शासक पार्टीहरू भारतीय पैसाबाट निर्वाचन जित्न लागिपरेकोमा जनता सचेत हुन आवश्यक


भक्तपुर, ३१ जेठ । नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा नागरिकता विधेयक तथा समसामयिक राजनीति विषयमा छलफल कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले भन्नुभयो, “नेपाली नागरिकता विदेशीलाई दिनु हुँदैन । २०६३ साल यता सरजमिन गराई जन्मको आधारमा विदेशीलाई नेपाली नागरिकता दिइएको खारेज हुनु जरुरी छ ।”
उहाँले अगाडि भन्नुभयो, “कुनै पनि देशमा सरजमिन गराई नागरिकताको प्रमाणपत्र दिइँदैन । २०६३ सालमा नै जन्मको आधारमा नागरिकता दिने विषय आउँदा नेपाल मजदुर किसान पार्टीले आठ दलको बैठक र संसद्मा विरोध गरेको हो ।”
“तत्कालीन राष्ट्रपतिले अस्वीकार गरेको नागरिकता विधेयकमा नयाँ सांसद र नयाँ सभामुखको चुनाव भइसकेपछि नयाँ राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नु वैध हुँदैन । राष्ट्रपति पौडेलले प्रमको अनुरोधमा विधेयक प्रमाणीकरण गर्ने होइन, संसद्को अनुमतिमा मात्र प्रमाणीकरण गर्ने हो”, उहाँले स्पष्ट गर्नुभयो । ।
सचिव सुवालले भन्नुभयो, “नेपालको नागरिकता भारतसँगको खुला सीमासँग जोडिएको अहिले मोदी सरकारले नेपालको लुम्बिनी र कपिलवस्तु समेत जोडेर ‘अखण्ड भारत’ को नक्सा बनाएर पुष्टि भयो ।”
भारतका गृहमन्त्री अमित साहले नेपालमा हिन्दू समर्थक सरकार बनाउने घोषणा गर्नु र प्रधानमन्त्री पुष्पकमल दाहाल भारतमा गेरूवस्त्र लगाएर महाँकाल मन्दिर पुग्नु त्यसैको सिलसिला साबित भएको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “भाजपाले नेपाललाई हिन्दू राष्ट्र बनाउन शासक पार्टीहरूलाई पैसा पठाएको सार्वजनिक भयो । एउटा शासक पार्टीको महाधिवेशनको लागि भारतीय राष्ट्रपतिलाई फोन गरी पैसा मागेको पनि सार्वजनिक भयो । शासक पार्टीहरू निर्वाचन पनि भारतीय पैसाबाट जित्नेतर्फ लागिरहेका छन् । यसबारे नेपाली जनता सचेत हुनु आवश्यक छ ।”
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने काण्डसँ जोडिएका सबैसँग बयान लिएर अनुसन्धानपूर्ण बनाउनु जरूरी रहेको उहाँले औँल्याउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “शासक दलहरू बजेट समेत भागबन्डा गरी एकमत हुँदै छन् । नेपाल मजदुर किसान पार्टीले भ्रष्टाचारीहरूविरुद्ध प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको छ ।
नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष एवं वाग्मती प्रदेशसभा सदस्य सृजना सैँजूले नेपालको सिक्किमीकरण र फिजीकरणको खतराबारे उजिल्याउनुभयो ।
नागरिकता विधेयक र भारतीय विस्तारवाद र एकाधिकार पुँजीका कारण सिक्किम कसरी भारतमा गाभियो भन्ने चर्चा गर्दै उहाँले सिक्किमको कालो इतिहासबारे जानकारी दिनुभयो ।
उहाँले नागरिकतासँग सम्बन्धित फिजीको इतिहासबारे प्रस्ट पार्नुभयो ।

पार्टी गतिविधिहरु
समाचार