किसान सङ्घर्षको इतिहासबारे नयाँ पुस्तामा जानकारी दिनु आवश्यक


काठमाडौँ, १४ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घको स्थापना दिवसको अवसरमा नेक्राकिसङ्घ केन्द्रीय समितिको आयोजनामा टोखामा कार्यकर्ता भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेक्राकिसङ्घको इतिहास गर्विलो रहेको बताउनुभयो ।
अग्रज किसान कार्यकर्ताहरूले नयाँ पुस्ताका युवा, विद्यार्थी र महिलालाई किसान सङ्घको इतिहासबारे जानकारी गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
पञ्चायती राज्यसत्ताले नेमकिपा र पार्टीका कार्यकर्ताहरूलाई समूल नष्ट गर्ने दुष्प्रयास गरेको जानकारी गराउँदै केन्द्रीय सदस्य गोसाईले पञ्चायती राज्यस्तरको षड्यन्त्रको कारण पञ्चायत आफैँ पतन भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पञ्चायती शासकहरू भ्रष्ट, बेइमान, नैतिकताहीन र निरङ्कुश भएकाले नेमकिपाका कार्यकर्ताहरूसँग तिनीहरू टिक्न सकेनन् ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जनले जुझारू र सक्रिय कार्यकर्ता सङ्गठित भएर लागेमा समाजवादी व्यवस्था चाँडै स्थापना हुने धारणा राख्नुभयो ।
नेमकिपाले स्थापनाकालदेखि नै राष्ट्रिय सवालहरूमा देशभक्तिपूर्ण आन्दोलन गर्दै आएको चर्चा गर्दै उहाँले नेमकिपाले एमसीसी र एसपीपी देशघाती भएकोले नेमकिपाले विरोध गरिरहेको बताउनुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य गीता काफ्लेले स्वदेशमै मल कारखाना स्थापना गर्नको लागि आवाज राखेको चर्चा गर्दै सत्तापक्ष र प्रतिपक्षका सांसद एवं मन्त्रीहरू भागबन्डामा लिप्त रहेको बताउनुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा केन्द्रीय सचिव हरिराम सुवाल र केन्द्रीय सदस्यद्वय हरिशरण श्रेष्ठ तथा कवीन्द्र डंगोलले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार