ज्ञानबहादुर न्याइच्याईको जन्म गरिब किसान परिवारमा विसं १९९२ वैशाख १५ गते भक्तपुरको भार्वाचो टोलमा भएको थियो । पिता पूर्णबहादुर र माता कृष्णमायाको जेठो सन्तानको रूपमा जन्मनुभएका न्याइच्याई जनताको सुख दुःखसँगै हुर्किनुभयो ।
गरिब किसान परिवार भएकोले उहाँले विद्यालयको औपचारिक शिक्षा पाउनुभएन । उहाँसँग गुरुको घरमा गई अध्ययन गरेको अनुभवमात्र थियो । विसं २००२ मा बाजे कृष्णवीर न्याइच्याईको अकस्मात् निधनले परिवारमा गम्भीर समस्या उत्पन्न भयो । विसं २००४ मा पिता पूर्णबहादुर न्याइच्याईको निधनले परिवारको अवस्था झनै दयनीय भयो ।
विधवा कृष्णमाया न्याइच्याईको निम्ति जेठो छोरा ज्ञानबहादुर न्याइच्याई, माइलो काजीबहादुर न्याइच्याई, कान्छो गणेशबहादुर न्याइच्याई र १८ महिनाकी छोरीको लालनपालन गर्न ठुलो चुनौती बन्यो । एकपछि अर्को पारिवारिक पीडा तया दयनीय आर्थिक अवस्थाका कारण दूधे छोरीलाई घरमा छोडी खेती वा पराइ घरको मजदुरी गर्नु माता कृष्णमायाको बाध्यता बन्यो । कामको सिलसिलामा घर बाहिर रहँदा १८ महिनाकी छोरीको निधन भयो । यसले आमा कृष्णमाया न्याइच्याईको मानसिक सन्तुलन गुम्न पुग्यो । त्यही अवस्थामा २०२२ मा आमा कृष्णमाया न्याइच्याईको निधन भयो ।
उहाँको विवाह २०१२ मा भनपा ६ बस्ने बिकुमाया दुवालसँग भएको थियो । २०१३ मा जन्मेको पहिलो सन्तान ज्ञानकाजीको कुकुरको टोकाइको समयमा उपचार नपाएका कारण २०२४ मा ९ वर्षको उमेरमा मृत्यु भएको थियो ।
ज्ञानबहादुर न्याइच्याई सबै समस्याहरूको समाधान आफैले गर्न गा¥हो पर्ने कुराबाट सचेत हुनुहुन्थ्यो । गरिब किसानहरूको सेवा गर्नुपर्दछ भन्ने भावनाको विकासले न्याइच्याई विसं २००९ देखि नै जनताको सेवामा सक्रिय हुनुभयो । उहाँको लगनशीलताले छिट्टै नै एक असल किसान कार्यकर्ताको रूपमा चिनिनुभयो । उहाँको कार्य र मेहनतको कारण नेपाल कम्युनिस्ट पार्टीले उहाँलाई २०१३ मा अखिल नेपाल किसान सङ्घको सदस्यता प्रदान ग¥यो । २०१३–०१४ मा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता पाउनुभयो ।
सङ्घको निर्देशनमा उहाँ किसानहरूको हकहितका लागि विभिन्न क्रियाकलापमा लाग्नुभयो । सोही सिलसिलामा उहाँ गरिब किसानहरूको हकहितको विषयमा सांस्कृतिक गतिविधिमा सक्रिय हुनुभयो । एकदिन नाटक मञ्चनमा भाग लिँदा कमजोर भई बहोस हुनुभयो र एक महिनासम्म बिरामी पर्नुभयो । ज्ञानबहादुर न्याइच्याईको स्वास्थ्य सुधारका लागि मित्रहरू नारायणदास फाँजू, आसबहादुर दुवाल र हरि शिल्पकारले आत्मीय सहयोग गर्नुभएको थियो ।
देशमा राणा शासनको अन्त र प्रजातन्त्र स्थापना भएको सात वर्ष भइसक्दा पनि जनताले वास्तविक प्रजातन्त्रको अनुभूति प्राप्त गर्नसकेनन् । त्यसकारण, प्रजातन्त्रको लागि आम निर्वाचनको माग गरी २०१४ मा भएको भद्र अवज्ञा आन्दोलनबाट ज्ञानबहादुर न्याइच्याई सक्रिय राजनीतिमा लाग्नुभयो । २०१५ मा भएको भूमि नापीमा पनि उहाँ किसानहरूको हितमा सक्रिय रहनुभयो । सङ्गठनको निर्देशनअनुसार २०१५ को आम निर्वाचनमा कम्युनिस्ट उम्मेदवार गणेशप्रसाद मानन्धरलाई जिताउन प्रचारप्रसारमा सक्रिय हुनुभयो । २०१६ मा भक्तपुरमा झाडाबान्ताको प्रकोप भएको थियो । त्यसबेला अखिल नेपाल किसान सङ्घको तर्फबाट स्वयम्सेवकको रूपमा खटिनुभयो र नथाकिकन बिरामीहरूको सेवा गर्नुभयो ।
२०१७ मा निर्वाचित सरकारको विघटन र प्रजातान्त्रिक हक कुण्ठित भयो । उहाँले जनतामाझ प्रजातन्त्रको हत्याको विरोधमा भूमिगतरूपमा आफ्नो सक्रियतालाई कायम राख्नुभयो ।
तत्कालीन राजनैतिक अवस्थाबारे त्यसबेला कम्युनिस्ट नेताहरूमा फरक–फरक दृष्टिकोण आइसकेको थियो । पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँका साथ उहाँ प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र पसेर जनताको सेवा गर्ने पक्षमा उभिनुभयो । २०१९ को चुनावमा प्रतिक्रियावादी सङ्घ संस्थाभित्र प्रवेश गरी जनताको सेवा गर्ने पार्टी नीतिअनुसार उहाँ वडा सदस्यमा उम्मेदवार बन्नुभयो । प्रतिक्रियावादीहरूको जालझेल तथा गैरराजनैतिक क्रियाकलापबारे बुझ्न नसक्दा निर्वाचनमा पराजित हुनुभयो । जनताको सेवा गर्न निर्वाचनमा पराजित भएर केही फरक पर्दैन । उहाँ अखिल नेपाल किसान सङ्घलाई जनताको घरदैलोमा पु¥याई जनताको सेवा गर्न समर्पित हुनुभयो ।
अखिल नेपाल किसान सङ्घको माध्यमद्वारा किसानहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन ज्ञानबहादुर न्याइच्याई प्रयासरत हुनुहुन्थ्यो । विसं २०२१ को भूमिसुधारलाई विभिन्न पार्टीका नेताहरू शाही भूमिसुधार भन्दै विरोध एवं बहिष्कारका नारा दिइरहेका थिए । अध्यक्ष नारायणमान बिजुक्छेँले बहुसङ्ख्यक किसानहरूको हित हुने भएको हुँदा २०२१ को भूमिसुधारलाई सही सदुपयोग गर्न निर्देशन दिनुभयो । खेत–खेतमा गएर खेत जोत्नेको नाम राखी मोहीयानी हक कायम गर्न प्रचारप्रसारमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो । निर्देशनअनुसार ज्ञानबहादुर न्याइच्याई कटुञ्जे, गुण्डू, सिरुटार, बालकोट क्षेत्रमा किसानहरूको मोहियानी हक कायम गर्न महिनौँ खट्नुभयो । २०२१ को भूमिसुधारलाई सही सदुपयोग नगरेको भए आज भक्तपुरका अधिकांश किसानहरूको अवस्था तराईका हलिया र कमैयाहरूको जस्तै हुने थियो ।
२०२५ मा नेपालको सुस्ता क्षेत्रमा अतिक्रमण गरी भारतले कब्जा जमायो । भारतको त्यस विस्तारवादी नीतिको विरोधमा भक्तपुरका जनताले जुलुस निकाले । ज्ञानबहादुर त्यस सङ्घर्षमा सक्रिय रहनुभयो । २०२५ र २०२६ मा नवदुर्गा सहकारी संस्थाका पदाधिकारीविरुद्ध भ्रष्टाचारविरोधी आन्दोलन हुँदा पनि उहाँले सक्रिय भाग लिनुभएको थियो । भ्रष्ट मङ्गलेचा चगुठीलगायतलाई गरेको जनकारबाहीमा उहाँको ठुलो भूमिका थियो ।
बहुसङ्ख्यक किसानहरूको हित नचाहने सामन्ती सोचबाट अभिप्रेरित पञ्चायतले भूमिसुधार घोषणा गरेको थियो । प्रतिक्रियावादी शोषकहरूले मोहियानी हकसमेत विभिन्न बहाना बनाई खोस्ने अभियान चलाए । सङ्गठनको निर्देशनमा मोहियानी हक जोगाउन साँढे धपाउने आन्दोलन, भर्पाई आन्दोलन, बाली काट्ने आन्दोलनलगायत कानुनी र गैरकानुनी आन्दोलनको नेतृत्व ज्ञानबहादुर न्याइच्याईलगायतले गर्नुभएको थियो । २०२७ मा भक्तपुरमा सामन्तवर्गको विरोधमा बाली काट्ने आन्दोलनमा भाग लिएको कारण उहाँलाई पञ्चायती सरकारले पक्राउ ग¥यो । सुरुमा चोरीको अभियोग लगाइयो । अदालतले बाली मुद्दामा चोरी नठहरिने फैसला दिएपछि सार्वजनिक सुरक्षा कानुनअन्तर्गत नख्खु जेलमा थुन्यो । चोरी अभियोगमा जिल्ला प्रहरी कार्यालयमा १४–१५ दिन र सार्वजनिक सुरक्षा कानुनअन्तर्गत नख्खु जेलमा ३ महिना थुनामा पर्नुभयो । तर, जेल, नेल र हतकडीले सङ्घर्षशील न्याइच्याईको सिद्धान्त र विचारलाई बाँध्न सकेन ।
नेपाल कम्युनिस्ट आन्दोलनमा देखिएको खोटा चिन्तनहरूको कारण अखिल नेपाल किसान सङ्घको नाउँबाट भइरहेको राजनैतिक गतिविधि २०२५ बाट नेपाल क्रान्तिकारी किसान सङ्घ र २०३१ बाट नेपाल मजदुर किसान सङ्गठनको नामबाट खुलेर राजनैतिक गतिविधिको सुरुवात भयो । सङ्गठनका अध्यक्ष नारायणमान बिजुक्छेँ भूमिगत भएका कारण उहाँकै निर्देशनमा सङ्गठनको गतिविधि गर्न ज्ञानबहादुर न्याइच्याईलगायतले सक्रिय भूमिका निभाउनुभएको थियो । त्यसै सिलसिलामा भएको सुस्ता बचाउ आन्दोलन, अमेरिकाद्वारा गरिएको भियतनाममा गरिएको आक्रमणको विरोधमा, पाकिस्तानी राष्ट्रपति भुटोलाई फाँसी दिएको विरोधमा, निरङ्कुश पञ्चायती व्यवस्थाको विरोधमा भएको आन्दोलनमा सक्रिय भूमिका निभाउनुभएको थियो ।
जनआन्दोलनबाट जनमतसङ्ग्रहमा बहुदललाई जिताउन जनताको घरदैलोमा पुगी प्रचारप्रसारमा लाग्नुभयो । उहाँको रोचक र सरल भाषण शैलीले भक्तपुरका मतदाताहरूलाई बहुदलको पक्षमा मतदान गर्न निकै प्रेरित गरेको थियो । तर, त्यसबेला अरु राजनैतिक दलका केही नेताहरूले कहिले बहिष्कार त कहिले विरोधका कारण झिनो मतले बहुदलको हार भएको थियो ।
२०३५ सालअगाडि भएको अमेरिकी साम्राज्यवादविरोधी र २०३५ सालपछाडि भएका रुसी सामाजिक साम्राज्यवादविरोधी गतिविधिहरूमा पनि उहाँ सक्रिय रहनुभयो । यसबाट उहाँ अन्तर्राष्ट्रिय भावनाले ओतप्रोत देशभक्त हुनुहुन्थ्यो भन्ने थाहा हुन्छ ।
२०२६ सालमा हैजा र झाडाबान्ताजस्ता रोग भक्तपुर जिल्लाभरि फैलिएको थियो । बिरामी उपचार गर्न अस्पतालमा ठाउँको अभाव भएको थियो । हनुमन्ते खोला किनारमा रहेका पाटीहरूमा बिरामीहरूको उपचार भइरहेको थियो । रोगको महामारीकै कारण त्यसबेला घाटमा मुर्दा जलाउनेसम्म ठाउँको अभाव भयो । त्यस्तो अवस्थामा बिरामी उपचारका लागि ज्ञानबहादुर न्याइच्याई सक्रियरूपमा स्वास्थ्य स्वयम्सेवकको रूपमा खटिनुभयो । सोही घटनाका कारण भक्तपुर नगर पञ्चायतमा प्रधानपञ्चको रूपमा प्रवेश गर्दा उहाँ सडक गल्लीमा आफै च्वाफी लिई सरसफाइमा लाग्नुभयो ।
यसरी भक्तपुरका गरिब किसानहरूको हकहितमा निरन्तर लागिपरेका कारण २०३९ को स्थानीय निर्वाचनमा पार्टीको तर्फबाट प्रधानपञ्चको उम्मेदवार बन्नुभयो । जनताको विश्वासले अत्यधिक मत पाई विजयी हुनुभयो । प्रधानपञ्च भएदेखि नै भक्तपुरलाई सरसफाइमा दिएको विशेष जोडका कारण भक्तपुर नगर हालको अवस्थासम्म पुगेको छ । नगर पञ्चायतको निर्णय र गतिविधि जनतासमक्ष पारदर्शी गर्न ‘पञ्चायत’ मासिक पत्रिका प्रकाशन गरियो । उहाँकै कार्यावधिमा नगरपञ्चायतले कक्षा ६ र ७ निःशुल्क गर्ने निर्णय गरेको थियो ।
२०३९ सम्ममा पारिवारिक आर्थिक अवस्थामा केही सुधार भई आधारभूत आवश्यकताहरू सामान्यरूपमा पूरा भइरहेको थियो । प्रधानपञ्चमा निर्वाचित भएपछि त्यसबेला भएका सम्पूर्ण व्यवसायिक कामहरू छोडिसकेको हुँदा नगर पञ्चायतबाट आउने भत्ता नै परिवारको प्रमुख स्रोत भएको थियो । तर, ६ महिनापछि नै नगर पञ्चायत जान छोड्नुभयो र घरको पारिवारिक अवस्था दयनीय भएको थियो । चार छोरा दुई छोरीहरूको शिक्षा, लालनपालनसमेतमा प्रत्यक्ष असर भएको थियो । तैपनि, कति पनि विचलित नभइकन इमानदारीपूर्वक जनताको सेवामा समर्पित हुनुभयो । २०४० अर्थात् ६ महिनापछि पार्टीकै निर्देशनमा पुनःनगर पञ्चायतमा जानुभयो । २०४४ सम्म आफ्नो क्षमताले भ्याएसम्म नगर पञ्चायतमा प्रधानपञ्च भई सेवा गर्नुभयो । भक्तपुर नगर पञ्चायतमा प्रधानपञ्च हुँदा उहाँले जर्मनीको १४ दिनको भ्रमण पनि गर्नुभएको थियो । नेपालभरका नगरहरूमा पहिलोपल्ट २०४३ मा नगर खेलकुद समिति गठन भयो । भक्तपुर नगरपञ्चायतमा पनि ज्ञानबहादुर न्याइच्याईको अध्यक्षतामा नगर खेलकुद समिति गठन भयो ।
२०४४ सालकै स्थानीय निर्वाचनमा पार्टीको निर्देशनमा १७ वडाबाट वडाध्यक्षमा उम्मेदवारी दिनुभयो र अत्याधिक मले विजयी हुनुभयो । प्रधानपञ्च भइसकेको व्यक्ति वडाअध्यक्ष हुनुपर्दा उहाँमा कुनै हिनताबोध भएन । उहाँ भन्नुहुन्थ्यो “पार्टीले जो जहाँ उपयुक्त हुन्छ त्यहाँ काम गर्नुपर्छ । व्यक्तिगत महत्वाकाङ्क्षा राख्नुहुन्न ।”
२०४५ भदौ ९ गते राज्यस्तरबाट गरिएको भक्तपुर काण्डको सिलसिलामा राती १२ बजे पक्राउ पर्नुभयो र २० महिना जेल जीवन बिताउनुभयो । राष्ट्रिय जनआन्दोलनको सफलतापछि उक्त जाली मुद्दा खारेज भयो र अरु साथीहरूसहित उहाँ पनि जेल मुक्त हुनुभयो ।
पञ्चायती सरकारले भक्तपुर काण्डको रचना गरी तत्कालीन नेपाल मजदुर किसान सङ्गठन समाप्त पार्ने कुचेष्टा गरेको थियो । भक्तपुर काण्डको कारण नारायणमान बिजुक्छेँलगायत ६७ जनालाई ज्यान मुद्दामा फसाइएको थियो । सम्पूर्ण बन्दीहरू जतिसुकै यातना दिँदा पनि सिद्धान्तमा विचलित नभइकन सहेका थिए । बन्दीहरूले पञ्चायत व्यवस्थाको अन्तका लागि भएको जनआन्दोलनलाई भित्रभित्रै सहयोग गरिरहेका थिए । अन्तमा पञ्चायत व्यवस्थाको अन्त भयो र बहुदलीय व्यवस्थाको पुनःस्थापना भयो ।
२०४६ चैत २६ गते बहुदलीय व्यवस्थाको घोषणापछि नेपाल मजदुर किसान सङ्गठनको नीति निर्देशनमा सङ्गठन विकास र विस्तार गर्न ज्ञानबहादुर न्याइच्याई निरन्तर खट्नुभयो । बहुदल पुनः स्थापनापछि भएको नेपाल मजदुर किसान पार्टी भक्तपुरको प्रथम खुला जिल्ला सम्मेलनले उहाँलाई जिल्ला अध्यक्षमा निर्विरोध निर्वाचित गरेको थियो ।
२०४९ को स्थानीय निर्वाचनमा फेरि भक्तपुर नगरपालिकाको मेयर हुनुभयो । मेयर भएदेखि भक्तपुरलाई सफा, सभ्य, सांस्कृतिक नगरको रूपमा विकास गर्नमा निरन्तरता दिनुभयो । २०५० मा उहाँको कार्यकालमा भक्तपुर प्रवेश गर्ने पर्यटकसँग सेवा शुल्क उठाउन थालिएको थियो । नगर प्रमुख रहनुभएको बेला २०५३ सालमा बेलायतको बाथ नगरपालिकाको भ्रमण गर्नुभएको थियो । त्यस भ्रमणबाट प्राप्त अनुभव भक्तपुर नगरपालिकाको विकास निर्माण कार्यमा लगाउनुभयो ।
२०५४ मा फेरि वडा नं. १७ को वडाध्यक्षमा निर्वाचित हुनुभयो । उहाँहरूको लगनशीलताले सभ्य, सांस्कृतिक नगर बनाउन भक्तपुरका जनता उत्साहित छन् ।
उहाँले कुनै औपचारिक स्कूल र कलेजबाट डिग्री प्राप्त गर्नुभएको थिएन । तर, जनताका कार्यकर्ताका लागि जनता नै सबैभन्दा ठुलो विश्वविद्यालय हो र जनहितका सङ्घर्ष नै प्रयोगशाला हो भन्ने तथ्य जनताबाट उहाँले पाउनुभएको माया, स्नेह र आदरबाट पुष्टि हुन्छ । आफू औपचारिक शिक्षाबाट वञ्चित हुनुपरे पनि नयाँ युगलाई शिक्षित पार्न उहाँ विद्यालय र पुस्तकालय निर्माण गर्न टोल–टोलमा शिक्षालय खोली शिक्षा प्रचार गर्न सक्रिय हुनुभयो ।
पञ्चायती कालमा प्रधानपञ्चमा निर्वाचित भई नगरवासीहरूको हितमा भएको कार्य, नगर पञ्चायतको स्वायत्तता रक्षा गर्न गरेको प्रयास, नगरवासीहरूप्रतिको निश्चल व्यवहार, भ्रष्टाचार र ढिलासुस्तीविरुद्धको कदम, नागरिक भावना विकास गर्न र सरसफाइ निम्ति चलाइएको अभियान, प्रधानपञ्च भएर पनि जनताको जुलुसमा सहभागी भई विरोध प्रदर्शन आदिले उहाँ जनताप्रति प्रतिबद्ध जनसेवक हुनुभएको प्रमाणित हुन्छ ।
आफ्नो धार्मिक सहिष्णुताको परिचय उहाँले धर्मोदय सभा भक्तपुर जिल्ला समितिको–उपाध्यक्ष भएर काम गरेबाट पुष्टि हुन्छ । उहाँ बाराही पीठ विकास समिति र बौद्ध दर्शन अध्ययन समाजका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । त्यस्तै, भाषा र साहित्यप्रेमी ज्ञानबहादुर न्याइच्याई भनपा–१७ स्थित गणेश निमाविको संस्थापक तथा ज्ञान विजय निमावि सञ्चालक समितिका सदस्य हुनुहुन्थ्यो ।
२०६६ मा सम्पन्न नेपाल क्रान्तिकारी किसान सङ्घको प्रथम राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित उहाँ २०६६ देखि नेपाल मजदुर किसान पार्टीको केन्द्रीय सल्लाहकारको रूपमा अन्तिम दिनसम्म रहनुभएको थियो ।
नेमकिपा भक्तपुर नगर समितिमा अध्यक्षलगायत विभिन्न पदहरूमा रही जीवनभर उहाँले गरिब र काम गरिखाने वर्गका जनताको सेवा गर्नुभयो ।
एक किसान भए तापनि उहाँले मजदुर र अन्य काम गरी खाने वर्गका समस्यालाई लिएर आवाज राख्दै आउनुभएको थियो । सामन्तवादको विरोधमा सम्पूर्ण थिचिएका किसान, मजदुर, निम्न तथा मध्यमवर्ग एकजुट हुनुपर्छ भन्ने उहाँको धारणा थियो । विदेशी पुँजीलाई प्राथमिकता दिने नीतिविरुद्ध राष्ट्रिय पुँजीपतिवर्गलाई उठाउनुपर्छ भन्नुहुने ज्ञानबहादुर न्याइच्याई शोषणरहित समाज र राज्यविहीन विश्वको सिद्धान्तमा आस्था र विश्वास राख्नुहुन्थ्यो ।
नेपाल मजदुर किसान पार्टी गरिब कामदार जनताको उत्थानका लागि निरन्तर लागिपरेको छ । उहाँ परिवारबिच बरोबर भन्नुहुन्थ्यो, “सके पार्टी विकास र विस्तारमा हिँड, नभए समर्थन गर, विरोधमा कहिल्यै नजाऊ, बरु आ–आफ्नो पेसा गरेर खाऊ, अरुको कहिल्यै कुभलो नचिताऊ ।” उहाँको सरलता र सोझोपनका कारण विभिन्न व्यक्तिले फाइदा उठाउने प्रयास गरेका थिए । तर, साथीहरूको सतर्कताका कारण सफल हुन दिइएन ।
न्याइच्याई तीन वर्षदेखि मधुमेह रोगले पीडित हुनुहुन्थ्यो । उच्च रक्तचापको पनि समस्या थियो । चार पाँच महिनादेखि टाउको दुखेको गुनासो रहे पनि उच्च रक्तचापकै कारण भएको अनुमान गरिएको थियो । शारीरिक अस्थिरता देखाप¥यो । खाना नपच्ने, टाउको दुख्ने रोगका कारण लामो समयसम्म पछि ब्रेन ट्युमर भएको पुष्टि भयो । जीवनको अन्तिम क्षणमा रोगका चिढचिढाउने व्यवहार देखिएको भए पनि कहिल्यै नैराश्यता देखिएको थिएन । ७५ वर्षको जीवनमा उहाँले देश र जनताको लागि गर्नुभएको योगदान सदा सदा सम्झिइरहनेछ । २०६७ फागुन १५ गते उहाँलाई ओम अस्पतालमा भर्ना गरियो । चिकित्सकहरूको सल्लाहअनुसार १९ गते शल्यक्रिया गरिएको थियो । चैत ९ गतेसम्ममा राम्रो प्रगति देखिएको थियो । २८ दिनको लामो उपचारपछि उहाँको स्वास्थ्यमा अचानक समस्या देखाप¥यो र २०६७ चैत १२ गते उहाँको दुःखद निधन भयो ।
स्रोत : स्मृतिमा ज्ञानबहादुर दाइ