भक्तपुर, २५ माघ । नेपाल मजदुर किसान पार्टी, चाँगुनारायण नगर समितिको आयोजनामा नेमकिपाको ५२ औँ स्थापना दिवसको अवसरमा जनताबिच भेटघाट कार्यक्रम दुलाल गाउँमा सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका सचिव प्रेम सुवालले वैज्ञानिक समाजवादमा उत्पादनका मुख्य मुख्य साधनहरू सामाजिकीकरण हुने, व्यक्तित्व विकासमा समान अवसर पाउने, योग्यताअनुसारको काम, कामअनुसारको ज्याला पाउने, शिक्षा र स्वास्थ्य निःशुल्क हुने, ज्येष्ठ नागरिकहरूको लागि आदरनिकेतनको व्यवस्था हुने भएकोले वैज्ञानिक समाजवादको लागि पार्टीले सङ्घर्ष गर्दै आइरहेको बताउनुभयो ।
उहाँले पार्टीले स्थापनाकालदेखि नै किसानहरूको हितमा मोहियानी हक सुरक्षा आन्दोलन, भर्पाई आन्दोलन, बालि काट्ने आन्दोलन, भ्रष्टाचार विरोधी आन्दोलन गर्दै आइरहेको बताउनुभयो ।
सचिव सुवालले शासक पार्टीहरूले देशको नदीनाला विदेशीलाई बेच्दै जानुका साथै सरकारी उद्योगहरू निजीकरण गराएको बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजुले नेमकिपाको स्थापना कामदारवर्गका जनतालाई शासकवर्गमा पु¥याउने उद्देश्यले २०३१ माघ १० गते भएको बताउनुभयो ।
उहाँले माध्यमिक शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गराउन र स्वास्थ्य सेवा निःशुल्क गराउन प्रतिनिधिसभाको निर्वाचनमा नेमकिपाका उम्मेदवारहरूलाई विजयी गराउन अत्यावश्यक भएको बताउनुभयो ।
त्यस्तै पार्टी स्थापना दिवसकै अवसरमा पार्टीका सचिव सुवालले चानपा–७ को तपादम्फोका जनतासँग आइतबार भेटघाट गर्नुभयो ।
कार्यक्रममा सचिव सुवालले कामदार जनताको भविष्य सुनिश्चित गर्न समाजवादी व्यवस्था स्थापना गर्नु अपरिहार्य भएको चर्चा गर्दैै समाजवादी व्यवस्था अनुकूल हुने ऐन–कानुन निर्माण गर्न नेमकिपाका उम्मेदवारहरूलाई निर्वाचित गर्नु जरूरी भएको बताउनुभयो ।
नेमकिपा भजिसका उपाध्यक्ष न्हुछेभक्त फोजूले कामदारवर्गलाई राजनीतिकरूपमा सचेत र सङ्गठित गर्ने कार्यमा नेमकिपा लागिरहेको चर्चा गर्दै नेमकिपाले निर्वाचनलाई जनताको चेतनास्तर विकास दबुको रूपमा उपयोग गर्दै आएको बताउनुभयो ।
भेटमा नेमकिपा चानपा ७ का अध्यक्ष रामबहादुर श्रेष्ठ, अर्जुन काफ्ले र किसान सङ्घका कृष्ण नखेतुरूले फागुन २१ गते हुने निर्वाचनमा नेमकिपाका उम्मेदवारहरूलाई विजयी गराउन मादल चिन्ह्मा मतदान गर्न अनुरोध गर्नुभयो ।