माक्र्सवाद भनेको पुँजीवादको उत्थान, विकास र पतनको नियम


कञ्चनपुर, ४ भदौ । नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिको आयोजनामा सोमबार जिल्लास्तरीय कार्यकर्ता भेला भयो ।
भेलामा पार्टीका सचिव प्रेम सुवालले नेमकिपाले माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्त मानेर कामदार वर्गलाई राजनीतिकरूपले सचेत र शिक्षित गर्दै आएको बताउनुभयो ।
पुँजीवादी सरकारको भागबन्डा खाएकाहरूले पार्टीको नाममा कम्युनिस्ट जोडेर जनतालाई छलछाम गर्दै आएको उहाँले स्पष्ट पार्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “माक्र्सवाद भनेको पुँजीवादको उत्थान, विकास र पतनको नियम हो । कामदार वर्ग राजनीतिकरूपले शिक्षित भएपछि पुँजीवादको पतन हुनेछ ।”
एमसीसी सम्झौता अमेरिकी स्वार्थको लगानी हो । यो सम्झौताअनुसार नेपालले अमेरिकी नीति र कानुन पालना गर्नुपर्ने हुँदा नेमकिपाले देशको ४० प्रतिशत जिल्लाका विभिन्न ठाउँमा जुलुस र सभा गरी यो सन्धिको विरोध गरेको हो, उहाँले भन्नुभयो ।
नेपाली जनताको दुःखको कारण पालैपालो सिंहदरबार कब्जा गर्न गएका शासक दलका नेताहरू नै भएको सचिव सुवालले बताउनुभयो ।
आफूलाई भारतले प्रधानमन्त्री बनाएको दाबी गरेका पुष्पकमल दाहाललाई सरकारको नेतृत्व गर्ने नैतिक अधिकार नभएको धारणा उहाँले राख्नुभयो ।
उहाँले भन्नुभयो, “विश्वका क्रान्तिकारी नेता र नेतृत्वको जीवनी अध्ययन गरेर पार्टीका सबै कार्यकर्ताहरूले जनताको सेवा गर्ने उत्साह लिनु जरुरी छ । खुला सिमानामा भारतीय विस्तारवादलाई नेपालको भूमि अतिक्रमणको विरोध नगर्ने शासक पार्टीहरू देशभक्त हुन सक्दैनन् ।”
ख्वप विश्वविद्यालय र गेटा विश्वविद्यालयको विधेयक पारित नगर्ने शासक दलहरू शिक्षा विरोधी नै भएको सचिव सुवालले बताउनुभयो ।
नेमकिपा कञ्चनपुर जिल्ला संयोजक दलबहादुर बोहोराको सभापतित्वमा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यद्वय खगेन्द्रबहादुर शाही, सरोजराज गोसाई र रमेशकुमार रावलले पनि बोल्नुभएको थियो ।
सांसद सुवाल कमैयाहरूको बस्तीमा
कञ्चनपुर, ४ भदौ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले वेदकोटस्थित मुक्त कमैया बस्तीका सर्वसाधारणसँग भेटघाट गर्नुभएको छ ।
२०५७ सालमा मुक्त गरेको भनिएका सर्वसाधारणको वर्तमान अवस्थाबारे बुझ्ने क्रममा सचिव सुवालले किसानलाई पहिले जमिनदारले दुःख दिएको तर अहिले सिंहदरबारमा पुगेका शासक दलका नेताहरूले दुःख दिइरहेको भनाइ राख्नुभयो ।
स्थानीयसँग भलाकुसारी गर्दै सचिव सुवालले २००८ देखि २०१५ सम्म पूर्वी तराईका विभिन्न जिल्लामा किसान आन्दोलन भएको चर्चा गर्नुभयो । उहाँले आन्दोलन भएका ठाउँमा किसानले मोहियानी हक पाएको उल्लेख गर्दै नत्र काठमाडौँ उपत्यकामा समेत मालिकलाई रिझाउनेले मात्र जग्गा जोत्न पाएको इतिहास स्मरण गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले २०५७ सालको कमैया मुक्तिले किसानलाई मोहियानी हकबाट वञ्चित गरेको भन्दै किसान र मजदुर नै राजनीतिकरूपमा सचेत हुनुपर्ने भनाइ राख्नुभयो ।
नेमकिपा, वेदकोट नगर समितिका अध्यक्ष सुरेन्द्रराज भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाही, नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावल, स्थानीय सीताराम रानालगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा स्थानीयले शिक्षा र स्वास्थ्य उपचारको बन्दोबस्त निःशुल्क हुनुपर्ने, कृषि मलको बन्दोबस्त हुनुपर्नेजस्ता विषयमा जिज्ञासा राख्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार