पार्टी कार्यकर्ताहरू समाज परिवर्तनमा लाग्नु आवश्यक


भक्तपुर, १२ वैशाख । नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिको आयोजनामा जिल्लास्तरीय कार्यकर्ता भेला बुधबार सम्पन्न भयो ।
भेलामा प्रशिक्षण दिँदै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले समाजमा राम्रा शिक्षकहरूको अभाव हुनाले विभिन्न गम्भीर समस्या देखापरेको बताउनुभयो । असल शिक्षक बनेर समाजको सेवा गर्न नयाँ पुस्तालाई उत्प्रेरित गर्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “शिक्षकले राजनीतिक कुरा गर्नैपर्छ । प्रगतिशील या परिवर्तनको कुरा विद्यार्थीलाई शिक्षकले बताउनुपर्छ । विद्यार्थीहरूको चेतनाको स्तर बढाउनुपर्छ । समाजवादबारे विद्यार्थीहरूलाई शिक्षित गर्न आवश्यक छ ।”
उहाँले प्रस्ट भन्नुभयो, “शिक्षकले कक्षा कोठामा दल विशेषको वकालत गर्नु हुँदैन । तर, विद्यार्थीलाई राजनीतिक विषयमा जानकारी दिनुपर्छ । शिक्षकले राजनीति गर्नु हुँदैन भन्ने मन्त्री र सरकार प्रजातन्त्रविरोधी हो ।”
“पैसाको पछि लाग्नु गलत हो । मुख्य कुरा त समाजलाई माथि उठाउनु हो । नयाँ पुस्तालाई उत्साहित गर्न आवश्यक छ ।” अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
पार्टी कार्यकर्ताहरूले समाज परिवर्तनबारे सोच्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले राजनीतिक कार्यकर्तासँग तर्कपूर्ण तथा उचित जवाफ हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “जनताको निम्ति काम गर्ने राजनीतिक कार्यकर्ता पछि पर्नुहुँदैन । बरु, आपूm जहिल्यै जानकारीबाट सुसूचित हुनुपर्छ ।”
विचारको लडाइँमा झुक्न नहुने विचार व्यक्त गर्दै अध्यक्ष रोहितले भन्नुभयो, “एमाले, माओवादीहरू विचार, व्यवहार र कामले नै कम्युनिस्ट होइनन् । उनीहरूले जनतालाई धोखा दिनमात्र कम्युनिस्ट नाम राखेका हुन् । यो यथार्थ जनतालाई बताएनौँ भने हाम्रो कर्तव्य पूरा हुँदैन ।”
अध्यक्ष रोहितले मित्रराष्ट्र प्रजग कोरियाका मजदुर फिर्ता पठाएर र राजदूतावास बन्द गराएर दुई देशबिचको पुरानो सम्बन्ध बिगारेको उल्लेख गर्दै सरकारले चीनसँग सुमधुर सम्बन्ध कायम गर्न नसकेको प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “अमेरिका र भारतले नेपाललाई चीनसँगको ब्यापार बन्द गर्न दबाब दिँदै छन् । त्यसैको परिणाम नेपाल–चीन नाका बरोबर बन्द भइरहेको छ । व्यापार बन्द हुने स्थितिमा पुग्दै छ ।”
उहाँले चीनलाई चुस्ने र भारतलाई पोस्ने खेल चलिरहेको दृष्टान्त प्रस्तुत गर्नुभयो ।
कम्युनिस्ट भेषका भारतीय एकाधिकार पुँजीका दलालहरूको निन्दा गर्नुपर्ने आवश्यकताबारे पनि उहाँले प्रस्ट पार्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईले शासक दलहरूले सिद्धान्तहीन राजनीतिको बाटो लिएकै हुनाले केन्द्र र प्रदेशमा राजनीतिक अस्थिरता बढेको बताउनुभयो ।
देशमा आर्थिक सङ्कट गहिरिँदै गएको हुनाले समाजको तलो तहको जीवनस्तर खस्किरहेको बताउँदै उहाँले नजिक आइसकेको मई दिवसमा जनताका जल्दाबल्दा समस्यालाई लिएर छलफल तथा सङ्घर्ष चालु राख्नुपर्ने विचार व्यक्त गर्नुभयो । संरा अमेरिकी साम्राज्यवादले प्यालेस्टिन र रुसविरुद्ध युद्ध चालु राखेको उल्लेख गर्दै उहाँले १३५ औँ मई दिवसमा संसारभरि युद्धविरोधी आवाज घन्किने चर्चा गर्नुभयो ।

पार्टी गतिविधिहरु
समाचार