एमसीसी सम्झौता खारेज गराउन सङ्घर्ष चालु राख्ने निर्णय गर्दै नेमकिपा केन्द्रीय समिति बैठक सम्पन्न


भक्तपुर, ६ साउन । नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समितिको बैठक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयका विभिन्न प्रस्ताव पारित गरेर शनिबार सम्पन्न भएको छ ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले देश र जनताको सेवामा पार्टीलाई थप सक्रिय बनाउन आवश्यक निर्णयसमेत गरेको छ ।
बैठकमा नेमकिपाका अध्यक्ष बिजुक्छेँले नेपाली सेनालाई अमेरिकी साम्राज्यवादविरोधी राजनीतिक शिक्षासमेत दिनुपर्नेमा जोड दिनुभयो ।
नेपाली जनतामा वर्गीय चेतनासँगै एकता पनि कायम हुने, जातीय सङ्गठनमार्फत जनताको लक्ष्य प्राप्त नहुने उल्लेख गर्दै उहाँले पार्टी कार्यकर्ताको सांस्कृतिक स्तरको अर्थ संवेदनशिलता र अरूको भावना बुझेर जनताको सेवा गर्ने भएको विषय प्रकाश पार्नुभयो ।
पार्टी प्रकाशनको अध्ययनमा जोड दिँदै अध्यक्ष बिजुक्छेँले आधा जनसङ्ख्या भएको कामदार महिलाहरूलाई शिक्षित र सचेत नगरिएसम्म देशको विकास सम्भव नहुने र माक्र्स एवम् एङ्गेल्सको जीवनी अध्ययनसँगसँगै उहाँहरूको जीवनबाट मानव जातिलाई के–कस्तो सेवा पुग्यो भन्नेबारे कार्यकर्ताहरूलाई शिक्षित गर्नुपर्ने बताउनुभयो ।
बलियो पार्टी सङ्गठनबिना चुनाव जित्दैमा जनताको हितमा काम गर्न नसकिने उल्लेख गर्दै उहाँले कार्यकर्ताको राजनीतिक चेतनास्तर उठाउनुपर्नेमा जोड दिनुभयो ।
बैठकले पार्टी सचिव पे्रम सुवालले प्रस्तुत गर्नुभएको केन्द्रीय समितिको प्रतिवेदन सुझावसहित पारित ग¥यो । पार्टी केन्द्रीय सदस्य सुनिल प्रजापतिले प्रस्तुत गर्नुभएको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्ताव सुझावसहित पारित भयो ।
शनिबारको बैठकमा पनि नेमकिपाका केन्द्रीय सदस्यहरूले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
केन्द्रीय समितिको निर्णय
– अमेरिकी स्वार्थको लगानी वर्तमान र भविष्यको अमेरिकी कानुन एवम् नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता र नेपाली सेनाको ब्यारेकलाई अमेरिकी सेनाले कब्जा गर्ने एसपीपी साझेदारी खारेज गराउन सङ्घर्ष चालु राख्ने । अमेरिकी साम्राज्यवादले निजी सेना सुरू गरेकोलाई विरोध एवम् भत्र्सना गर्ने र कुनै पनि देशमा निजी सेना बनाउन नपाउने अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाको लागि आवाज उठाउने ।
– माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन, माओ त्सेतुङलगायत विश्वका कम्युनिस्ट आन्दोलनका क्रान्तिकारी नेता र नेतृहरूको जन्म दिवसको अवसरमा उहाँहरूको जीवनी तथा कृतिबारे अध्ययन र अन्तरक्रिया गर्ने ।
– अक्टोबर समाजवादी क्रान्ति, चिनियाँ जनक्रान्ति, क्युवाली समाजवादी क्रान्ति, कोरियाली समाजवादी क्रान्तिलगायत विश्वका प्रसिद्ध मजदुर र कम्युनिस्ट आन्दोलन तथा मुक्ति आन्दोलनहरूबारे अध्ययन र अन्तरक्रिया गर्ने ।
– राष्ट्रिय दलको मान्यता प्राप्त गर्न प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा ३ प्रतिशत तथा प्रदेश दलको मान्यता प्राप्त गर्न प्रदेशसभाको समानुपातिक चुनावमा एक दशमलव पाँच प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रजातन्त्रविपरीतको कानुनी व्यवस्था खारेज गराउन सडक र संसद्मा सङ्घर्ष चालु राख्ने ।
– नेमकिपाविरूद्ध पञ्चायती राज्यस्तरको षड्यन्त्र ‘भक्तपुर काण्ड २०४५ भदौ ९’ को भत्र्सना एवम् निन्दा गर्ने ।

पार्टी गतिविधिहरु
समाचार