भक्तपुर, २७ माघ । नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवस छालिङको गुरी टोलमा मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले नेपाल मजदुर किसान पार्टी स्थापनाको आधार किसान आन्दोलन, देशको सार्वभौमिकता रक्षा, विस्तारवाद र साम्राज्यवादको विरोधमा भएको आन्दोलन हो भन्नुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टीको घोषणापत्रअनुसार निर्वाचित भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूले ख्वप कलेजहरू सञ्चालन गरी देशभरिका नयाँ पुस्तालाई इन्जिनियरिङ, व्यवस्थापन, मानविकी, विज्ञानलगायत विषयमा उच्च शिक्षा अध्ययन गराउँदै छन्; शासक दलहरूले ख्वप विश्वविद्यालयको विधेयक पारित नगरेको हुँदा जनताका छोराछोरीहरूले चिकित्सा शिक्षा (डाक्टर) पढाउने काममा विलम्ब भइरहेको छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारमा गएका दलहरू भागबन्डा र पक्षपातमा लागेको, देश र जनताको समस्या समयमा समाधान नगरेको, सम्भावित विध्वंशको पूर्वानुमान गर्न नसकेको हुँदा गत भदौ २३ र २४ गतेको दुर्घटना भएको सार्वजनिक भइसकेको छ ।”
उहाँले भन्नुभयो, “शासक दलका लाखौँ कार्यकर्ता र कर्मचारीहरूले देश र जनताको समस्या समयमै समाधान गर्न सकेनन् र देश आगजनीमा प¥यो ।”
“नालापानीको लडाइँमा अङ्ग्रेज उपनिवेशवादीहरूले नेपालीसँग मित लगाएर नेपालीलाई आउने खानेपानीको मुहान थुनेर लडाइँ आफ्नो पक्षमा पारेका थिए । नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता, समर्थक र जनतालाई फुटाउन प्रतिक्रियावादीहरूले अनेक छलछाम गर्नेबारे सबै सचेत हुनु जरुरी छ ।”, उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकी साम्राज्यवादले भेनेजुयलाको तेल, ग्यास र बहुमूल्य खनिज कब्जा गर्न त्यहाँका राष्ट्रपति माडुरो दम्पत्तिलाई कब्जा गरी अपहरण गरेको हो । नेमकिपाले संसारमा भइरहेको साम्राज्यवादी हस्तक्षेपको विरोध एवम् भत्र्सना गर्दै आएको छ ।”
कार्यक्रममा नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजुले एमसीसी सम्झौता खारेज गर्न र नागरिकता विधेयक पारित नगराउन नेमकिपाले सदन र सडकमा आवाज बुलन्द गरेको चर्चा गर्दै देश र जनताको हितमा निरन्तर काम गरिरहेको बताउनुभयो ।