काठमाडौँ, १४ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घको ५८ औँ स्थापना दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालको आतिथ्यमा बुधबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा सचिव सुवालले मजदुरवर्गका महान् गुरू लेनिनले आर्थिक सङ्घर्षलाई राजनीतिक सङ्घर्षमा परिणत गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको बताउनुभयो ।
नेमकिपा जनताको आर्थिक सङ्घर्षलाई राजनीतिक सङ्घर्षमा बदल्न लागिरहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “किसानलाई मोहियानी हक, मल, बीउ, सिँचाइ, औजार उपलब्ध गराउने आर्थिक सङ्घर्ष हो । मजदुरलाई ज्याला बढाउने, कामको समय घटाउने, काम गर्ने अवस्था सुधार गर्ने आदि आर्थिक सङ्घर्ष हो । यो आर्थिक सङ्घर्षलाई राजनीतिक सङ्घर्षमा बदल्नको निम्ति मजदुरवर्गको सरकार, उत्पादनका मुख्य मुख्य साधन र सेवा राष्ट्रियकरण जरूरी छ । तेरोमेरो भएसम्म समाजमा अशान्ति र झगडा भइरहनेछ ।”
अमेरिकी साम्राज्यवादको विरोध गर्नुपर्ने आवश्यकता औँल्याउँदै सचिव सुवालले भन्नुभयो, “अमेरिकी साम्राज्यवादले मध्यपूर्वका देशहरू – प्यालेस्टिन, सिरिया, इरानमा आक्रमण गर्नु ती देशका तेल र ग्यासको खानी कब्जा गर्न हो । इजरायली सरकारले अमेरिकी हतियारको भरमा प्यालेस्टिनमा बमबारी गरेको हो । लाखौँ प्यालेस्टिनीहरू खान नपाएर मर्दै छन् । इजरायली सरकारले अन्तर्राष्ट्रिय समुदायको खाद्यान्न सहयोग प्यालेस्टिनमा पठाउन दिएन । अमेरिकी हतियार सहयोग पाएको युक्रेनले रूसविरूद्ध आक्रमण ग¥यो । साम्राज्यवादीहरूले युक्रेन र प्यालेस्टिनको जग्गा, जमिन, ग्यास र तेल खानी कब्जा गरेका छन् । साम्राज्यवाद भएसम्म संसारमा शान्ति र सुशासन कायम हुनेछैन ।”
नेपालमा २००७ साल, २०४६ साल, २०६३ सालको परिवर्तन आर्थिक मात्र हो, यो परिवर्तनले मुठीभरका पुँजीपति र सामन्तवर्गको हित भएको चर्चा गर्दै उहाँले भूमिसम्बन्धी ऐनअनुसार हदबन्दीभन्दा बढी भएको जग्गा स्वतः सरकारको हुनुपर्ने हो तर, सरकारमा गएका पार्टीहरूले सामन्त र जमिनदारको हितमा नै दिएको बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “भूमिसम्बन्धी ऐनअनुसार तराईमा १० बिघा, काठमाडौँ उपत्यकामा २५ रोपनी र पहाडमा ७० रोपनीमात्र राख्न पाउने हदबन्दी हो । सरकारहरूले सामन्त र जमिनदारहरूलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्न लगाए । अहिले भूमिसम्बन्धी नवौँ संशोधन संसद्मा विचाराधीन छ । सुकुमवासी र अव्यवस्थित बसोबासीको नाममा हदबन्दीभन्दा बढी भएको निजी कम्पनीको उपभोगमा रहेको जग्गा ऋण तिर्न वा प्लटिङ गरी बेच्न दिने यो विधेयकमा व्यवस्था गरिएको छ ।”
उहाँले थप्नुभयो, “तराईका कमैया, कम्लरी, हली, कुली, गोठालाले मोहीयानी हकसमेत पाएका छैनन् । सरकारमा गएका पार्टीहरूको नाम फरक भए पनि काम एउटै देश र जनताविरोधी भयो । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको चाकडी गरेर सरकारमा गएका पार्टीहरूले देशको सार्वभौमिकता रक्षा गरेनन् । सार्वजनिक संस्थान निजीकरण गर्ने, नेपाली युवालाई गोर्खा भर्ती हुँदै वैदेशिक रोजगारीको नाममा बेचबिखनजस्तै गर्ने पार्टीहरूको सरकार जनविरोधी नै हो । २०४६ साल यता एकपछि अर्काे मन्त्रीहरूको भ्रष्टाचार काण्ड सार्वजनिक भइरहेको छ । सङ्घीय मामिला मन्त्रीको भ्रष्टाचार काण्डपछि भूमिसुधार मन्त्रीको नाम भ्रष्टाचारमा जोडिएको छ ।”
“पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले कुनै व्यक्तिलाई पदमा राख्दैमा योग्य नहुने, पदअनुसार अध्ययन गरिएमात्र योग्य हुने बताउनुभएको छ । यो यथार्थलाई मनन गरी पार्टीका मजदुर, किसान, युवा, विद्यार्थीले पार्टी प्रकाशन नियमित अध्ययन गर्नु जरूरी छ”, सचिव सुवालले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले वर्तमान समयमा पनि किसानका समस्याहरू धेरै भएको हुँदा किसान सङ्घका कार्यकर्ताहरू सचेत रहनुपर्ने आवश्यकता औँल्याउँदै सरकारमा गएका ठुला दलले आफ्ना कार्यकर्ताहरूलाई सुकुमवासीको नाममा जग्गा वितरण गर्ने दाउ रच्दै छन् भन्नुभयो ।
उहाँले देशमा राजनीतिक परिवर्तन नभएसम्म किसानहरूको समस्या स्थायी रूपमा समाधान नहुने स्पष्ट पार्नुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य नारायण महर्जनले समाजवादी व्यवस्थामा मात्र किसानहरूको समस्या हल गर्न सकिने भएकोले समाजवादी व्यवस्था स्थापनाको लागि किसानहरू सङ्गठित भएर लाग्नुपर्ने बताउनुभयो ।
नेक्राकिसङ्घले पञ्चायती व्यवस्था हुँदादेखि नै मल कारखाना नेपालमै स्थापना गर्नुपर्ने तथा आधुनिक बीउ बिजन नेपालमै उत्पादन गर्नुपर्ने आवाज उठाउँदै आएको उल्लेख गर्दै उहाँले सङ्घले उठाएको विषयमा सरकारमा गएका पार्टीहरूले ध्यान नदिएको हुँदा यो सरकार जनताको नभएको बताउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य राजवीर डंगोलले हुनान किसान आन्दोलनबाट प्रभावित भएर भक्तपुरका किसानहरूले पनि भ्रष्टाचारीहरूलाई उल्टो टोपी लगाई नगर परिक्रमा गराएको स्मरण गर्दै वर्तमान समयमा पनि सरकार र निजी क्षेत्रमा भ्रष्टाचार व्याप्त भएको हुँदा अहिले पनि किसान आन्दोलन आवश्यक भएको बताउनुभयो ।
क्रान्तिकारी किसानहरू नपुगेको ठाउँका किसानहरूले धेरै दुःख पाएको हुँदा किसान सङ्गठनलाई गाउँ गाउँमा पु¥याउन आवश्यक भएको उहाँले बताउनुभयो ।
खोकनाका किसानहरूलाई आफ्नो ठाउँबाट विस्थापित गर्न खोजेकोले नेपाल क्रान्तिकारी किसान सङ्घका कार्यकर्ताहरूले खोकनाका किसानहरूसँग ऐक्यबद्धता जनाएको चर्चा गर्दै उहाँले ठमेलको सार्वजनिक कमलपोखरीमा बनाएको सत्र तल्ले भवन पनि जनताको बलमा एक दिन भत्काइने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति एवं नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले नेमकिपाको अन्तिम लक्ष्य समाजवाद भएको हुँदा यसको लागि सम्पूर्ण किसानहरू गोलबन्द हुनु जरूरी छ भन्नुभयो ।
कार्यक्रममा वन्दना श्रेष्ठ र हरिशरण श्रेष्ठले पनि बोल्नुभएको थियो ।