सिंहदरबारमा सर्वदलीय बैठकमा कसले के भने ?


काठमाडौँ, २४ भदौ । “नेपाल र चीनबिचको सम्झौतामा एकले अर्कोलाई मद्दत गर्ने उल्लेख छ । चीनका नेताहरूबाट नेपाललाई इन्डियासँगको सम्बन्ध राम्रो बनाउनुपर्ने सुझाव भइरहेको हो । इन्डियाको नेपालसँगको सम्बन्ध नराम्रो भएरै राम्रो बनाउन सुझाव दिइएको हो । चीनसँगको पारवहन कठिन भएको हुँदा नेपाललाई पारवहन सजिलो भएको इन्डियासँग सम्बन्ध राम्रो बनाउन चीनले सुझाएको हो ।”
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रम पुष्पकमल दाहालद्वारा आफ्नो चीन भ्रमणबारे सुझावको लागि सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा उक्त सुझाव दिनुभएको हो ।
सांसद सुवालले भन्नुभयो, “नेपालको निम्ति चीनका महामहिम राजदूत छन सङले नेपालको हितमा दिनुभएको सुझावलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भएको भनी आपत्ति गर्नुपर्ने विषय होइन । इन्डियाको विदेश सचिव नेपाल आएर शासक दलका नेताहरूलाई संविधान घोषणा नगर्न दबाब दिएको र विदेश मन्त्री सुष्मा स्वराजले निर्देशनअनुसारको वाचा नेपालको संविधान निर्माण नभएको भनी नेपालविरुद्ध नाकाबन्दी लगाएको बताएको शासक दलका नेताहरूलाई कसरी आपत्तिको विषय भएन ? कान नछामी कागको पछि दगुर्नु हुँदैन । इन्डियाले हस्तक्षेप गर्दा चुप बस्ने चीनले राम्रो सुझाव दिँदा विरोध गर्ने शासक दलका नेताहरूको कूटनीति गलत हो ।”
सांसद सुवालले अगाडि भन्नुभयो, “नेपालको चीनसँगको सीमा विवाद बीपी कोइरालाकै पालामा समाधान भएको हो । अहिले शासक दलका नेताहरूलाई चीनसँग सीमा विवाद भएको दाबी गर्न कसरी सुहाउँछ ? अहिले भारतसँग सीमा विवाद नसुल्झिएको र नेपालको लाखौँ हेक्टर भूमि अतिक्रमित भएको यथार्थ हो ।”
माधवजी प्रधानमन्त्री भएलगत्तै दाहालजीले मालिकसँग कुरा गर्ने दाबी गर्नुभएको थियो । को हो त्यो मालिक ? सांसद सुवालले प्रश्न गर्नुभयो ।
प्रधानमन्त्रीको संयुक्त राष्ट्र सङ्घको सम्बोधनमा युक्रेनमा संरा अमेरिकी सरकारको रूसविरुद्ध छद्म युद्ध र यसले संसारमा आर्थिक, इन्धन र रोजगारीको सङ्कट ल्याएको, अशान्ति फैलिएको विषय स्पष्टसँग उल्लेख हुनु जरुरी छ, सांसद सुवालले सुझाव दिनुभयो ।
नेमकिपाले एमसीसी सम्झौतासँगै अमेरिकी सेना आउने विषय उठाउँदै एमसीसीको विरोध गरेको तर शासक नेताहरूले नआउने दाबी गरी एमसीसी पारित गरेको उल्लेख गर्दै सांसद सुवालले हिजोअस्ति अमेरिकी सेना नेपालमा कसरी आए भनी प्रमको ध्यानाकर्षण गराउनुभयो ।
“अमेरिकी सरकारले युरेनियम भएको हतियार युक्रेनलाई बिक्री गर्दै छ । यस्तो हतियारले क्यान्सरलगायत जन्मजात रोग ल्याउने छ । यो विषय प्रमको यूएन सम्बोधनमा उल्लेख हुनु जरुरी छ ।” सांसद सुवालले जोड दिनुभयो ।
शान्तिको कुरा पनि गर्ने हतियार उत्पादन गरी बिक्री पनि गर्ने युद्ध सर्दारहरूविरुद्ध संयुक्त राष्ट्र सङ्घमा प्रमले मत राख्नु आवश्यक छ । असंलग्नता भन्दै नेपाल सरकार युद्ध सरदारको पछि लाग्नु उचित हुँदैन । नेपाल सरकार न्यायको पक्षमा लाग्नुपर्दछ । युद्ध सरदारहरूविरुद्ध नेपाललाई साथ दिनेहरूको खुलेर समर्थन गर्नुपर्दछ ।” सांसद सुवालको सुझाव थियो ।
सांसद सुवालले भन्नुभयो, “लिम्पियाधुरासहितको नेपालको नक्सा अन्तर्राष्ट्रिय समुदायलाई तत्काल जानकारी गराउनुपथ्र्यो । यो बैठकमा नेपालको नयाँ नक्साबारे परिपत्रको भएको प्रतिलिपि दिनु जरुरी छ । सिंहदरबार पुगेर नेपालको नयाँ नक्साबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी नदिनेहरू नै अहिलेको नक्सा विवादका दोषी हुन् ।”
“अमेरिकी सरकारले नै दलाई लामालाई भारत आश्रयमा राख्न सहयोग गरेको हो । तिब्बती शरणार्थीहरूलाई नेपालको भूमि प्रयोग गराई चीनमा उपद्रव मच्चाउन लगाउने अमेरिका र इन्डियाको नियत हो । यसबारे नेपाल सरकार स्पष्ट हुनु जरुरी छ,” सांसद सुवालले उल्लेख गर्नुभयो ।
“नेपालका ८० लाख युवालाई वैदेशिक रोजगारीको नाममा सस्तो ज्यामी बन्न बाध्य बनाएर देशको विकास हुँदैन, नेपालमै रोजगारी दिनु जरुरी छ । विदेश अध्ययनमा गएका विद्यार्थीहरूमार्फत वर्षमा एक खर्ब रुपैयाँभन्दा बढी बाहिरिँदै छ । गत वर्षमात्र नेपालको २ अर्ब डलर बाहिरियो । विद्यार्थी अभावमा विश्वविद्यालयअन्तर्गतका नेपालका ५०० ओटा कलेज बन्द हुँदै छन् । पन्ध्रौँ योजना सकिँदै छ । साक्षरता ९५ प्रतिशत पु¥याउने लक्ष्य ६० प्रतिशतमा सीमित भयो । प्राविधिक शिक्षा ३० प्रतिशतलाई दिने भनिएको १६ प्रतिशतमा सीमित भयो ।” सांसद सुवालले प्रमको ध्यानाकर्षण गराउनुभयो ।
“शेयरको कुल पुँजी ४४ खर्ब रूपैयाँबाट २७ खर्ब रूपैयाँमा घट्यो । शेयरमा कृत्रिम घटबढ गराई सर्वसाधारण शेयर कारोबारीलाई आत्महत्याको स्थितिमा पु¥याउनेहरूलाई कारबाही किन हुँदैन ? बीमाको नाममा ठगी भइरहेकोतर्फ सरकारको ध्यान किन गएन ?” सांसद सुवालको प्रश्न थियो ।
“नेपालमा उद्योगधन्दा विकास गर्न र गरीवी निवारणबारे अनुभव प्राप्त गर्न चीनसँग छलफल गर्नु उचित हो”, सांसद सुवालले सुझाव दिनुभयो ।
छलफलमा पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपालले इन्डिया, चीन, अमेरिकासँगको सम्बन्धमा चासो राख्नुपर्ने उल्लेख गर्दै जी २० को बैठकमा इन्डियाले दक्षिण एसियाबाट बङ्गलादेशलाई मात्र बोलाएको हुँदा इन्डियाको नेपालसँगको सम्बन्ध प्रस्ट नभएको अथ्र्याउनुभयो ।
पूवपरराष्ट्रमन्त्री प्रकाशचन्द लोहनीले चीनलाई बिजुली बेच्नेलगायत तातोपानी र टिमुरे मुख्य नाका व्यवस्थित गर्ने र पाँचखाल एवम् देवीघाटमा सेज (SEZ) बनाउनेबारे चीनसँग छलफल गर्नुपर्ने सुझाव दिनुभयो ।
पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन भ्रमणको सूची पुरानै सम्झौताभित्र खोज्नुपर्ने उल्लेख गर्नुभयो तर लिम्पियाधुरासमेत समेटिएको नेपालको नक्सा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी नगराइएको बारे स्पष्ट गर्नुभएन ।
राप्रपाका बुद्धिमान तामाङले नेपालमा चीनले सोचेजस्तो दलाई लामाको खतरा नभएको उल्लेख गर्दै नुवाकोट, धादिङ र रसुवाका जनतालाई सिमानामा पशु चरणमा दुःख भएको बताउनुभयो ।
रास्वपाका डोलप्रसाद अर्यालले हालै जारी चीनको नक्सामा चासो राख्दै सात बुँदाको सुझाव पेस गरेको बताउनुभयो ।
जनमत पार्टीका सीके राउतले गरिबी निवारणको लागि चीनको अनुभव उपयुक्त भएको हुँदा कूटनीतिक तरिकाले चीनसँग सम्बन्ध बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
पूर्वपरराष्ट्रमन्त्री विमला पौडेलले प्रम दाहाल अमेरिकाबाट सीधै चीन जानुभन्दा नेपाल भएर जानुपर्ने बताउनुभयो ।
राजमोका चित्रबहादुर केसीले चीनले थाहा पाइकन नै नक्सा जारी गरेको उल्लेख गर्दै चीनसँग सीमा विवाद कम र इन्डियासँग बढी भएको बताउनुभयो ।
नेकपा एसका माधवकुमार नेपालले सबैसँग सामान्य दूरी बनाउनुपर्ने बताउनुभयो ।
पूर्वप्रम शेरबहादुर देउवाको भनाइ स्पष्ट सुनिएन । लोसपाका महन्थ ठाकुरले भ्रमण सफलताको कामना गर्नुभयो ।
पूर्वप्रम केपी ओली कुनै सुझाव नदिई एकछिनमै निस्कनुभयो ।
प्रम दाहालले महत्वपूर्ण सुझावको लागि धन्यवाद दिनुभयो ।

पार्टी गतिविधिहरु
समाचार