काठमाडौँ, ३० वैशाख । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वैशाख ३० गतेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा देश र जनताको हितसँग सम्बन्धित केही महत्वपूर्ण विषयमा संसद् र सरकारको ध्यानाकर्षण गराउन राख्नुभएको मन्तव्यको सार– सं.
सोमबार २५६९ औँ बुद्ध जयन्ती थियो । लुम्बिनीको राजदरबारमा जन्मेका बुद्धले मानव समाजको विकासको सिलसिला अध्ययन गर्नुभयो । तत्पश्चात् उहाँ यो निष्कर्षमा पुग्नुभयो कि दुःख छ, दुःख अन्त्य हुन्छ, दुःख अन्त्य हुने कारण पनि छ । मानिस जङ्गली युगबाट बाहिर आएर पशुपालन र कृषिमा लागेको ७ हजार वर्ष भयो । व्यक्तिगत सम्पत्तिको सुरुआतसँगै मानव समाज शोषक र शोषितवर्गमा विभाजन भयो । बुद्धले यो वर्गीय समाजलाई नै दुःख ठान्नुभएको हो । दासले दासमालिकविरुद्ध, भूदासले सामन्तवर्गविरुद्ध र पुँजीपतिवर्गले राजा महाराजाविरुद्ध सङ्घर्ष गरे । अहिले कतिपय देशमा किसान र मजदुरहरू सामन्त र पुँजीपति वर्गविरुद्ध लड्दै छन् ।
संसारका ठाउँ ठाउँमा सामन्त र पुँजीपतिवर्गको अन्त्य भयो भने मजदुरवर्गको हित हुने समाजवादी सरकार पनि गठन भयो । दुःखको अन्त्य हुने व्यवस्था समाजवादी व्यवस्था हो । समाजमा शोषण कायम रहेसम्म वर्गसङ्घर्ष भइरहन्छ । मानिस सचेत हुँदै आएपछि वर्गीय समाज एउटा सुसंस्कृत समाजमा परिणत हुन्छ । बुद्धका अनुसार जनता सचेत भएर उठ्नु नै दुःखको अन्त्यको कारण हो ।
बौद्ध दर्शन मानव जातिको हित हेर्ने विश्व दृष्टिकोण हो । बुद्धलाई ‘एसियाको ज्योति’मा सीमित गर्नु हुन्न । उहाँ‘विश्वको ज्योति’ हुनुहुन्छ । सरकारमा पुगेकाहरू शान्ति, सहिष्णुता र सद्भावको प्रणेता बुद्ध भएको उल्लेख गरी वक्तव्य दिनुहुन्छ, तर बौद्ध दर्शनलाई विद्यालय र विश्वविद्यालयको पाठ्यपुस्तकमा राखेर नयाँ पुस्तालाई सुसंस्कृत बनाउनेतर्फ लागेका छैनन् ।
विश्व सम्पदा सूचीमा समावेश बुद्धको जन्मथलो लुम्बिनी, काठमाडौंको स्वयम्भु महाचैत्य र बौद्ध महाचैत्यको यथोचित संरक्षण गरिएको छैन । यी क्षेत्रहरूको संरक्षणको नाममा भ्रष्टाचार यथावत भएको जनगुनासो बढ्दो छ । बुद्ध भारतमा जन्मिएको भनी झूटा प्रचार भएका देशका सरकारहरूलाई बुद्ध नेपालमा जन्मनुभएको यथार्थ नेपाल सरकारले बताउनु जरुरी छ ।
सरकारमा गएकाहरूले बौद्ध दर्शनलाई जीवनपद्धति बनाएको भए ललिता निवास, गिरीबन्धु, पतञ्जली, बाँसबारीको जग्गा हिनामिनालगायतका काण्ड हुने थिएनन् । वाइडबडी खरीद, पोखरा र भैरहवा विमानस्थल निर्माणमा अर्बौँ रुपैयाँका भ्रष्टाचार हुने थिएन । बिर्ता उन्मूलन ऐन, २०१६ र भूमिसम्बन्धी ऐन, २०२१ सामन्तवर्गको हितमा कार्यान्वयन हुने थिएन । जोताहा, कमैया, कमलरीले जमिन पाउने थिए ।
प्यालेस्टिनमा बमबारीसहित भूमि कब्जा र नरसंहार, भारत – पाकिस्तान युद्ध, युक्रेनमा रुसविरुद्ध युद्धलगायत समाजको असमानता र हिंसा हुनुको कारण तत्तत् आक्रमणकारी नेताहरूले बौद्ध दर्शनअनुसार काम नगर्नुको परिणाम हो । यतिबेला बौद्ध दर्शनबाट शान्ति कायम हुने यथार्थ नेपाल सरकारले अन्तर्राष्ट्रिय दबुमा स्पष्टसँग राख्न विलम्ब गर्नु् हुँदैन ।