चितवनको विभिन्न ठाउँमा चुनाव प्रचार


नारायणगढ, १ मङ्सिर । नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति चितवन क्षेत्र नं. २ को आयोजनामा बिहीबार नारायणगढ बजारको लायन्सचोक, सहिदचोक, पोखरा बसपार्क, भरतपुरको चौबिसकोठी, कालिका नपाको शक्तिखोर बजारमा कोणसभा तथा चुनाव प्रचार प्रसार भयो ।
ती कोणसभाहरूमा नेमकिपा चितवन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार ज्ञानेन्द्र प्रजाले देशको लागि आवश्यक छ भन्नुभयो ।
शासक दलहरूले देशमा भएका उद्योगधन्दाहरू कौडीको मूल्यमा बेची बन्द गरेको कारण रोजगारको खोजीमा युवा पुस्ता विदेश पलायन हुन बाध्य भएको उहाँले बताउनुभयो ।
गठबन्धन र तालमेलको नाममा शासक दलहरूले जनतालाई ठगिरहेको बताउनुभयो ।
नेमकिपा चितवन क्षेत्र नं. २(२) प्रदेशसभा सदस्य उम्मेदवार हरिप्रसाद दुवालले निर्वाचन देशघाती र देशभक्तिबिचको सङ्घर्ष भएको भन्दै भिड र हुलले देश र समाजको हित नहुने स्पष्ट पार्नुभयो ।
नेमकिपा चितवनका उपाध्यक्ष राजकुमार श्रेष्ठ, सदस्य पदम थापामगर, विष्णु शर्माले पनि बोल्नुभएको थियो ।
त्यसैगरी नेपाल मजदुर किसान पाटी, निर्वाचन परिचालन समिति चितवन क्षेत्र नं. २ को आयोजनामा बुधबार इच्छाकामना गाउँपालिकाको फिस्लिङ बजार, चुम्लिङटार, लेवाटार, कुरिनटार र मुग्लिङ बजारमा प्रचारप्रसार तथा कोणसभा भयो ।
फिस्लिङ बजार र मुग्लिङ बजारमा भएको कोणसभामा चितवन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ज्ञानेन्द्र प्रजाले मजदुर र किसानको प्रतिनिधिको रूपमा देशघाती विदेशी दलालहरूको विरोधमा आफूले उम्मेदवारी दिएको बताउनुभयो ।
शासक दलहरूले एमसीसी सम्झौता, एसपीपी सम्झौता र नागरिकता विधेयकको नाममा देश बेच्न लागेकोले सबै देशभक्त नेपालीहरू सङ्घर्षमा उत्रन ढिलो गर्न नहुनेमा उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भारतले रासायनिक मलमा अघोषित नाकाबन्दी गरेको कारण किसानहरूले बेलैमा रासायनिक मल नपाएको र उत्पादनमा कमी आएको भन्नुभयो ।
कोणसभामा नेमकिपा चितवनका उपाध्यक्ष राजकुमार श्रेष्ठ र सदस्य पदम थापामगरले पनि बोल्नुभएको थियो ।
त्यस्तै, नेमकिपा, निर्वाचन परिचालन समिति चितवन क्षेत्र नं. ३ को आयोजनामा भरतर महानगरपालिकाको गितानगर बजार, चोकबजार, शिवनगर बजार, पार्वतीबजार र मङ्गलपुर बजारमा प्रचारप्रसार तथा कोणसभा भएको थियो ।
उक्त कोणसभामा चितवनका प्रतिनिधिसभा सदस्य उम्मेदवार पदम थापामगर देशको सीमा सुरक्षा र सार्वभौमिकता रक्षाको सङ्घर्ष अघि बढाउन आफूले उम्मेदवारी दिएको बताउनुभयो ।
उहाँले निर्वाचन भनेको घाषणापत्रबिचको सङ्घर्ष भएको तर शासक दलहरूले गठबन्धन र तालमेलको नाममा नेपाली जनतालाई ठगिरहेको स्पष्ट पार्नुभयो ।
उक्त कोणसभामा नेमकिपा चितवनका उपाध्यक्ष राजकुमार श्रेष्ठ, सचिव ज्ञानेन्द्र प्रजा र नेमकिपा रत्ननगरका अध्यक्ष विष्णु शर्माले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार