महिला दिवस वर्गसङ्घर्षका निम्ति तयार गर्ने अवसर


कञ्चनपुर, २७ फागुन । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ कञ्चनपुरको आयोजनामा महाकाली नदीपारिको नेपालको एकमात्र गाउँ दोधारा–चाँदनीको विभिन्न वडामा आइतबार महिला भेला भयो ।
भेलामा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले श्रमिक महिला दिवस कामदारवर्गका महिलालाई राजनीतिकरूपले सचेत र सङ्गठित बनाई वर्गसङ्घर्षको निम्ति तयार गर्ने अवसर भएको बताउनुभयो ।महिला दिवस वर्गसङ्घर्षका निम्ति तयार गर्ने अवसर
उहाँले भन्नुभयो, “शिक्षा, स्वास्थ्य निःशुल्क र स्वदेशमै रोजगारीको व्यवस्था नगर्ने सरकारहरू कामदारवर्गका जनताका शत्रु हुन् ।”
नेपाल–भारत खुला सीमा नियमित गनुपर्ने, बलात्कारी, चेलीबेटी बेखबिखन गर्नेलाई कानुन संशोधन गरेर भए पनि मृत्युदण्डको व्यवस्था गर्नुपर्नेमा केन्द्रीय अध्यक्ष थापामगरले जोड दिनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले सन्तानको सङ्गतबारे ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै पार्टी सदस्यहरूले आ–आफ्ना सन्तानहरूलाई पार्टीको विभिन्न वर्गीय सङ्गठनको सदस्य बनाउँदा समाजप्रति जिम्मेवार हुन्छन् भन्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले नेक्राविसङ्घ निःशुल्क र वैज्ञानिक शिक्षाको लागि सङ्घर्षरत रहेको बताउनुभयो ।
नेक्राविसङ्घले विद्यार्थीलाई देश र जनताको इमानदारीपूर्वक सेवा गर्न र समाज बुझ्न सहयोग सिकाउँछ, उहाँले भन्नुभयो ।
ख्वप पोलिटेक्निक इन्स्टिच्युटका उपप्राध्यापक रविना सुवालले नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने आवश्यकता औँल्याउँदै स्तन क्यान्सरबारे जानकारी गराउनुभएको थियो ।
आशा बुढाको सभापतित्वमा भएको उक्त कार्यक्रममा मिनु गिरी र रमेश रावलले मार्च ८ को दिन महिला अधिकारको लागि सङ्घर्ष गरेको दिन हो भन्नुभयो ।

पार्टी गतिविधिहरु
समाचार