देश र जनताको पक्षमा सङ्घर्ष गर्ने मात्र देशभक्त पार्टी


भक्तपुर, २८ जेठ । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिको आयोजनामा आइतबार अगुवा कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपाका सचिव प्रेम सुवालले भन्नुभयो, “देश र जनताको पक्षमा आन्दोलन र सङ्घर्ष गर्ने पार्टी मात्र साँचो देशभक्त पार्टी हो । नेपालका ठूला भनाउँदा पार्टीहरूले देश र जनताको पक्षमा काम गरिरहेका छैनन् । नेमकिपाले देशघाती नागरिकता विधेयक प्रमाणीकरण, देशघाती एमसीसी सम्झौता, एसपीपी साझेदारी र सीमा मिचेको विरोधमा सङ्घर्ष गर्दै आइरहेको छ ।”
उहाँले भन्नुभयो, “हामीलाई व्यक्तिगत कुनै लोभ छैन† बोल्न डर पनि छैन । देशमा कमैया, कमलरी, हल्ली र गोठालोको समस्या जटिल छ । तर, उनीहरूबाट जितेर आएकाले समस्या समाधान गर्न एक शब्द बोलेको सुनिँदैन । यो दुःखको कुरा हो ।”
उहाँले बजेटमा विद्युतीय सामग्री र सर्वसाधारण जनताले उपभोग गर्ने वस्तुमा कर बढाएर धनीलाई कर कम गरेबाट यो पुँजीपतिवर्गको बजेट भनी प्रस्ट हुन्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्को सिफारिसमा नागरिकता विधेयक प्रमाणीकरण गर्नु बेठीक हो । प्रमाणीकरण गरेबाट सत्तापक्ष भारतको आदेशमा काम गर्छ भन्ने प्रस्ट छ । जन्मको आधारमा विदेशीलाई दिएको नागरिकता खारेज नगरी नागरिकता वितरण गर्नु गलत छ ।”
“नेमकिपाले नाटोको उक्साहटमा युक्रेन युद्ध भएको हुँदा नेपालले युक्रेनको पक्ष र रूसको विरोधमा सयुक्त राष्ट्र सङ्घमा दिएको मत फिर्ता गर्नु आवश्यक छ”, सचिव सुवालले भन्नुभयो ।
उहाँले संसद्मा तेस्रो दलको नेतृत्वमा वा सानो दलको नेतृत्वमा सरकार बनाउनु गलत छ † त्यस्तो सरकार कठपुतलीजस्तै चल्छ भन्नुभयो ।”
उहाँले भन्नुभयो, “रक्सी, बियर र घर–जग्गा खरिदको बिक्रीको करबाट होइन आफ्नै देशमा उत्पादन बढाएर, निर्यात बढाएर बजेट बनाउनु आवश्यक छ । स्रोत नखुलेको सम्पत्ति जफत नगरेमा नेपालमा आर्थिक सङ्कट आउने खतरा छ । तसर्थ, त्यस्तो सम्पत्ति राष्ट्रियकरण गर्नुपर्दछ ।”
नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले भन्नुभयो, “रूसमा लेनिनका नेता तथा कार्यकर्ताले धेरै अध्ययन गरी कामदार जनतालाई बुझाउन सकेकै कारण सन् १९१७ को अक्टोबर समाजवादी क्रान्ति सफल भएको हो । बोल्सेभिक पार्टीले पत्रिका, लेख, अपिल–पर्चामार्फत मजदुरवर्गलाई सचेत र सङ्गठित गर्न सकेको हो । अब नेपालमा समाजवादी क्रान्ति गर्न बोल्सेविकजस्तो क्रान्तिकारी कार्यकर्ताहरूको आवश्यकता छ ।”
उहाँले भन्नुभयो, “पुँजीवादी सञ्चार माध्यम धेरै सशक्तरूपमा अगाडि आइरहेको छ । अध्ययन नगर्ने र कार्यक्रममा सहभागी नबन्ने कार्यकर्तामा पुँजीवादी सोच भित्रिन्छ । हाम्रो एउटा प्रचार माध्यम पार्टी कार्यकर्ता हो । तसर्थ, सैद्धान्तिक अध्ययन गरी प्रचारमा लाग्न आवश्यक छ ।”
उहाँले अमेरिकी साम्राज्यवादले चीन र क्युवाविरूद्ध गलत प्रचार गरिरहेको छ भन्नुभयो । उहाँले वाग्मती प्रदेशसभामा नेमकिपाको तर्फबाट राजनीतिक धर्म निर्वाह गरिरहेको बताउनुभयो ।
एनबी दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा पुरूषोत्तम तमखुले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार