“व्यक्तिगत सम्पत्तिभन्दा मानिसलाई संस्कृतिको महत्व हुन्छ”

भक्तपुर, १४ असोज । चवालीसौँ नेपालभाषा साहित्य तःमुंज्याको आयोजनामा सोमबार युवा व्यवसायीहरूको भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले राजनीतिक दल दर्शन र वर्ग आधारमा गठन गरिएको हुन्छ भन्दै नेमकिपा माक्र्सवादी दर्शन र कामदारवर्गको आधारमा गठन भएको र नेपालभाषा साहित्य तःमुंज्या कामदारवर्गको साझा दबु भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “भुटानका राजाले भारतकै सहयोगमा नेपाली मूलका भुटानीहरूलाई लखेटेका थिए । त्यतिबेला भुटानी शरणार्थी समस्याको साँच्चो दिल्लीसँग छ भनी सार्वजनिक भएको थियो ।”
“जाति, भाषा, धर्मको आधारमा सञ्चालन हुने सरकार फासीवादी हो । भारतको मोदी सरकार हिन्दूवादी भएर फासीवादी ढङ्गले अन्य जाति, भाषा, धर्मका मानिसलाई दमन गर्दै छन् । नेपाली जनताले फासीवादी सरकारको विरोध गर्नु आवश्यक छ । मानिसलाई व्यक्तिगत सम्पत्तिभन्दा संस्कृति महत्व हुन्छ”, सचिव सुवालले भन्नुभयो ।
“पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामा आक्रमण गरेयता यहाँको विकास अघि बढेन; त्यस अगाडि काठमाडौँ उपत्यकामा विकास निर्माण गरिएका वास्तुकला अहिले विश्व सम्पदा सूचीभित्र परेका छन्”, उहाँले भन्नुभयो ।
“अमेरिकी साम्राज्यवादको सेना विश्वका ९०२ ठाउँमा तैनाथ गरिएको छ; भारतको विशाखापतनमसम्म अमेरिकी सरकारले आफ्नो सेना तैनाथ गरेको छ । साम्राज्यवादीहरूको एक दिनको हातहतियार र सेनाको खर्च संसारका गरिब जनताको स्वास्थ्य र शिक्षामा बन्दोबस्त गर्न पर्याप्त हुने सार्वजनिक भयो”, सांसद सुवालले थप्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारले उद्योग–व्यापार नगरेको र भएको उद्योग–व्यापारसमेत निजीकरण गरेको हुँदा नेपाल विकासमा पछि परेको हो । सक्वका इन्जिनियर राजदास श्रेष्ठले २०–२५ वर्षअगाडि नै नेपालमा प्रशस्त पाइने चून ढुङ्गाबाट इँटा बनाउन सकिने र यसबाट ८० प्रतिशत प्रदूषण कम हुने बताउनुभएको थियो; त्यो काम गरिएन । अहिले नेपालको उर्वर माटो इँटा बनाउनमा सकियो । करोडौँ नेपाली युवालाई सरकारले वैदेशिक रोजगारीमा पठायो । दाल, चामल, तरकारी, फलफूलसमेत भारतबाट ल्याउनुपर्ने अवस्था भयो । अहिले नेपालीलाई आफ्नो खुट्टाले नटेकी अर्काको लौरोले टेक्नुपर्ने अवस्था भयो ।”
“सरकारले भक्तपुर नगरपालिकालाई सस्तोमा डाक्टर पढाउने ख्वप विश्वविद्यालयको विधेयक पारित गरेन; डाक्टर पढाउन नेपाली जनतालाई करोडौँ रूपैयाँ लाग्छ; यसरी देश अन्धकार हुने अवस्थामा छ”, उहाँले भन्नुभयो ।
“काठमाडौँ उपत्यकाको जमिन अन्यत्रबाट माटो ल्याएर थुपारिएको जस्तो कमजोर छ । यहाँ धेरै सडक र भवन निर्माण गरिए अन्ततः भासिने भूगर्भविद्हरूको मत रहेको छ । यसकारण, काठमाडौँ उपत्यकामा बसाइँसराइ भइराखेको रोक्नु जरूरी छ । सङ्घीय राजधानी दाङमा सार्नुपर्दछ । अविरल वर्षाको कारण काठमाडौँ उपत्यकालगायत देशको विभिन्न ठाउँको पहिरो र डुबानबारे सिंहदरबारमा हिजो भएको सर्वदलीय बैठकमा हामीले काठमाडौँको कमजोर भूसतह र भविष्यमा निम्तिने गम्भीर दुर्घटनाबारे नेपाल सरकारको ध्यानाकर्षण गराएका थियौँ”, उहाँले भन्नुभयो ।
सचिव सुवालले थप्नुभयो, “उद्योगी–व्यापारीहरूबिच वातावरण र सङ्कट, चीनविरूद्ध अमेरिकी सरकारको व्यापार युद्ध, चिनियाँ सपना, आत्मनिर्भरताको प्रश्न र नेपालको विकास आदि विषयमा छलफल गर्नु जरूरी छ ।”
“नेमकिपाविरूद्ध झूटा ज्यान मुद्दा लगाएको भक्तपुर काण्डको हामीले डटेर सामना गरेका थियौँ । सबैले झूटा विषयलाई विरोध गर्नैपर्दछ । व्यक्तिगत स्वार्थको लागि झूटा विषयलाई समर्थन गर्नुहुँदैन । अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौतालाई हामीले यसकारण विरोध गरेका हौँ”, उहाँले स्पष्ट पार्नुभयो ।
“नेपालको राजनीतिमा २००७ साल अघिपछि समेत भारतीय एकाधिकार पुँजी र अमेरिकी साम्राज्यवादको हस्तक्षेप एकपछि अर्को घटनाबाट पुष्टि भइरहेको छ । यी सबै घटनालाई अध्ययन गरी नेपाली जनता सचेत हुनु आवश्यक छ”, सचिव सुवालले जोड दिनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले साहित्यको विकास नै चेतनाको विकास हो भन्दै चेतनाले नै अधिकारको लागि आवाज राख्न सकिने धारणा राख्नुभयो ।
चवालीस वर्षअघि सुरू गरेको तःमुंज्याको दबुले जनताको चेतना स्तर उकास्ने काम गरिरहेको उल्लेख गर्दै उहाँले तःमुंज्याले कामदारवर्गको भविष्य उज्ज्वल पार्ने लक्ष्यसहित वर्गीय आवाज उठाइरहेको छ भन्नुभयो ।
युवा समाजका अध्यक्ष विश्वराम कवांले पहिलो तःमुंज्याको विगतबारे सम्झँदै तःमुंज्याको कार्यक्रममा धेरै सकारात्मक परिवर्तन भइरहेको छ, जुन खुसीको कुरा हो भन्नुभयो ।
तःमुंज्या अनुशासित, सभ्य र सुसंस्कृत कार्यक्रम भएकोले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न युवा व्यवसायीहरूको सहयोग उत्तिकै आवश्यक भएको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा तःमुंज्या आर्थिक समितिका संयोजक नाति ह्योम्बा र सचिव सञ्जय मानन्धरले पनि बोल्नुभएको थियो