सरकारको नेतृत्व गरेका पार्टीकै कारण नेपाली जनता सधैँ दुःख र समस्यामा


भक्तपुर, २४ साउन । नेपाल मजदुर किसान पार्टीका अग्रज कार्यकर्ता एवं कर्तव्यनिष्ठ जनप्रतिनिधि जयराम बासुकलाको १९ औँ स्मृति दिवस तथा स्नातकोत्तर तह उत्तीर्णलाई सम्मान कार्यक्रम चानपा –९ ताथलीमा बुधबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवं सङ्घीय प्रतिनिधिसभा सदस्य प्रेम सुवालले अग्रज कार्यकर्ता जयराम बासुकला आँखामा राख्दा पनि नबिझाउने जनताका कार्यकर्ता र जनप्रतिनिधि हुनुहुन्थ्यो भन्दै उहाँको जीवनी र कार्यबारे नयाँ पुस्तालाई बताउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “जयराम दाइ जनताको सेवामा अहोरात्र खट्ने अथक कार्यकर्ता हुनुहुन्थ्यो । उहाँको सरल व्यक्तित्व र जीवनशैलीबाट कार्यकर्ताहरूले अनुकरण गर्नुपर्छ ।”
ताथली गाविसलगायत भक्तपुर जिल्लाको विभिन्न ठाउँमा भौतिक पूर्वाधारको विकास निर्माण तथा शिक्षा क्षेत्रमा जयराम दाइले गर्नुभएको योगदानबारे सचिव सुवालले प्रस्ट पार्नुभयो ।
देशमा लोकतान्त्रिक गणतन्त्र छ भनिए पनि यो व्यवस्था जनताले चाहेको व्यवस्था नभएको र जनताको नेतृत्व गर्छौँ भन्ने शासक दलका नेताहरू लोभीपापी र भ्रष्टाचारी भएको विभिन्न काण्डका खुलासाले पुष्टि गरेको उहाँले बताउनुभयो ।
“त्रिभुवन विमानस्थलमा पक्राउ परेको एक सय किलो सुन तस्करी त २८ औँ पटकको हो । यसअघिको २७ औँ पटकको तस्करी सुन कहाँ छ, सरकार बोलेको छैन । दस वर्षयता ४,११७ किलो सुन तस्करी भएको पनि सार्वजनिक भयो तर संलग्न कोही पनि समातिएन । उक्त काण्डहरूको छानबिनको लागि सर्वदलीय संसदीय समिति बनाउनुपर्ने आवाज नेमकिपाले राख्दै आएको हो”, सांसद सुवालले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीले साउन २३ गतेको संसद्मा सुन तस्करीमा संलग्नहरूको जरैसम्म पुग्नुपर्ने, मिलेमतो गरी टुङ्ग्याउने शासक दलहरूको मात्र उच्चस्तरीय छानबिन समिति गठन गर्नु उपयुक्त नहुने, छानबिन समितिमा सबै दलका प्रतिनिधि हुनुपर्ने माग राखेको उल्लेख गर्दै सांसद सुवालले साउन २२ गतेको अविरल वर्षाको कारण देशभरि पहिरो, डुबान भई जनधनको क्षति भएको, भक्तपुरको चाँगु, हनुमानघाट, राममन्दिर, बाराहीस्थान, भैलयूलगायत ठाउँमा धानबाली क्षति भएका किसानहरूलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गरेको बताउनुभयो ।
सांसद सुवालले मानिसलाई दुःख मानिसबाटै भइरहेको हो; शिक्षा, स्वास्थ्य, रोजगारीसम्बन्धी नेपाली जनतालाई भइरहेको अहिलेको दुःख पालैपालो सिंहदरबार गएर सरकारको नेतृत्व गर्नेहरूबाटै भएको हो भन्नुभयो ।
देशका मन्त्रीहरूले देश र जनताको हितमा काम नगरिरहेको चर्चा गर्दै सांसद सुवालले भन्नुभयो, “परराष्ट्रमन्त्रीले दिनको ६–७ हजार राहदानी वितरण गर्नु नै ठूलो काम ठान्नु देशको हितमा छैन । आर्थिक कूटनीतिको अर्थ विदेशी प्रविधि र स्रोत ल्याएर युवालाई नेपालमै रोजगारी दिने हो, वैदेशिक रोजगारीमा ८० लाख युवा पठाउने होइन । किसानलाई कृषि मल, बीउ, सिँचाइ र औजारको व्यवस्था नगर्ने र नेपालको खेतीयोग्य भूमि बाँझो राखी भारतबाट विषादीयुक्त दाल, चामल, तरकारी खरिद गर्ने सरकार आवश्यक छैन ।”
निजी बैङ्क र कर्जा प्रवाह बढ्यो तर देशको अर्थतन्त्र कमजोर भइरहेको छ† सिँहदरबारमा गएर सरकार सञ्चालन गर्नेहरूको असक्षमताकै कारण व्यापार घाटा २० खर्ब र सार्वजनिक ऋण २१ खर्ब पुगेको हो भन्दै सांसद सुवालले सरकारी सार्वजनिक जग्गा, पोखरी, व्यक्तिको नाममा दर्ता गराउने र गिरीबन्धु टी. स्टेटको हदबन्दीभन्दा बढी भएको जग्गा बिक्री गर्न फुकुवा गर्ने, वाइडबडी, यति होल्डिङस् काण्डका भ्रष्टाचारीहरूलाई कारबाही गर्नु जरुरी छ भन्नुभयो ।
सभामा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष एवम् वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले जयराम बासुकला जनताको घरदैलोसम्म पार्टीको नीति, सिद्धान्त, विचार, सङ्घर्ष बताउने काममा अहोरात्र खट्नुभएको स्मरण गर्दै उहाँको त्यो पे्ररणाबाट कार्यकर्ता थप सकृय हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यकर्ताको महत्वपूर्ण गुण पार्टी अनुशासन भएकोले जयराम बासुकलाजस्तै सबै कार्यकर्ता अनुशासित हुनुपर्छ, उहाँले भन्नुभयो ।
नयाँ पुस्तालाई शिक्षित र सचेत पार्दै समाजवादी विचारबाट लैस गर्नु नै जयराम बासुकलाको सच्चा श्रद्धाञ्जली हुने धारणा राख्दै उहाँले भन्नुभयो, “परिवर्तनको लागि अझ सङ्घर्ष गर्नु आजको आवश्यकता हो ।”
अक्षय कोष समितिका अध्यक्ष चन्द्रबहादुर थुयाजुको सभापतित्वमा भएको सो सभामा नेमकिपा चाँगुनारायण नगर समितिका उपाध्यक्ष केशवप्रसाद तिमिल्सिना, नेमकिपा चाँगुनारायण ९ वडा समितिका अध्यक्ष नारायणभक्त न्हेम्हाफुकी, स्थानीय वडा अध्यक्ष गणेश त्यात, अक्षय कोष समितिका सदस्यहरू राजाराम छुकां, एकबहादुर खत्री, घनश्याम खड्कालगायतले जयराम बासुकलाको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ९ मा स्थायी बसोबास गरेका ४४ जना स्नातकोत्तर उत्तीर्ण महानुभावहरूलाई बधाईपत्र प्रदान गरिएको थियो ।

पार्टी गतिविधिहरु
समाचार