भक्तपुर, १९ असार । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा ऐतिहासिक भ्रष्टाचार विरोधी आन्दोलन (२०२६ असार १९) को स्मरणमा बिहीबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं सङ्घीय सांसद प्रेम सुवालले घरमुली भ्रष्ट भएपछि परिवारका सबै भ्रष्ट हुने हुँदा भ्रष्टाचारविरोधी आन्दोलनबारे नयाँ पुस्तालाई जानकारी दिँदै सङ्घर्षलाई अगाडि बढाउँदै लानु जरूरी रहेको बताउनुभयो ।
निर्वाचनमा पैसा बाँडेर, भोज खुवाएर, सामान बाँडेर जितेको कारण शासक दलका मन्त्री र सांसदहरू भ्रष्टाचार काण्डमा फसिरहेको उल्लेख गर्दै उहाँले देश र जनताको पक्षमा आन्दोलन गर्ने ठाउँका जनता तुलनात्मकरूपले राजनीतिक रूपमा सचेत हुने बताउनुभयो ।
वर्गीय राजनीति छोडेर जातीय राजनीति गर्न नहुनेतर्फ सचेत गराउँदै उहाँले भन्नुभयो, “नेमकिपा श्रमजीवीवर्गको पक्षमा वर्गीय राजनीति गर्छ । पुँजीवादी व्यवस्थाका शासकहरूले दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्न अनेक काण्ड गरेर देशको बदनाम गरे । देशमा काण्डै काण्ड मच्चाएर बेथितिको देश बनाइयो ।”
देशमा सरकारी उद्योग तथा कलकारखानाहरू एक एक गर्दै निजीकरण गरेर व्यक्तिलाई पोस्ने काम गरिरहेको उल्लेख गर्दै उहाँले देशको अर्थतन्त्रलाई कमजोर पारेको बताउनुभयो ।
सार्वजनिक जग्गा र पोखरीमा बनाइएको छायादेवी कम्प्लेक्स भवन, दुवाकोटको १९ रोपनी अतिक्रमित जग्गा सार्वजनिक नै बनाउन सरकारले पहल गर्नुपर्छ, सचिव सुवालले भन्नुभयो ।
नेपाल क्रान्तिकारी कसान सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले भ्रष्टाचारविरोधी आन्दोलनबारे स्पष्ट पार्दै अहिले पनि भ्रष्टाचारविरोधी आन्दोलनलाई निरन्तरता दिनुपर्ने जरूरी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पञ्चायती व्यवस्थामा भएको विकृति र विसङ्गतिभन्दा ठुलो भ्रष्टाचार आजको गणतान्त्रिक बन्दोबस्तमा पनि भइरहेको छ । जनताको हितभन्दा व्यक्तिगत स्वार्थमा लागेका शासक पार्टीहरूको कारण देश र जनताले दुःख पाएका हुन् ।”
भ्रष्टाचारविरोधी आन्दोलन र किसान सङ्घर्षबारे नयाँ पुस्तालाई सचेत पार्नु जरूरी भएको उल्लेख गर्दै उहाँले अग्रज किसान कार्यकर्ताहरूको योगदानलाई पार्टीले कहिल्यै बिर्सने छैन भन्नुभयो ।
भक्तपुर नगरपालिका कृषि समितिका संयोजक राजकृष्ण गोराले भनपाले बहुमत किसानहरूको हितको लागि समय समयमा किसानहरूलाई कृषि तालिम, कौसी खेतीको तालिम, बेमौसमी तरकारी खेतीको तालिम, मल बीउ उपयोग गर्नेसम्बन्धी तालिम, निःशुल्क माटो परीक्षण, कृषि चुन, कम्पोस्ट मल सहुलियत दरमा वितरणलगायतका गतिविधि गर्दै आइरहेको जानकारी दिनुभयो ।
आयोजक समितिका अध्यक्ष गङ्गाराम ज्याख्वको सभापतित्वमा भएको उक्त कार्यक्रममा कृष्णगोपाल चौगुठी, पूर्णगोपाल राजचललगायतले भ्रष्टाचारविरोधी आन्दोलनको महत्वबारे बोल्नुभएको थियो ।