पाँगा र बलम्बुमा नागरिकता विधेयकको विरोध सभा


काठमाडौँ, २० जेठ । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा देशघाती नागरिकता विधेयक प्रमाणीकरणको विरोध र कपिलवस्तु भारतको नक्सामा गाभेको विरोधमा शनिबार कोणसभा भयो ।
पाँगा लाछीबाट सुरू भएको जुलुस नयाँ बजारस्थित पाँगा दोबाटोमा पुगी कोणसभामा परिणत भएको थियो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले देशघाती नागरिकता विधेयक प्रमाणीकरण गरी राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड भारतीय दलाल साबित भएको पुष्टि हुन्छ भन्नुभयो ।
उहाँले नागरिकता विधेयक प्रमाणीकरणसँगै गैरनेपालीले पनि वंशजको आधारमा नागरिकता लिने बाटो खोल्नु देशलाई सिक्किमीकरण गर्न खोज्नु भएकोले त्यस्ता पार्टीका नेता र सांसदहरूविरूद्ध सङ्घर्ष अगाडि बढाउनु आवश्यक भएको बताउनुभयो ।
भारत सरकारले नेपालको सीमा मिच्दै आएकोमा अब कपिलवस्तु र लुम्बिनीसमेत भारतको नक्सामा गाभेर नेपालको सार्वभौमिकतामाथि प्रत्यक्ष हस्तक्षेप गरेको भन्दै उहाँले तुरुन्त नक्सा खारेज गर्न माग गर्नुभयो ।
उहाँले भुटानी शरणार्थी प्रकरणमा नेपाली नागरिकको मानव तस्कर गर्ने दोषीलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले राष्ट्रपति, प्रधानमन्त्री लेन्डुप दोेर्जे साबित भएको बताउँदै संसद् बैठकमा देशभक्त सांसदले प्रमाणीकरण रोक्न सङ्घर्ष गर्ने बताउनुभयो ।
उहाँले सीमा अतिक्रमणको विरोध नगरे भोलि देश रहन्छ कि रहँदैन भन्नुभयो ।
कार्यक्रममा नेमकिपा कीर्तिपुरका वाशमान महर्जन, हरिकुमार महर्जन र राजेश महर्जनले पनि बोल्नुभएको थियो ।
त्यसैगरी नेमकिपा चन्द्रागिरी नगर समितिको आयोजनामा विरोध जुलुस तथा सभा शुक्रबार बलम्बुमा भयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्यहरू नारायण महर्जन, राजवीर डंगोल र नेमकिपा चन्द्रागिरी नगर समितिका किरण सिंहले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार