कामदारवर्गको शासन सत्ता स्थापना गर्न युवाहरू क्रियाशील रहनु जरुरी


भक्तपुर, २७ साउन । नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगर समितिको आयोजनामा शनिबार नगरस्तरीय युवा भेला भयो ।
उक्त भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले सबै नीतिको मूल नीति राजनीति भएको उल्लेख गर्दै सिंहदरबार पुगेका शासक दलहरूको कारण देश र जनतालाई दुःख भएको बताउनुभयो ।
उहाँले असङ्गठित बहुमतलाई सङ्गठित अल्पमतले शासन गर्ने यथार्थ प्रस्तुत गर्दै बहुमत कामदारवर्गलाई सङ्गठित पारेर कामदारवर्गकै शासन सत्ता स्थापना गर्न युवाहरू क्रियाशील रहनु जरुरी रहेको बताउनुभयो ।
सचिव सुवालले युवाहरू जुवा, तास, मदिराजस्ता विकृतिबाट टाढा रहेर अनुशासनमा बस्नुपर्ने आवश्यकता औँल्याउँदै समाजमा रहेका अन्याय, अत्याचार र भ्रष्टाचारविरुद्ध जनतालाई जागरुक गराई सङ्घर्षमा लाग्नु जरुरी रहेको बताउनुभयो ।
शासक दलहरूले शोषकवर्गको पक्षमा राजनीति गरिरहेको उल्लेख गर्दै सांसद सुवालले नेपाल मजदुर किसान पार्टीले कामदारवर्गको जनताको पक्षमा राजनीति गरिरहेको औँल्याउनुभयो ।
“दार्शनिक र क्रान्तिकारी नेता र नेतृहरूको जीवनीबाट हामीले सिक्नुपर्छ ।” उहाँले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजुले युवाहरू सैद्धान्तिकरूपले प्रस्ट हुन पार्टी प्रकाशनहरूको अध्ययन र अन्तरक्रियालाई जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले देशका विभिन्न स्थानको सामाजिक जीवन तथा संस्कार संस्कृतिको पनि अध्ययन गर्नु जरुरी रहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ भजिसका अध्यक्ष मिनबहादुर बाटाले आजसम्मका सरकारहरूको गलत नीतिको कारण नेपाली युवा वैदेशिक रोजगारको नाममा विदेसिन बाध्य भएको उल्लेख गर्दै नेपाली युवाहरूलाई स्वदेशमै रोजगारीको बन्दोबस्त गर्नु जरुरी रहेको बताउनुभयो ।
आयोजक समितिका आर. साखकर्मीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगर समितिका संगीता नेपाली र एल.एन.ले पनि बोल्नुभएको थियो । भेलाले एल.एन. को संयोजकत्वमा नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगर सम्मेलन तयारी समिति गठन ग¥यो ।

पार्टी गतिविधिहरु
समाचार