हरियाली कृषि नेपाल मरुभूमिमा परिणत हुनुमा शासक पार्टी दोषी


काठमाडौँ, २० साउन । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा ‘समाज विकासको एक झलक’ पुस्तकबारे शनिबार अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले समाज विकासबारे विज्ञानसम्मत तथ्यहरू जानकारीमा लिनु जरूरी रहेको उल्लेख गर्दै भन्नुभयो, “वरिष्ठ साहित्यकार हरिबहादुर श्रेष्ठको ‘समाज विकासको एक झलक’ पुस्तकले पृथ्वीको जन्मदेखि मानव सभ्यताको विकासबारे विज्ञानसम्मत जानकारी दिन्छ । विज्ञानसम्मत जानकारी नभएकाहरू अन्धविश्वासतर्फ लाग्छन् । अस्तित्वमा नभएको कुनै शक्तिको कारणले मानिसलाई दुःख हुने ठान्नु अन्धविश्वास हो । नेपाली जनतालाई दुःख पालैपालो सिंहदरबार कब्जा गर्न गएका शासक नेताहरूको कारण भएको हो ।”
“सरकारको काम युवालाई राहदानी बाँडेर घर–खेत बेचाइ वैदेशिक रोजगारीमा पठाउने होइन† सरकारले युवालाई आवश्यक शिक्षा दिएर देशभित्र रोजगारी दिनु जरूरी छ”, उहाँले जोड दिँदै भन्नुभयो ।
युरोप र अमेरिकाको सम्पन्नतामा अफ्रिकी दासहरूको रगत–पसिना बगेको ऐतिहासिक यथार्थबारे जानकारी दिँदै सचिव सुवालले भन्नुभयो, “अहिले नेपाली युवाहरूको रगत–पसिनाले खाडी मुलुकको मरूभूमि हराभरा भइरहेको छ । तर, हरियाली भूमि नेपाल मरूभूमिमा परिणत हुनुमा शासक पार्टीहरू दोषी छन् ।”
उहाँले भन्नुभयो, “भारतबाट विषादी भएको दाल, चामल, तरकारी ल्याएर नेपालीलाई खुवाउने सरकारहरू देश र जनताको पक्षमा हुनेछैन ।”
कम्युनिस्ट दाबी गरेकाहरू, सरकारमा गएर भ्रष्टाचार र अनियमितता गरेकाहरूले पुँजीवादी क्रान्ति गर्नुपर्ने बताएको हुँदा तिनका कार्यकर्ताहरू उपभोक्ता समिति र ठेकेदारको पछि लागेर भ्रष्टाचारमा संलग्न भइरहेको सचिव सुवालले बताउनुभयो ।
राज्यको नेतृत्वमा औद्योगिक क्रान्ति गर्नु जरूरी रहेको तर शासक दलका नेताहरूको ध्यान यतातिर नभएको बारे सांसद सुवालले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “देशको सन्तुलित विकास गरिएको भए काठमाडौँ महानगरपालिकामा अहिलेको जस्तो फोहोरमैलाको समस्या देखिने थिएन ।”
नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले नेमकिपाको हरेक कार्यक्रमले जनतालाई सचेत पार्ने काम गरिरहेको छ भन्नुभयो ।
नेमकिपाको सही सिद्धान्त र विचारले जनता शिक्षित एवं सङ्गठित भइरहेको र शासक पार्टीहरूप्रति जनताको वितृष्णा बढिरहेको उहाँले बताउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य राजवीर डंगोलले नेपालमा दासप्रथा उन्मूलन भए पनि शासक पार्टीहरूमा अहिले पनि दास मनोवृत्ति बाँकी रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं नेमकिपा काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जनले समाज विकासको अध्ययन गर्नेहरूको लागि पुस्तक एउटा राम्रो सन्दर्भ सामग्री रहेको धारणा राख्दै राजनीतिक कार्यकर्ताहरूले यस पुस्तकबारे गहनरूपले अध्ययन गर्नुपर्ने जरूरी रहेको बताउनुभयो ।
कार्यक्रममा रमेश डंगोल, मदन श्रेष्ठ, हरिशरण श्रेष्ठ, काशिनारायण डंगोल, चन्देश्वरी महर्जन, रत्ना डंगोल, श्यामसुन्दर महर्जन, जितबहादुर महर्जन, रवीन्द्र महर्जन, सानुकाजी महर्जन, विश्वक डंगोलले पुस्तकबारे अध्ययनको सार राख्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार