भक्तपुर, ८ भदौ । नेपाल इन्जिनियर्स एसोसियसनको ३४ औँ कार्यकारिणी समिति तथा तेस्रो प्रदेश कार्यकारिणी समितिको निर्वाचनमा इन्जिनिनियर समाज नेपालका उम्मेदवारहरूको परिचयात्मक कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले इन्जिनियर समाज नेपालका सदस्यहरू गुणस्तरीय निर्माणमा जिम्मेवारीका साथ लाग्नुपर्ने आवश्यकता औँल्याउँदै इन्जिनियरहरूको पेशागत इमानदारिता इन्जिनियर समाज नेपालले प्रस्तुत गर्नु आवश्यक भएको र स्वच्छ इन्जिनियरको प्रतिनिधित्व इन्जिनियर समाज नेपालले गर्नु आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “संसद्वादी दलका इन्जिनियरिङ सङ्गठनहरूले एसोसियसनको चुनाव जित्न भोजभतेर खुवाउने र झूटा आश्वासन दिने गरेको तल्लो स्तरको काम हो । इन्जिनियरहरू प्राविधिक बुद्धिजीवी हुन्† बुद्धिजीवीहरूले झूटा आश्वासनमा मत दिने छैनन् ।”
सांसद सुवालले थप्नुभयो, “चीनलगायत कतिपय देशमा इन्जिनियरहरू राजनीतिक नेतृत्वमा पुगेर देशको विकास हाँकेका छन् । नेपालमा पनि इन्जिनियर समाजका सदस्यहरू राजनीतिकरूपले शिक्षित र सचेत भएर देशको नेतृत्वतर्फ अघि सर्नु आवश्यक छ । राजनीति देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने हो । इन्जिनियरहरू राजनीतिक दबुलीमा अगाडि बढे यसको सकारात्मक नतिजा तत्काल आउने होइन कम्तिमा १० वर्ष लाग्नेछ ।”
उहाँले भन्नुभयो, “एकजना सचिवले सिंहदरबार भ्रष्टाचारको अखडा भएको बताएका थिए । एकजना प्रधानमन्त्रीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको स्थापना दिवसमा सहभागी मन्त्री, सचिव, विभागीय प्रमुखहरूलाई सङ्केत गर्दै त्यहाँ उपस्थित सबैले भ्रष्टाचार नगरे आधा भ्रष्टाचार कम हुने बताएका थिए । यसले सरकारकै जानकारी वा संरक्षणमा भ्रष्टाचार भइरहेको स्पष्ट हुन्छ ।”
भारत, पाकिस्तान, बङ्गलादेश, दक्षिण कोरियालगायत कतिपय देशका राष्ट्रपति र प्रधानमन्त्रीहरू भ्रष्टाचारको मुद्दामा जेल परेको चर्चा गर्दै सांसद सुवालले नेपालमा मन्त्रिपरिषद्को निर्णयलाई नीतिगत दाबी गरी भ्रष्टाचारलाई छुट दिँदैछ भन्नुभयो ।
उहाँले भन्नुभयो, “संसद्वादी दलका नेताहरूको कमजोरीबाट कतिपय खराब उद्योगी–व्यापारीले व्यक्तिगत स्वार्थ पूरा गरेका छन् । खराब उद्योगी, व्यापारीहरूले संसद्वादी दलको नेताहरूका छोराछोरीलाई पनि हातमा लिएका छन् । कलाकारहरूले बनाएको ‘लुट्न सके लुट कान्छा, नेपालमै हो छुट’ यहाँ मेल खाएको छ ।”
“विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैङ्कसँगको ऋणको साँवा र ब्याज तिर्न चीनले पोखरा विमानस्थल निर्माणको लागि नेपाललाई दिएको २७ अर्ब रूपैयाँ ऋण अनुदानमा परिवर्तन गर्नुपर्ने नेकाको सहयोगमा बनेको ओली सरकारको नियत ठीक होइन । विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैङ्कले नेपाललाई दिएको ऋण पहिला अनुदानमा परिणत गर्नु आवश्यक छ”, सांसद सुवालले भन्नुभयो ।
उहाँले थप्नुभयो, “२०४८ सालको संसदीय निर्वाचनमा जितेका सांसदहरूको सम्पत्ति विवरणमा अधिकांशको काठमाडौँमा घर जग्गा र गाडी थिएनन् । ३०–३५ वर्षयता अधिकांशले काठमाडौँ उपत्यकामा जग्गा जोडी महल बनाएको र निजी गाडी प्राडो–पजेरो किनेका छन् । नेपालीको सार्वजनिक ऋण २४ खर्ब बढी यसैकारण पुगेको होइन र ?”
सांसद सुवालले भन्नुभयो, “सरकारमा गएका संसद्वादी दलहरूले भारतसँग ८० मेगावाट, २०० मेगावाट, ४०० मेगावाट र ६०० मेगावाटसम्म बिजुली महँगोमा खरिद गरी नेपालमा लोडसेडिङ अन्त्य भएको दाबी गरे । नेपालको पानी र जलविद्युत् परियोजना भारतलाई दिएर नेपालका संसद्वादी दलहरूले देशघात गरे । कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, मुगु कर्णाली, तिला १, तिला २, पश्चिम सेती, सेती १, अरूण तेस्रो, तल्लो अरूण, अरूण चौथो, फुकोट कर्णाली, कर्णाली–चिसापानीलगायत नेपालको नदीनाला भारतलाई दिने नेका, एमाले, माओवादीलगायत संसद्वादी दलहरू नै हुन् ।”
“एमाले र माओवादी कम्युनिस्ट भए नेकाको सहयोगमा सरकार बनाउने नेपाली जनताको भरमा सरकार बनाएर मजदुर–किसानलाई विश्वविद्यालय पठाउने व्यवस्था गर्नु जरूरी छ । व्यवहारले नेपाली काङ्ग्रेस विदेशी पुँजीको सेवा गर्ने पार्टी, एमाले बर्नस्टिनको बाटोमा र माओवादी ‘भारतको ट्रोजन हर्स’ सावित हुन्छ”, उहाँले भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “इन्जिनियर समाज नेपालका सदस्यहरूले देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने घोषणापत्र तयार गरी नेपाल इन्जिनियरिङ एसोसियसनको चुनावमा आफ्नो उपस्थिति जनाउनु जरूरी छ ।”
भेलामा ३४ औँ केन्द्रीय र्काकारिणी समितिका लागि अध्यक्ष उम्मेदवार ई. राजेन्द्र हाडा, वाग्मती प्रदेश कार्यकारिणी समितिका लागि सभापतिको उम्मेदवार ई. डा. चन्द्रकिरण कवांलगायत सबै उम्मेदवारहरूले आ–आफ्नो परिचयका साथै यस निर्वाचनलाई वैचारिक सङ्घर्षको रूपमा अघि बढाउन आ–आफ्ना सुझावहरू राख्नुभएको थियो ।