लेण्डुपको भूमिकामा देखिए नेपालका शासकहरू

08/24/2022

भक्तपुर, ४ भदौ  । नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगरपालिका वडा नं ४, चाँगु वडा एकाइ समितिको आयोजनामा शनिबार समसामयिक विषयमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले सिद्धान्तमा चिप्लनु र हिमालमा चिप्लनु उस्तैउस्तै हुने उल्लेख गर्दै शासक दलहरू देशभक्तिको अडानमा बस्न नसक्दा साम्राज्यवादी र विस्तारवादीको चङ्गुलमा र भ्रष्टाचारमा फसेको बताउनुभयो ।
उहाँले पाँच दलको गठबन्धनको समर्थन प्राप्त नेकाको देउवा सरकारले नेपालको बिजुली भारतलाई दिने देशघाती एमसीसी सम्झौता पारित गराएको र भारतीय विस्तारवादको इशारामा नागरिकता संशोधन विधेयकसमेत पारित गरी नेपाली लेण्डुपको भूमिकामा देखिएको बताउनुभयो ।
सांसद सुवालले नेपालीसँग विवाह गरेका विदेशी महिलालाई तत्काल नागरिकता दिने विधेयकको व्यवस्था देशघाती भएको उल्लेख गर्दै नेपालको नागरिकता समस्या समाधान गर्न नेपाल–भारत सीमा बन्द गर्नु जरुरी रहेको बताउनुभयो ।
नेपालमा भएको हरेक आन्दोलन तथा परिवर्तनमा भारतीय विस्तारवादले सहयोग गरेको दाबी गरी हाम्रो स्रोत कब्जा गर्ने गरेको उल्लेख गर्दै सांसद सुवालले नेपालको सार्वभौमिकता जोगाउन भारतीय विस्तारवादविरुद्ध नेपाली जनताले सङ्घर्ष गर्नु जरुरी रहेको बताउनुभयो ।
केही मुट्ठीभर व्यक्तिले सुविधा पाउने र बहुसङ्ख्यक जनता गरिबीको मारमा पर्ने यो पुँजीवादी व्यवस्थालाई ध्वस्त बनाएर समाजवादी व्यवस्था स्थापना नभएसम्म नेपाली जनताले सुख नपाउने उल्लेख गर्दै सांसद सुवालले कार्यकर्ताहरू इमानदारीपूर्वक समाजवादी व्यवस्थाको प्रचार अभियानमा लाग्नु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजूले जनतालाई राजनैतिकरूपले सचेत नबनाएसम्म समाज परिवर्तन नहुने भएकोले कार्यकर्ताहरू जनसेवामा समर्पित भई राजनैतिक चेतना विस्तारमा लाग्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नपा ४, चाँगु वडा एकाइ समितिका अध्यक्ष श्रीभक्त भडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा रामेश्वर रानामगरले पनि बोल्नुभएको थियो ।