भक्तपुर, २८ माघ । नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा चाँगुनारायण नगरपालिका वडा नं. ५ मिलनटोलमा बुधबार पार्टी कार्यकर्ता भेला भयो ।
भेलामा पार्टीका सचिव प्रेम सुवालले नेपाल मजदुर किसान पार्टी आदर्श समाज निर्माण गर्ने उद्देश्यसहित स्थापना भएको उल्लेख गर्दै आदर्श समाजमा जनताका लागि शिक्षा–स्वास्थ्य निःशुल्क, देशभित्र रोजगारीको बन्दोबस्त र सामाजिक न्याय एवम् मानिसको सांस्कृतिक स्तर उँचो हुन्छ भन्नुभयो ।
नेमकिपाको बहुमत प्राप्त भक्तपुर नगरपालिकाले देश र जनताको सेवा गर्न तथा नयाँ पुस्तालाई उच्च शिक्षाको अवसर प्रदान गर्न ख्वप कलेजहरू स्थापना गरेको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “नेमकिपा पुँजीवादी सरकारको लुछाचुँडीमा नलाग्ने र प्रखर प्रतिपक्षीको भूमिका निर्वाह गर्ने देश जनताको निःस्वार्थ सेवा गर्ने पार्टी हो । नेमकिपाले एक प्रकाशस्तम्भ भएर पुँजीवादी पार्टीहरूलाई खबरदारी गर्दै आएको छ† गरिरहनेछ ।”
“देशको बजेट शासक दलहरूको बपौती होइन । हामी संसद्मा दृढ भएर बजेट वितरणमा पक्षपात गर्ने शासक दलहरूलाई उदाङ्ग्याउने छौँ”, उहाँले भन्नुभयो ।
सचिव सुवालले थप्नुुभयो, “भनिन्छ, चिन्तनशील र प्रतिबद्ध नागरिकहरूको सानो समूहले संसार फेर्न सक्छ । हामी नेमकिपाका कार्यकर्ता र समर्थकहरू मिलेर देशलाई बाटो देखाइरहेका छौँ, हाम्रो आन्दोलन चालू रहनेछ ।”
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजूले संसद्बाट राष्ट्रघाती विधेयक र नीति पारित हुनबाट रोक्न बढीभन्दा बढी नेमकिपाका प्रतिनिधिहरू ससद्मा पु¥याउनु जरूरी छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा चानपा वडा नं. ५ एकाइ समितिका अध्यक्ष रत्नबहादुर ह्यौंमिखालगायतले बोल्नुभएको थियो ।