर्षमा पनि देशको स्थिति परिवर्तन नहुनुमा शासक पार्टीहरू नै दोषी छन् । पुँजीवादी व्यवस्थामा कामदार जनताको जीवनस्तरमा सुधार हुनेछैन । नेपाल मजदुर किसान पार्टी कामदार जनताको हित हुने समाजवादी व्यवस्थाको लागि सङ्घर्षरत छ, उहाँले भन्नुभयो ।

निर्वाचन राजनीतिक पार्टीहरूको घोषणापत्रको लडाइँ हुनुपर्नेमा जोड
आज देश युवाविहीन भएजस्तै भोलि देश नै नरहने स्थिति आउन सक्ने खतरा भएकोले नेपाली जनता सचेत भई नेपाल मजदुर किसान पार्टीमा आबद्ध हुन उहाँले बझाङवासी जनतामा आग्रह गर्नुभयो ।
नेपाल विकास नहुनुमा भारतीय विस्तारवाद र एकाधिकार पुँजी तथा आजसम्म सरकारका गएका पार्टीहरू नै प्रमुख दोषी भएको केन्द्रीय सदस्य थापामगरले बताउनुभयो ।
नेमकिपाको तर्फबाट बझाङका उम्मेदवार खगेन्द्रबहादुर शाहीले नेमकिपाले निर्वाचनलाई जनताको चेतनास्तर नाप्ने व्यारोमिटरको रूपमा लिइँदै आएको चर्चा गर्दै मादल चिह्नमा मतदान गरी जनताको सेवा गर्ने अवसर दिन अनुरोध गर्नुभयो ।
सरकारमा गएका पार्टीहरूले कामदार जनताको हित नगर्नेतर्फ बझाङवासी जनता सचेत हुनुपर्नेतर्फ उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङ, नेक्रामहिला सङ्घका बिजुकला राना, हस्त कुँवर र रमेश रावलले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार