सुनसरी, २८ वैशाख । साना दलले गल्ती गरे केही क्षेत्रमा मात्र समस्या हुने तर देशका शासक दल भनाउँदा ठुला पार्टीले गल्ती गरे देशले ठुलै क्षति व्यहोर्नुपर्ने हुँदा शासक दलहरू सतर्क हुनुपर्ने विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले आइतबार धरानमा आयोजित अन्तरक्रिया कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
उहाँले चुनावको बेला शासक दलहरूले घोषणापत्र भन्दा पनि विभिन्न लोभलालच देखाएर निर्वाचन जितेको उल्लेख गर्दै देशमा भ्रष्टाचार बढ्नुका कारण ठुला पार्टीहरूका नेताहरू रहेको आरोप लगाउनुभयो ।
उहाँले प्रजातान्त्रिक समाजवादको वकालत गर्ने नेपाली काङ्ग्रेसले आफ्नो पार्टी सिद्धान्तअनुसार काम नगरेको र एमाले पनि सोही बाटोमा लागेको हुनाले नेमकिपाले त्यसको विरोधमा जनतालाई सचेत पार्न संसद्मा प्रखर प्रतिपक्षको भूमिका निभाउँदै आएको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले सानो उमेरदेखि देश र विदेशको विषयमा विद्यालयमै जानकारी दिनुपर्ने आवश्यकता औँल्याउँदै राजनीतिक ज्ञान नदिए नयाँ पुस्ता तयार नहुने बताउनुभयो ।
उहाँले भारतको गुप्तचर विभाग ‘रअ’ को मुख्य मान्छे नै अमेरिकी गुप्तचर विभाग ‘सीआईए’ को मान्छे रहेको बताउँदै भारतले विगतमा चीनविरूद्धको लडाइँमा उस्काउने काम गरिरहेको उल्लेख गर्नुभयो ।
नेमकिपा कोसी प्रदेशका संयोजक एवम् भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले निर्वाचनमा व्यक्त भएको पार्टीको घोषणापत्रअनुसार भक्तपुर नगरपालिकामा काम भइरहेको बताउनुभयो ।
उहाँले पार्टी आफैमा विद्यालय भएकोले विविध विषयमा प्रशिक्षण, अन्तरक्रिया र छलफल कार्यक्रम जनताको बिचमा गर्दै आएको बताउनुभयो ।
पार्टी केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले भक्तपुर नगरपालिकालाई नेमकिपाले टेस्टट्युवको रूपमा उपयोग गर्दै समाजवादी व्यवस्थाको निम्ति अघि बढिरहेको बताउनुभयो ।
उहाँले देश आर्थिक रूपमा आत्मनिर्भर नभएसम्म पुँजीवादी देशले उपनिवेश सरह नै व्यवहार गर्ने हुँदा राष्ट्रिय उत्पादन वृद्धिमा जोड दिनुपर्ने औँल्याउनुभयो ।
पुँजीवादी देशले सय वर्षमा गर्न नसकेको आर्थिक विकास समाजवादी देशले बीस–तीस वर्षमै गरेको उदाहरण दिँदै अमेरिकाले मिश्रित अर्थ व्यवस्था ल्याएर संसारमा आफ्नो प्रभुत्व कायमै राख्न खोजेको बताउनुभयो ।
कार्यक्रममा नेवाः एकता समाजका महेश श्रेष्ठ, पत्रकार राजेश (विद्रोही), नेवा देया दबुका मनोज शाक्यले ‘समय र विचार’, ‘हिमाली महाभूल’ पुस्तकको बारेमा बोल्नुभयो भने सुनिल शाक्यले स्वागत एवं विनोद श्रेष्ठले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभयो ।