गर्न सकिने र गर्न हुने काम भोलिलाई नराखौँ


क्तपुर, असार ८ । नेपाल क्रान्तिकारी महिला सङ्घकी पूर्व कोषाध्यक्ष तथा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) का जीवनसाथी कामरेड शोभा प्रधानको स्मृतिसभा शुक्रबार सम्पन्न भयो ।


कार्यक्रममा नेमकिपाका अध्यक्ष बिजुक्छेँले शोभा प्रधानसम्बन्धी संस्मरणहरूको सँगालो ‘स्मृतिमा कामरेड शोभा’ नामक ग्रन्थको लोकार्पण गर्दै गर्न सकिने र गर्न हुने काम भोलिलाई नराखौँ भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले कामरेड शोभासँगका केही स्मृतिको स्मरण गर्नुभयो । जीवनमा बहुमत कामदार जनताको दुःखकष्टलाई हेर्दै जीवनमा सकेको गर्नुपर्ने उहाँले बताउनुभयो ।
समयक्रममा कामरेड शोभासँगका संस्मरणका पानाहरूबारे लेख्ने चर्चा गर्दै उहाँले भन्नुभयो, “हामी स्वस्थ भएकै बेला जनताको पक्षमा जति काम गर्न, लेख्न र बोल्न सकिन्छ सबै गर्नुपर्छ ।”
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले एक आदर्श शिक्षिका र अभिभावकको रूपमा कामरेड शोभाको व्यक्तित्वका विभिन्न पक्षबारे चर्चा गर्नुभयो । पाठेघरको क्यान्सर उपचार गराउँदैको स्थितिमा आफूसँगको अन्तिम भेटमा कामरेड शोभाले ‘सकेसम्म उपाय गर्ने त हो नि ¤’ भन्नुभएको सधैँ सम्झनामा आइरहने शिक्षक प्रजापतिले बताउनुभयो ।
शोभा प्रधानका देवर तथा शिक्षक योगेन्द्रमान बिजुक्छेँले प्रधानको धैर्यशील जीवनबारे प्रकाश पार्नुभयो । एक असल गृहिणीको रूपमा प्रधानले पारिवारिक विमतिलाई कहिल्यै लामो समय टिक्न नदिनुभएको उल्लेख गर्नुभयो ।
सार्वजनिकीकरण भएको पुस्तकले ‘शोभा भाउजू’ को व्यक्तित्वलाई अनेक कोणबाट केलाउन मद्दत गर्ने उहाँले बताउनुभयो ।
१६–१७ वर्ष शोभा प्रधानको सान्निध्यमा बिताउनुभएको स्रष्टा समाज नेपालकी सदस्य सुशीला कर्माचार्यले एक प्रेरणादायी व्यक्तित्वको रूपमा कामरेड शोभालाई सम्झिनुभयो ।
विशेषगरी आफ्नो शैक्षिक विकासमा कामरेड शोभाले आफूलाई सधैँ उत्साहित र उत्प्रेरित गरेको उहाँको भनाइ थियो । विद्यार्थीहरूले शोभा प्रधानलाई शिक्षिकाभन्दा पनि आमाको रूपमा लिने गरेको उहाँले बताउनुभयो ।
शोभा प्रधानकी बहिनी तथा नर्स चञ्चला प्रधानले दिदीले दोस्रोपल्ट क्यान्सरसँग लड्दालड्दै प्राण त्याग्नुभएको बताउनुभयो । उहाँको जीवनबाट शिक्षा लिँदै प्रत्येक महिलाले वर्षमा कम्तीमा एकचोटि स्वास्थ्य जाँच गराउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैँया सुवालले आफूलाई स्वास्थ्य समस्या परेपछि कामरेड शोभाले भक्तपुरका महिलाहरूबिच स्वास्थ्य चेतना जगाउन हरदम प्रयास गर्नुभएको स्मरण गर्नुभयो ।
सभाध्यक्षको मन्तव्य राख्दै नेपाल क्रान्तिकारी महिला सङ्घकी केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले भक्तपुर काण्डका क्रममा देखिएको शोभा प्रधानको व्यक्तित्वबारे प्रकाश पार्नुभयो ।
घरको चुलोचौकामा सीमित महिलालाई राजनीतिक हकअधिकारको निम्ति सङ्घर्ष गर्न सिकाउने कामरेड प्रधानको योगदान र व्यक्तित्वबारे प्रत्येक शिक्षक, कर्मचारी तथा विद्यार्थीले छलफल गर्नु नै उहाप्रतिको साँचो श्रद्धाञ्जली हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा आयोजक समितिका सदस्य सुलोचना ध्वाजूले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार