विश्वका विभिन्न कम्युनिस्ट आन्दोलन र नेताहरूको जीवनी अध्ययन गर्न जोड


काठमाडौँ, ३१ असार । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको ते¥हौँ राष्ट्रिय सम्मेलनपछिको तेस्रो पूर्ण बैठक असार २८, २९ र ३० गते काठमाडौँमा सम्पन्न भयो ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेता–कार्यकर्तामा समर्पणको भावना नहुनु, गहिराइमा सिद्धान्तको ज्ञान नहुनु तथा बलियो राजनीतिक सङ्गठनहरू नहुनाले नेपालमा कम्युनिस्ट आन्दोलन अगाडि बढ्न नसकेको बताउनुभयो ।
“कम्युनिस्ट आन्दोलनको सुरुवाती चरणहरूमा धेरै गल्तीहरू भएकाले सामन्तवादी र पुँजीवादी राज्यसत्ता धेरै सचेत हुँदा विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक स्थितिमा छ । कम्युनिस्ट कार्यकर्ताहरूले पेरिस कम्युनलगायत विश्वका विभिन्न कम्युनिस्ट आन्दोलन र नेताहरूको जीवनी मिहीनरूपमा अध्ययन गर्नुपर्छ,” अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
“कामदारवर्गसम्म पुगेर उनीहरूलाई शिक्षित बनाउन नसकेसम्म क्रान्ति अघि नबढ्ने हुनाले कार्यकर्ताहरूले त्यसतर्फ ध्यान दिनुपर्छ । सिद्धान्तलाई प्रयोग गर्न धेरै व्यवहारिक ज्ञान आवश्यक हुनेछ,” अध्यक्ष बिजुक्छेँले जोड दिनुभयो ।
राजनीतिक कार्यकर्ताका पछाडि गुप्तचरहरू सक्रिय हुने हुँदा सधैँ सम्भावित घटनाबारे सचेत र तयार रहनुपर्छ; कसैले इच्छा गर्दैमा क्रान्ति नहुने चर्चा गर्दै उहाँले सङ्गठन निर्माण र विस्तार गर्न भौगोलिक, सांस्कृतिक, आर्थिक स्थितिको राम्रो अध्ययन आवश्यक हुने बताउनुभयो ।
“विश्वमा संरा अमेरिका जति आक्रामक भएर आएको छ, त्यति नै अन्य देशहरू उसको विरुद्ध एकजुट भएर अगाडि बढेका छन् । अमेरिकी साम्राज्यवादविरोधी भावनाको वृद्धिसँगै समाजवादी क्रान्तिको लहर सुरु हुन्छ । आफ्नो ज्ञान, सीप, विवेक निःस्वार्थरूपमा क्रान्तिमा लगाउनुपर्छ,” उहाँले जोड दिनुभयो ।
नेमकिपाका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले जनवर्गीय सङ्गठनको काम पार्टीको लक्ष्य र उद्देश्यलाई अगाडि बढाउने हो, विद्यार्थी सङ्घका साथीहरूले पार्टी प्रकाशन अध्ययन गर्दै र गराउँदै सङ्गठन विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“हालसम्म सरकारमा गएका शासक पार्टीहरूले नेपाली जनताको भन्दा भारतीय एकाधिकार पुँजी र अमेरिकी साम्रज्यवादको मात्र सेवा गरे । शासक पार्टीहरूले गरेको भ्रष्टाचार, देशघात र शोषणको भण्डाफोर गर्दै जनतालाई सचेत पार्नुपर्छ । वैकल्पिक शक्ति भनी प्रचार गरिएका पार्टीहरू पनि सैद्धान्तिक र व्यवहारिकरूपमा फरक नरहेकोले जनतामाझ यो भ्रम चिर्नुपर्छ,” सांसद सुवालले भन्नुभयो ।
शासक पार्टीका नेताहरू राष्ट्रिय निर्वाचनमा मात्र होइन, पार्टीको आन्तरिक चुनाव जित्नसमेत विदेशीसँग पैसा माग्छन्; जित्नको निम्ति जे पनि गर्ने प्रवृत्ति गलत हो; चुनावमा आश्वासनलाई होइन विचारलाई प्राथमिकता दिनुपर्छ; शासक पार्टीले खराब ठेकेदार, अपराधी, भ्रष्टाचारीलाई सांसद बनाउनु नेपाली जनतालाई धोका दिनु हो, उहाँले भन्नुभयो ।
उहाँले अमेरिकी र पश्चिमी साम्राज्यवादीले युक्रेनलाई रूसविरुद्ध र थाइवानलाई चीनविरुद्ध प्रयोग गरिरहेका छन्; विश्वका साम्राज्यवादविरोधी जनताको एकताले साम्राज्यवादीहरू एक्लिँदै छन्; तिनीहरू आफ्नै कारण कमजोर हुँदै छन्; विद्यार्थीहरू अझ बढी सक्रिय हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेमकिपा स्थापनाकालदेखि कहिले एक्लै त कहिले संयुक्तरूपमा आन्दोलनहरूमा सहभागी भइरहेको बताउनुभयो ।
परिस्थितिअनुसार आन्दोलनका रूपहरू पनि फरक हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “सबै आन्दोलनहरू सफल हुन्छन् भन्ने छैन ।” उहाँले विगतका विभिन्न संयुक्त आन्दोलनहरूलाई धोखा दिएर शासक पार्टीहरूले अवसरवादी र संशोधनवादी चरित्र देखाए पनि नेमकिपाले आफ्नो विचार र सिद्धान्तअनुसार निरन्तर जनताको पक्षमा लडेको छ† सिद्धान्तमा एकपटक चुकेपछि चुक्दैचुक्दै अस्तित्व नै गुम्न सक्ने हुँदा नेमकिपाका कार्यकर्ताहरू सिद्धान्त र व्यवहारमा परिपक्व हुनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुरलाई शैक्षिक केन्द्रको रूपमा विकास गर्न खोजिरहँदा ख्वप विश्वविद्यालय नदिनु राजनीतिक पूर्वाग्रह हो, उहाँले प्रस्ट पानुभयो । उहाँले सरकारले शिक्षित र दक्ष कामदारको मूल्य थाहा पाउन नसक्दा बर्सेनि लाखौँ युवा विदेश जान बाध्य छन्, युवा र पुँजी विदेश पठाएर देशको विकास नहुने बताउनुभयो ।
सरकारले कानुनअनुसार भनपालाई अनुदान र बजेट नदिएर रोक्ने प्रयास गरेको छ । तर, भनपा जनताको साथ र सहयोगमा अगाडि बढिरहेको छ, उहाँले उल्लेख गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले नेपाल प्राकृतिकरूपमा धनी भए पनि उचित प्रयोग नहुँदा देश विकास हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीहरू खोज अनुसन्धानमा लाग्नुपर्छ । विश्वको परिवर्तनमा विद्यार्थीले महत्वपूर्ण भूमिका खेल्न सक्ने हुँदा विद्यार्थीहरूले आफ्नो पढाइ सँगसँगै राजनीतिकरूपमा पनि सचेत हुनुपर्छ ।”
“जनता राजनीतिकरूपमा सचेत नभएसम्म देशका स्रोतसाधनमाथि विदेशीको नियन्त्रण रहिरहन्छ । उत्पादनका मुख्य–मुख्य साधनहरू राष्ट्रियकरण नभएसम्म जनता गरिब रहिरहन्छन् । समाजवादको लागि सङ्घर्ष गर्नुपर्छ,” केन्द्रीय सदस्य काफ्लेले जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले साहित्य समाज परिवर्तनको मेरुदण्ड भएको हुँदा साहित्य जनताले बुझ्ने गरी जनताको पक्षमा हुनुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले अमेरिकी साम्राज्यवादले अकुत सम्पत्ति थुपार्न प्राकृतिक स्रोतले सम्पन्न देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वका जनतालाई गरिबीमा राख्ने र शोषण गर्ने हुँदा अमेरिकी साम्राज्यवाद हाम्रो मुख्य वर्गशत्रु हो । संरा अमेरिकाको आफ्नो देशको उत्पादन विश्व बजारमा पठाउने र विभिन्न माध्यमबाट साम्राज्य फैलाउने नीति रहेको हुँदा विश्वका न्यायप्रेमी जनता सङ्घर्षरत छन् ।”
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष नीरज लवजूले माक्र्सवाद पुँजीवादी उत्पादन सम्बन्धको विकल्पको खोजीको क्रममा प्रतिपादन भएको सिद्धान्त भएको बताउनुभयो । उहाँले राज्य रहेसम्म वर्गसङ्घर्ष रहिरहने हुँदा साम्यवादी व्यवस्थाको निम्ति सङ्घर्ष जरुरी रहेको बताउनुभयो ।
बैठकमा केन्द्रीय समितिको प्रतिवेदन संशोधनसहित पारित गरिएको थियो । केन्द्रीय सदस्यहरूले पनि आ–आफ्नो साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकले ‘भ्रष्टाचार र शैक्षिक अराजकता’ विरुद्ध विद्यार्थी अभियान चलाउने निर्णय गरेको छ । त्यस्तै बैठकले आगामी चार महिनाको लागि विविध कार्यक्रम तय गरेको छ ।

पार्टी गतिविधिहरु
समाचार