मोरङ, २७ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले विराटनगर मोरङमा अवस्थित मकालु टेलिभिजनका सञ्चारकर्मी अभय राईसँग समसामयिक विषयमा छलफल गर्नुभयो ।
कार्यक्रममा उहाँले भन्नुभयो, “नेपालको संसदीय प्रणाली वेस्ट मिनिस्टरअनुसार भएकोले दोस्रो दल एमाले सरकारमा जानु हुँदैन, कि त चीनको जस्तो संसदीय प्रणाली अवलम्बन गरेको भन्नुपर्छ । उहाँले प्रतिपक्ष कमजोर भएको खण्डमा सरकारको हाबी हुने बताउँदै नेमकिपाबाहेकका सबै पार्टी मिलेर सरकार गठन हुँदा पनि कामदार जनताका लागि काम गर्न नसकेको बताउनुभयो । उहाँले सरकारमा गएका पार्टीहरूले देश र जनताको हितमा कानुन बनाउनुपर्नेमा व्यक्तिगत स्वार्थमा लाग्दा नेपाली जनताले दुःख पाएको बताउनुभयो ।
उहाँले नेपाली काङ्ग्रेसका वीपीले प्रजातान्त्रिक समाजवादको कुरा उठाएको तर व्यवहार त्यसो नदेखिएको र एमालेले जनताको मत लिनको लागि मात्र कम्युनिस्ट नाम राखेको धारणा व्यक्त गर्दै मुख्य कुरा सिद्धान्त रहेको उल्लेख गर्नुभयो ।
उहाँले जनतालाई सैद्धान्तिकरूपमा सचेत पार्न समय लाग्ने कुरा बताउँदै हिन्दुस्तानमा पनि कुनै बेला कम्युनिस्टहरूको बहुसङ्ख्यक रहेकोमा पुँजीपतिहरूले जातजाति, भाषा, संस्कृति र धर्मको नाउँमा विभाजन गराएको बताउनुभयो । उहाँले अहिले पनि हिन्दुस्तानको केरलामा कम्युनिस्ट सरकारले राम्राराम्रा काम गरिरहेको हुनाले पुँजीपतिहरू डराइरहेका छन्, भन्नुभयो ।
उहाँले नेपालका बुद्धिजीवीहरूबिच वास्तविक प्रजातन्त्रको विषयमा छलफल हुनुपर्ने बताउँदै बुद्धिजीवीहरू पद र पैसाको लागि लाग्न नहुने बताउनुभयो । उहाँले कम्युनिस्टले चलाएको सरकारले गरेको आर्थिक विकास अरुले गर्न नसकेको प्रस्ट पार्नुभयो ।
यसैगरी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले मोरङका विभिन्न सञ्चारकर्मीहरूसँग भेटघाट गर्नुभयो ।
भेटघाटको क्रममा अध्यक्ष बिजुक्छेँले आजसम्म पटकपटक सरकारमा गएका काङ्ग्रेस, एमाले र माओवादीले आफ्नो स्वार्थ र सत्ता जोगाउनेबाहेक देश र जनताको हितको निम्ति कुनै पनि काम नगरेको बताउँदै उहाँले निर्वाचनको बेला राजनीतिक दलले घोषणापत्रमा उल्लेख गरेअनुसार काम नगर्नु जनतालाई विश्वासघात गरेको बताउनुभयो ।
उहाँले वर्तमान समयमा एमालेले काम गर्न नसक्नु र काङ्ग्रेसभित्र पनि विभिन्न असन्तोषहरू देखिएको हुँदा निर्वाचनबाट बहुमत प्राप्त राजनीतिक दलले मात्र सरकार सञ्चालन गर्नुपर्ने र दोस्रो ठुलो दलले प्रतिपक्षमा बसेर सरकारलाई बाटो देखाउने काम गर्नुपर्नेे विचार व्यक्त गर्नुभयो ।
उहाँले व्यापक जनता सैद्धान्तिकरूपमा सचेत नभएसम्म काम गर्न गाह्रो हुने विचार व्यक्त गर्दै उत्पादनका साधन राष्ट्रियकरण नहुने र कलकारखानालाई निजीकरण गर्ने व्यवस्था समाजवादी सिद्धान्तविपरीत भएको प्रस्ट पार्नुभयो ।
समाजवादमा योग्यताअनुसारको काम र कामअनुसारको ज्याला हुने भएकोले पुँजीवादी व्यवस्थामा जसले काम गर्न सक्छ ऊ अघि बढ्ने र जसले काम गर्न जान्दैन ऊ पछि पर्ने हुँदा समाजवादी सिद्धान्तको व्यापक प्रचारप्रसार सञ्चारकर्मीहरूले पनि गर्नुपर्ने बताउनुभयो ।
उहाँले शासक पार्टीको नाम कम्युनिस्ट हुँदैमा कामदार जनताको हित नहुने बताउँदै नामभन्दा पनि काम हेर्नुपर्ने औँल्याउनुभयो । उहाँले किसान र मजदुरहरूको नेतृत्वमा जबसम्म आन्दोलन हुँदैन त्यसबेलासम्म किसान र मजदुरवर्गले सुख नपाउने भन्नुभयो ।
उहाँले नेमकिपाले लिएको सिद्धान्तलाई जनतामाझ पु¥याउन कार्यकर्ताहरू गाउँगाउँमा गएर जनताबिच अन्तरक्रिया गर्दै आएको उल्लेख गर्दै जनताले कम मत दिनुको अर्थ प्रतिपक्षमा बस्नु भनेकोले नेमकिपा जनताको मतअनुसार आफ्नो जिम्मेवारी पूरा गरिरहेको बताउनुभयो ।
उहाँले शासक दलभित्र पनि केही राम्रो मान्छे भएको तर पार्टीभित्रको आलोचना र आत्मालोचनाको दरले त्यसलाई दबाउनाले समग्र देशलाई समस्या भएको हो भन्नुभयो । उहाँले पञ्चायती व्यवस्थाविरुद्ध लड्नका लागि वामपन्थी र नेपाली काङ्ग्रेस मिलेर विगतमा आन्दोलन गरी बहुदल पुनःस्थापना भएको कुरा बताउँदै सबै पार्टीले आ–आफ्नो सिद्धान्तबारे जनतालाई बताउनुपर्छ भन्नुभयो ।
उहाँले पञ्चायतको समयमा नेपाल मजदुर किसान पार्टी र कार्यकर्ताहरूलाई नस्ट पार्न खोज्ने राजतन्त्रको पक्षमा नेमकिपा कहिल्यै नरहेको स्पष्ट पार्दै जनताले पुरानो कुरा मन नपराएरै पञ्चायतको अन्त्य गरेको बताउनुभयो । कार्यक्रममा अध्यक्ष रोहितले पत्रकार महासङ्घ कोसीका उपाध्यक्ष सुदीप अधिकारीलाई पार्टी प्रकाशन दिनुभएको थियो ।