काठमाडौँ, ५ असार । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिद्वारा कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोललाई कीर्तिपुर नगरको विकास गर्न सुझावसहित ध्यानाकर्षणपत्र बिहीबार नपा प्रमुखको कार्यकक्षमा बुझाइयो ।
आ.व. २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट व्यवस्थापनमा नेमकिपाले दिएको सुझावलाई मनन गरेमा नमुना कीर्तिपुर नगर बनाउन कुनै गा¥हो नहुने सुझाव दिएको छ ।
पार्टीले कीर्तिपुर नगरपालिकाले शिक्षा क्षेत्रमा नपा आफैले कलेज र विद्यालय खोल्नुपर्ने, त्रिविको भागबन्डाको राजनीतिले कीर्तिपुर नगरकै बदनाम भएकोले नपाले सरकार र जनतालाई सचेत पार्नुपर्ने, स्थानीय पाठ्यक्रममा सहिदको जीवनी र योगदान समावेश हुनुपर्ने, स्वास्थ्य क्षेत्रमा नपा आफैले अस्पताल सञ्चालन गरी सुलभ ढङ्गले सेवा दिनुपर्ने, विष्णुदेवी अस्पतालको २४ घण्टे सेवा प्रभावकारी ढङ्गले गर्नुपर्ने र अस्पतालको स्थान अपुग भएकोले पुरानै स्थान पाङ्गामा सार्ने वा नपाको प्रशासनिक भवनमा सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ । त्यस्तै, फेक्टद्वारा सञ्चालित अस्पतालमा ५० प्रतिशत छुट र शैक्षिक क्षेत्रमा ५० प्रतिशत कीर्तिपुरवासीलाई पठनपाठन गराउनुपर्ने, सांस्कृतिक क्षेत्रमा कीर्तिपुर नपा ७ भाजंगालस्थित ऐतिहासिक मसानघाट र विष्णुदेवी मन्दिर संरक्षण गर्न सांस्कृतिक सम्पदा घोषणा गर्नुपर्ने, फोहोरमैला व्यवस्थापन नपा आफैले सञ्चालन गरी नपाको आयस्रोत बढाउनुपर्ने, खेलकुदमा राष्ट्रिय खेलाडी तयार गर्नुपर्ने, खानेपानीको स्रोत संरक्षण र सबै घरमा मेलम्चीको पानी वितरण व्यवस्थापन गर्नुपर्ने, सडक निर्माणको कार्य गर्दा बाटो परेका किसानको क्षतिपूर्ति र मुआब्जा दिनुपर्ने, सडक मापदण्ड सबैलाई बराबर लागु गर्नुपर्ने, पाँगास्थित दहन पोखरीको संरक्षण र विचाराधीन मुद्दाको पोखरीको पक्षमा वकालत गर्नुपर्ने, युवा लक्षित वर्गको बजेट दीर्घकालीन सदुपयोग हुने गरी गर्नुपर्नेलगायतका विषयअनुसार बजेट विनियोजन गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यसक्रममा कीर्तिपुर नपाका प्रमुखले कीर्तिपुर नपाको स्रोतले भ्याएसम्मको सुझावलाई समेट्ने प्रतिबद्धता व्यक्त गर्दै कीर्तिपुर नगरको विकास गर्न दिनुभएको सुझावलाई नेमकिपालाई धन्यवाद दिनुभयो ।
ज्ञापनपत्र पेस गर्न कीर्तिपुर नगरपालिकामा नेमकिपा कीर्तिपुर नगर समितिका अध्यक्ष, पदाधिकारीका साथै पूर्वकेन्द्रीय सदस्य प्रशान्त महर्जनको पनि उपस्थिति थियो ।