भक्तपुर, २३ माघ । “जनताको सेवा गर्ने दुःखको कुरा होइन, गौरवको विषय हो । स्वार्थरहित सेवा गर्दा डराउनुपर्दैैन । नेपाल मजदुर किसान पार्टी निःस्वार्थपूर्वक देश र जनताको सेवा गरी अगाडि बढ्छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ
(रोहित) ले नेमकिपाको स्थापना दिवसको अवसरमा नेपाल कर्मचारी समाजको आयोजनामा ‘आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास’ पुस्तकबारे शुक्रबार भएको अन्तरक्रिया कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
आत्मनिर्भरतालाई ध्यानमा राखी काम गर्न सकेमा नेपाल आत्मनिर्भर हुन सम्भव भएको स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “आत्मनिर्भर हुन हाम्रो सीप र स्रोतलाई हामीले नै उपयोग गर्ने नीति लिनुपर्छ । हामीले जनतालाई दुःख हुने काम कहिल्यै गर्नुहुन्न ।”
“नेमकिपाले लेनिनवादी नीतिअनुसार पञ्चायतकालदेखि निर्वाचनलाई जनताको पक्षमा उपयोग गर्दै आएको छ । ‘उग्रवादी विचार केटाकेटीको खेल’ भनी लेनिनले उदाङ्ग्याउनुभएको छ”, उहाँले स्पष्ट पार्नुभयो ।
पार्टी सङ्गठन विस्तार गर्न सकेमात्र जनताबिच जान सकिने भएकोले सङ्गठन विस्तारमा कार्यकर्ता लाग्नु जरूरी भएको अध्यक्ष बिजुक्छेँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “पार्टीका अग्रज कार्यकर्ताहरूको योगदान र निःस्वार्थपूर्वक जनताको सेवा गर्ने शिक्षाकै कारण भनपाले भ्रष्टाचाररहित विकास निर्माण गर्न सकेको हो जुन अरू स्थानीय तहको लागि उत्सुकताको विषय भइरहेको छ ।”
“जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गर्न नसके क्रान्ति भए पनि असफलतामा टुङ्गिने भएकोले जनताको राजनीतिक र सांस्कृतिक स्तर उच्च बनाउन कार्यकर्ताहरू जनताबिच जानुपर्छ”, अध्यक्ष बिजुक्छेँले जोड दिनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “पहिलो विश्व युद्धपछि संसारमा रूसी समाजवादी सभ्यताको विकास भयो भन्ने दोस्रो विश्व युद्धपछि चीन, क्युवा, प्रजग कोरियालगायत पूर्वी युरोपमा समाजवादी लहर नै स्थापित भयो । त्यसैले साम्राज्यवादको विरुद्धमा लडाइँ गर्न डराउनुहुन्न ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं प्राध्यापक समाज नेपालका केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले ‘आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास’ पुस्तक सरल भएर पनि गम्भीर विषय समावेश रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पञ्चायत कालमै प्रकाशित उक्त पुस्तक शासकहरूले बेलैमा अध्ययन गरी शिक्षा लिएको भए देश आजको स्थितिमा पुग्ने थिएन ।”
नेपालको अर्थतन्त्र कृषिमा आधारित भएकोले भूमि समस्या समाधान गर्नु जरूरी भएको धारणा राख्दै केन्द्रीय सदस्य गोसाईले कृषिलाई उद्योगसँग जोड्न नसकेकै कारण देशको अर्थतन्त्र कमजोर भएको बताउनुभयो ।
वैचारिक स्पष्टताबिना अगाडि बढ्न नसक्ने स्पष्ट पार्दै उहाँले ‘विचार र सिद्धान्त चाहिँदैन’ भन्ने गलत भाष्य प्रचार गरी जनतालाई धुलमुलमा राख्न खोज्नेप्रति कार्यकर्ताहरू सचेत हुनु जरूरी छ भन्नुभयो ।
हरेक कुरा अर्थतन्त्रले निर्धारण गर्ने भएकोले उत्पादनका मुख्य मुख्य साधन र स्रोत राज्यको स्वामित्वमा हुनुपर्ने र समाजवादी विचारधाराले मात्र नेपालको दिगो विकास सम्भव भएको केन्द्रीय सदस्य गोसाईले बताउनुभयो ।
नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले पठन संस्कृतिलाई विकास गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
कर्मचारी समाजका सदस्यहरू जनताको असल सेवकको रूपमा पहिचान बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
शासक पार्टीहरूको गलत अर्थनीतिकै कारण कृषिप्रधान देश खाद्यान्न आयात गर्नुपर्ने स्थितिमा पुगेको केन्द्रीय अध्यक्ष लासिवाले बताउनुभयो ।
अर्थशास्त्र समाजका केन्द्रीय अध्यक्ष मुरज दिदियाले नेपालको लागि वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोतमध्ये पर्यटन क्षेत्र प्रमुख भएकोले पर्यटन व्यवसायलाई प्राथमिकता राखी नीति बनाउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा दिव्यलक्ष्मी बज्राचार्य, प्रज्ज्वल खत्री, विकास प्रजापति, विनोदबहादुर शाही र रामकृष्ण प्रजापतिले पुस्तकबारे आ–आफ्नो अध्ययन सार राख्नुभएको थियो ।
कार्यक्रममा कर्मचारी समाजका केन्द्रीय सचिव शिवराम धुख्वाले पनि बोल्नुभएको थियो ।