भक्तपुर, २९ चैत । सार्वजनिक माध्यमिक विद्यालय संयुक्त परीक्षा समितिले एक विशेष समारोहबिच शुक्रबार शिक्षक दिवस तथा सेवा निवृत्त शिक्षक सम्मान कार्यक्रम ग¥यो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले शिक्षण पेसाबाट अवकाश भए पनि देश र जनताको सेवामा लाग्नुपर्ने बताउँदै बुद्धिजीवीहरू अज्ञानी हुने भनाइको तात्पर्य पढेलेखेकाहरू पनि स्वार्थी हुन्छन् भन्ने हो भनी प्रस्ट पार्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “सञ्चारमाध्यममा दैनिकजस्तो भ्रष्टाचारका समाचार प्रकाशित भइरहेको छ । शिक्षण पेसामा लागेका शिक्षकहरू आमूल परिवर्तनमा लाग्नु आवश्यक छ ।”
उहाँले शिक्षकहरूले पुँजीवादको नोक्सानी र समाजवादको फाइदाबारे विद्यार्थी र सर्वसाधारण जनतालाई बताउनुपर्ने आवश्यकता औँल्याउँदै शिक्षकहरूले छलफल गरी काम गरे गल्ती कम हुनेछ भन्नुभयो ।
नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले राजनीतिक दल दर्शन र वर्ग आधारमा स्थापना र सञ्चालन भएको हुन्छ; निर्वाचनमा सिद्धान्तहीन गठबन्धन र सरकारमा अनैतिक गठबन्धन गर्नु शरमको विषय हो; मानिससँग लाजशरम र नैतिकता हुनु आवश्यक छ र सरकारमा गएका नेताहरूमा यो नैतिक खडेरी भएको छ भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “निर्वाचनमा नेका–माओवादीको गठबन्धन, एमाले–राप्रपा गठबन्धन र सरकारमा पनि यस्तै अनैतिक गठबन्धन कसरी लाजको विषय भएन ? शिक्षकहरू यो विषयमा सचेत हुनु जरुरी छ ।”
उहाँले शिक्षकहरूले नयाँ पुस्तालाई मदिरा र धूमपानबाट टाढा राख्नुपर्ने आवश्यकता औँल्याउँदै स्वास्थ्य मन्त्रालयले आउने साउनदेखि चुरोट, खैनी, गुट्खा, बिडीलगायत सुर्तीजन्य पदार्थमा अगाडि र पछाडिको शत प्रतिशत भागमा घातक रङ्गीन चित्र अनिवार्य लेख्नुपर्ने कानुनी व्यवस्था गरेको बताउनुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई आफ्नो कानुनी व्यवस्था पुनरावलोकन गर्न आग्रह गरेको उल्लेख गर्दै सांसद सुवालले सुर्तीजन्य वस्तुले मुख तथा घाँटीको क्यान्सर हुने अनुसन्धानबाट पुष्टि भएको बताउनुभयो ।
“नेपाल मजदुर किसान पार्टीले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्कसहित उत्पादन श्रमसँग जोडिएको शिक्षा व्यवस्थाको लागि आवाज उठाउँदै आएको छ । यस्तो व्यवस्था भएको भए विद्यालयका शिक्षकहरू सङ्घीय राजधानीमा आएर आन्दोलन गर्नुपर्ने थिएनन्,” उहाँले भन्नुभयो ।
‘नयाँ नेपाल’ को अर्थ एउटा पालिकालाई एउटा वडा बनाउने वा पुछारको वडालाई वडा नं. १ बनाउने होइन भन्दै उहाँले शिक्षा र स्वास्थ्य निःशुल्क, स्वदेशमा रोजगारी, सम्पत्तिको सीमाङ्कन, विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था भएमात्र ‘नयाँ नेपाल’ बनाउन मद्दत पुग्नेछ भन्नुभयो ।
सांसद सुवालले शिक्षकले हरेक कक्षामा नयाँ नयाँ विषय पढाउनु आवश्यक छ । यसरी पढाउनेमा प्राध्यापक दयानन्द वज्राचार्यको नाम पनि सूचीमा समावेश छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिकाले ख्वप कलेजहरू सञ्चालन गरी देशभरिका ४४ हजार विद्यार्थीलाई उच्च शिक्षाको ढोका खोल्यो । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाका ३०८, सूर्यविनायक नगरपालिकाका ४३६, मध्यपुर थिमि नगरपालिकाका ५४९ र भक्तपुर नगरपालिकाका १५२९ विद्यार्थीले इन्जिनियरिङ शिक्षा प्राप्त गरे । देशभरिका ९ हजारभन्दा बढीले इन्जिनियर पढे । ललितपुरका २९३ र काठमाडौँ जिल्लाका ७३९ जनाले इन्जिनियर पढे भने बाँकी जिल्लाका झन्डै ५ हजार विद्यार्थीले इन्जिनियर पढे । २० वर्ष यता ख्वप बहुप्राविधिक अध्ययन संस्थानबाट ८०० जनाले नर्सिङ र केही सयले ओभरसियर अध्यापन गरे । ख्वप अस्पतालमा दुई लाख ५० हजार बिरामीको सेवा पुग्यो । उच्च शिक्षाको लागि शैक्षिक ऋण १४ करोड बक्यौता छ ।”
“सरकारले स्वास्थ्य बीमाको रकम झन्डै १७ अर्ब रूपैयाँ अस्पतालहरूलाई भुक्तानी गरेको छैन भने ख्वप अस्पताललाई २५/२६ करोड रूपैयाँ भुक्तानी गरेको छैन । स्वास्थ्य बीमाको रकम अस्पताललाई नपठाउनु गरिब बिरामीलाई मार्ने सरकारको नियत किन होइन ?” उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “विश्वको आधा जनसङ्ख्या ३–३ अर्बको बजेट शिक्षा र स्वास्थ्य सेवाभन्दा ऋणको ब्याज तिर्न खर्चिनुपर्ने अवस्था छ । नेपालको ऋण २७ खर्ब पुग्यो भने ऋण तिर्न ऋण लिनुपर्ने अवस्था छ । एक सय वर्ष यता स्वतन्त्र भएका विश्वका जनता पुनः कङ्गाल हुँदै छन् । विकासको नाममा ती देशले लिएको ऋण नवउपनिवेश बन्दै छ । सरकारले नेपाली युवालाई विदेश पठाएको हुँदा दाल, चामल, तरकारी, फलफूलसमेत भारतबाट ल्याउँदै छ । एक महिनामा नेपालमा १ खर्ब ५१ अर्ब ऋण भित्रिएको सार्वजनिक भयो । सम्बन्धित देशले नेपाली श्रम प्रयोग गरी सयौँ खर्ब कुम्ल्याए ।”
“नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्ति भइरहेको छैन, त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति भइरहेको छैन । सबैतिर अराजकता छ, कर्मचारीको अवकाशपछि कुनै निजी कम्पनीमा १–२ वर्ष लाग्न नपाउने निजामती कर्मचारी सरकारी व्यवस्था प्रभावकारी हुने सङ्केत छैन । २०४६ सालपछि नेका, एमाले र माओवादीको अन्तरिम सरकारले ठुला भ्रष्टाचारीलाई मृत्युदण्डको सजायसमेत हुने व्यवस्था हटाउँदा अराजकता बढेको हो,” सांसद सुवालले भन्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप विश्वविद्यालयको विधेयक पारित नहुँदा गरिब विद्यार्थीहरूलाई मर्का परिरहेको छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले विभिन्न बाधा अवरोधलाई सामूहिकरूपमा सामना गर्न सेवा निवृत्त शिक्षक समाज तत्पर रहेको उल्लेख गर्दै प्रमजस्तो व्यक्तिले शिक्षकसम्बन्धी गैरजिम्मेवार अभिव्यक्ति दिएर शिक्षकहरूको अपमान गरेको बताउनुभयो ।
सङ्घीय शिक्षा ऐनको नाउँमा पञ्चायती शिक्षाभन्दा प्रतिगामी शिक्षा नहोस् भनी खबरदारी गर्दै उहाँले विकेन्द्रीकरण लागु गरिएको भए सङ्घीयता नै आवश्यक हुने थिएन भन्नुभयो ।
जनप्रतिनिधिहरूको योग्यतालाई शैक्षिक योग्यताले मात्र मापन गर्नु गलत हुने विचार व्यक्त गर्दै उहाँले स्थानीय पालिकालाई शिक्षाको अधिकार दिनुपर्छ† सङ्घीय गणतन्त्र मान्ने हो भने जिल्ला समन्वय एकाइ खारेज गर्नुपर्छ भन्नुभयो ।
शिक्षामा नवउदारवादी प्रभावका कारण विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिई चलेका निजी विद्यालयमा विद्यार्थी खचाखच र सामुदायिक विद्यालयमा विद्यार्थी अभाव भएको उल्लेख गर्दै उहाँले शिक्षामा निजीकरण र व्यापारीकरण हुनु नेपालको दुर्भाग्य हो भन्नुभयो ।
सार्वजनिक मावि संयुक्त परीक्षा समितिका अध्यक्ष रोशनराज तुईतुईको सभापतित्वमा भएको सो कार्यक्रममा वागीश्वरी माविका अवकाश प्राप्त कृष्णप्रसाद धन्छा, देवी माविका अवकाश प्राप्त राजाराम छुकांले आ–आफ्नो अनुभव बताउनुभयो ।
कार्यक्रममा संयुक्त परीक्षा समितिका सचिव लक्ष्मीनारायण दुवालले समितिको प्रतिवेदन, बासु माविका प्रअ रविलाल प्रधानले स्वागत मन्तव्य र रामहरि ताम्राकारले कार्यक्रमको औचित्यताबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा ६५ जना शिक्षकहरूलाई दोसल्ला, सम्मानपत्र र मायाको चिनो वितरण गरिएको थियो ।