भ्रष्टाचारीलाई संरक्षण गर्ने पुँजीवादी व्यवस्थाविरुद्ध सङ्घर्ष गर्नु आवश्यक


भक्तपुर, ३ साउन । नेपाल मजदुर किसान पार्टी मध्यपुर नगर समितिको आयोजनामा मङ्गलबार कार्यकर्ता भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शासक दलहरूका कारण देश भ्रष्टाचारमा डुबेको बताउँदै भ्रष्टाचार नभए विकास अघि बढ्ने बताउनुभयो ।
उहाँले भ्रष्टहरूको सङ्गठित जालोविरुद्ध जनता उठ्दा सफल भएको घटना विश्वमा धेरै भएको बताउँदै भ्रष्टाचारीलाई संरक्षण गर्ने पुँजीवादी व्यवस्थाविरुद्ध जनता उठ्न आवश्यक रहेको औँल्याउनुभयो ।
उहाँले सहकारीको नाउँमा वित्तीय संस्थाहरूमा अर्बाैंको भ्रष्टाचार भइरहेको चर्चा गर्दै केन्द्रीय सदस्य प्रजापतिले ब्याजको लोभमा सर्वसाधारण फसेकाले सचेतना कार्यक्रम नियमितरूपमा चलाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले स्वाभिमानलाई बन्धक राखेर कुनै पनि स्वदेशी वा विदेशी सहयोग लिन नहुने बताउनुभयो ।
बालुवाटार जग्गा प्रकरणमा नक्कली मोही खडा गरी भ्रष्टाचार गर्ने भूपू प्रमहरूलाई मुद्दा नचलाउनुले भ्रष्टहरू कानुनभन्दा माथि रहेको भन्ने सन्देश गएको उहाँले बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले राजनीतिक चेतना भएको समाजमा भ्रष्टाचार कम हुने बताउनुभयो ।
साम्राज्यवादीहरूले देश कब्जा गर्न आईएनजीओमार्फत आर्थिक सहयोग गरी भ्रष्ट बनाउने र जनता लडाउने षड्यन्त्र गरिरहने औँल्याउँदै उहाँले समाजलाई भ्रष्टीकरण गर्ने कार्यविरुद्ध युवा पुस्ता अगाडि बढ्नुपर्ने बताउनुभयो ।
भेलामा मथिनपा वडा ८ का वडाध्यक्ष रमेश थापाश्रेष्ठले जनताको सेवाको लागि खोलिएको सहकारीमा भ्रष्टाचार हुनु विडम्बनाको विषय भएको बताउनुभयो ।
उहाँले समाजको लागि काम गर्ने कार्यकर्ताले कहिल्यै व्यक्तिगत लाभ नलिने बताउँदै नेमकिपाका कार्यकर्ताको बल नै नैतिकता, सदाचारिता र जनताको निःस्वार्थ सेवा गर्ने भावना भएको बताउनुभयो ।
नेमकिपा मध्यपुर नगर समितिका अध्यक्ष रमेश वैद्यको सभापतित्वमा भएको कार्यक्रममा किसान अगुवा सुन्दरराम था श्रेष्ठ, नेमकिपा मध्यपुर नगर समितिका उपाध्यक्ष वीरकृष्ण प्रजापति र सदस्य सुरेन्द्र था श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार