सामुदायिक स्कूल पनि राम्रो भन्ने सन्देश प्रवाह गर्न जरुरी


भक्तपुर, ३० असार । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरबाट विभिन्न जिल्लामा गई अध्यापनरत शिक्षकहरूको भेला गरियो ।
अनुभव आदानप्रदान गरिएको उक्त शिक्षक भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले शिक्षकहरूलाई जो जहाँ नियुक्ति भए पनि भक्तपुरको सद्भाव दूतको रूपमा काम गर्न सुझाव दिँदै सामुदायिक विद्यालयलाई कुनै पनि निजी विद्यालत्न्दा कम नहुने गरी काम गर्न सल्लाह दिनुभयो ।
शिक्षकहरूले चाहेमा सामुदायिक स्कूल पनि राम्रो भन्ने सन्देश समाजमा प्रवाह गर्न सकिन्छ भन्दै सांसद सुवालले समाजको निम्ति त्याग र तपस्या गर्न देश विदेशका महान् व्यक्तिहरूको जीवनी पढेर आफूलाई उत्प्रेरित गर्नुपर्ने बताउनुभयो ।
देशको सामाजिक, आर्थिक, राजनीतिक, भौगोलिक स्थिति बोध गरी कठिनभन्दा कठिन परिस्थितिसित जुझ्न गा¥हो मान्न नहुने धारणा राख्दै उहाँले भन्नुभयो, “मिहिनेत–परिश्रम गरेर व्यवहारबाट अरूको मन जित्ने प्रयास गर्नुपर्छ । पार्टी प्रकाशन आफूले पनि पढ्ने र अरूलाई पनि पढ्न लगाउनुपर्छ । शिक्षकको हस्तलेखन शुद्ध र राम्रो हुनुपर्छ । यो झर्को मान्ने पेसा नै होइन । हाम्रो राम्रो व्यवहारले राम्रा व्यक्तिलाई पनि शिक्षण पेसामा आकर्षित गर्नुपर्छ ।”
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले हरेक प्रतिकूल परिस्थिति चुनौती मात्र नभई अवसर पनि हो भन्दै देशका विभिन्न जिल्लामा पुगेर हामीले देशको भौगोलिक, सांस्कृतिक, आर्थिक शैक्षिक स्थिति बुझ्ने र देशलाई चिन्ने अवसर पाउनु पनि ठूलो कुरा हो भन्नुभयो ।
पछाडि परेको क्षेत्र र वर्गका जनताको सेवा गर्न पाउनुलाई अन्यथा नलिई शिक्षक साथीहरूले विद्यालयका शिक्षक र विद्यार्थीसित मात्र नभई अभिभावकसित पनि घनिष्ठ सम्बन्ध गाँस्न सक्नुपर्ने सल्लाह दिनुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय कोषाध्यक्ष चक्रबहादुर चाकतुले विद्यार्थी नै शिक्षकको सम्पत्ति भएकोले विद्यार्थीलाई राम्रो बनाउन शिक्षकले निरन्तर प्रयास गरिरहनुपर्ने बताउनुभयो ।
आयोजक समितिका जिल्लाध्यक्ष गणेशराम थुसाको सभापतित्वमा भएको उक्त भेलामा आदर्श आजाद माविका प्रअ श्रीकृष्ण किसी, शिक्षक राकेश सुकुपायोसहित काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, नुवाकोट, मकवानपुर, ललितपुरलगायतका जिल्लाहरूमा कार्यरत शिक्षकहरूले आ–आफ्नो अनुभव सुनाउनुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार