शासक पार्टीका नेताहरू आर्थिक माफियाको घेरामा !


भक्तपुर, १८ साउन । नेपाल क्रान्तिकारी महिला सङ्घ चाँगुनारायण नगर समितिको आयोजनामा ‘समाज विकासको एक झलक’ पुस्तकबारे बिहीबार अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले मानव समाजको विकासको क्रममा विवाह, परिवार र व्यक्तिगत सम्पत्तिसँगै राज्यको उत्पत्ति भएको धारणा राख्दै राज्य सत्तामा पुगेका सामन्तहरूले भूमि कब्जा गरी जनतामाथि शोषण र शासन गरेका हुन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “अहिले संसारका विभिन्न देशमा पुँजीपतिवर्गले उद्योग–व्यापार कब्जा गरी सत्तामा पुगेर जनतामाथि शोषण र शासन गर्दै छ ।”
नेपालका शासक पार्टीका नेताहरू पनि आर्थिक माफियाहरूको सहयोगमा जनतामाथि शासन र शोषण गर्दै छन्, सांसद सुवालले स्पष्ट पार्नुभयो ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने, ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने, सुन तस्करीलगायत भ्रष्टाचारमा शासक पार्टीहरूको संलग्नता रहेको उहाँले बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “राजनीति देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने भावनाले गरेको हुनुपर्छ । जनतालाई भोज भतेर खुवाएर, सामान र पैसा बाँडेर चुुनाव जितेर भ्रष्टाचार गर्ने होइन ।”
नेमकिपा भक्तपुर जिल्ला उपाध्यक्ष न्हुछेभक्त फोजूले राजनीतिक कार्यकर्ताहरूको सांस्कृतिक स्तर उकास्न पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
आयोजक समितिका अध्यक्ष सानुमाया लागेजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपाको तर्फबाट वाग्मती प्रदेशसभा सदस्य गीता काफ्ले, ममता खड्का, सीता कार्की, रामदेवी थुयाजु, कमला भारती गिरी र कविता कासुलाले पुस्तकको अध्ययनको सार राख्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार