निर्वाचन पुँजीवादी र समाजवादी विचारबिचको लडाइँ निर्वाचन जनताको राजनीति चेतना जगाउने अवसर


भक्तपुर, १ मङ्सिर । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर निर्वाचन परिचालन समितिको आयोजनामा स्थानीय टौमढी टोलमा बृहत् चुनावी जनसभा बिहीबार सम्पन्न भएको छ ।
जनसभामा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँले यो निर्वाचन पुँजीवादी र समाजवादी विचारबिचको लडाइँ भएकोले कामदार जनताले पुँजीवादको विरूद्ध समाजवादको पक्षधर पार्टी र उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।
नेमकिपा समाजवादको लागि लामो समयदेखि जनतालाई जगाउन लागिपरेको चर्चा गर्दै उहाँले भन्नुभयो, “जनताको राजनीतिक चेतना जगाउने अवसरको रूपमा निर्वाचनलाई पार्टीले उपयोग गर्दै आएको हो । यस्तो निर्वाचनमा धेरै मत आयो भने जनता समाजवादको पक्षमा जनमत यति भन्ने बुझिन्छ । त्यसैले हामीले निर्वाचनलाई जनताको चेतना नाप्ने ब्यारोमिटर भनेका हौँ ।”
विगतको तुलनामा क्रमशः जनतामा चेतना बढिरहेको तथ्य समाजमा नयाँ पुस्तामा देखिँदै छ भन्दै उहाँले विगतको तुलनामा छोरीलाई पढाउने भावना बढेको, कामदार जनताका छोराछोरी पनि डाक्टर र इन्जिनियर बनेका उदाहरण हरेक वडामा देखिएको प्रस्ट पार्नुभयो ।
उहाँले नेमकिपाका जनप्रतिनिधिदेखि पार्टीका कार्यकर्ताहरूले निःस्वार्थरूपले जनताको सेवा गर्दै आएकोले देशकै निम्ति भक्तपुर उदाहरण बनेको छ† नत्र अरू अरू जिल्लाबाट अरू अरू पार्टीका जनप्रतिनिधि र नेका–कार्यकर्ता यहाँ किन हेर्न र सिक्न आउँथे भन्नुभयो ।
निर्वाचनको अन्यत्र प्रचार गर्दै हिँड्दा कतै आफ्नै घर परिवारकालाई भन्न सिकाउन नबिर्सन सुझाव दिँदै विगतमा हाम्रै पार्टी कार्यकर्ताका आमा–बुबा र छोराछोरीलाई विरोधीहरूले पैसा दिएर मत बिगारी दिएका थिए† सचेत हुुनुपर्छ, उहाँले भन्नुभयो ।
एमसीसी, एसपीपी र नागरिकता विधेयकजस्ता देशघाती कदमको नेमकिपाले सडक र सदनमा निरन्तर विरोध गर्दै आएको देखेका इमानदार काङ्ग्रेस, एमाले, माओवादी पक्षका मतदाताहरूले समेत यसपालि नेमकिपाको मादल चिह्नमा मतदान गर्ने वचन दिएका छन्†यो हाम्रो देशभक्तिपूर्ण आन्दोलनको सकारात्मक परिणाम भएको विचार व्यक्त गर्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “त्यसैले देशका ५८ जिल्लामा नेमकिपाले उम्मेदवार उठाएको छ । नयाँ पुस्ता जिल्ला जिल्लामा गएर समाजवादी विचारको प्रचार गर्दै हिँडेका छन् ।” एउटा निर्वाचनले नै सबै निर्णय हुँदैन† निर्वाचनपछि पनि नेमकिपा देश र जनताको सेवामा निरन्तर रहने र जनविरोधी कदमको विरूद्ध सङ्घर्ष जारी राख्नेछ भन्दै उहाँले भन्नुभयो, “नेमकिपाका जनप्रतिनिधिहरूले कहीँ कहिल्यै पनि व्यक्तिगत स्वार्थ नहेरी व्यापक जनताको हितको काम गर्नेछन्† गरिरहेका छन् ।”

“ठूलठूला पुँजीवादी पार्टीहरू निर्वाचन आचारसंहिताविपरीत सामान र पैसा बाँडेर मत बटुल्ने दुष्प्रयास गरिरहेका छन् । तर हामी हारजितलाई भन्दा निर्वाचनलाई विश्वविद्यालय कक्षाको रूपमा उपयोग गरेर राजनीति कक्षा चलाइरहेका छौँ । ठूला दल भन्नेहरूले यसो गर्ने आँट गरिरहेका छैनन् ।”, उहाँले भन्नुभयो ।
कामदार जनताका छोराछोरीले आज निरन्तर साप्ताहिक ‘श्रमिक’ र ‘मजदुर’ दैनिक प्रकाशित गरिरहेको उदाहरण दिँदै उहाँले आगामी दिनमा राजनीतिमा महिलाको उल्लेख्य वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
आफूले २५ वर्ष पहिले नै चीनबाट मल कलकारखाना खोल्न आवश्यक कागजात ल्याएर सरकारलाई बुझाउँदा चीनको नाम देखेरै भारतसित शासकहरू डराएको चर्चा गर्दै उहाँले भारतबाट आयातीत कमसल मलका कारण उत्पादन घटेको हुँदा देशभित्रै मल कारखाना खोल्न हामी आवाज बुलन्द पार्दै छौँ भन्नुभयो ।
ठूलठूला पुँजीपतिहरूले नेपालको पैसा विदेशी बैङ्कमा राखेर देशमा लगानीको अभाव पार्दै देशमा आर्थिक सङ्कट निम्त्याइरहेका प्रस्ट पार्दै उहाँले नेमकिपा विदेशमा रकम राख्न नपाउने पक्षमा रहेको बताउनुभयो ।
जनसभामा नेमकिपाका सचिव तथा भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार प्रेम सुवालले एमसीसी सम्झौता, एसपीपी समझदारी, नागरिकता विधेयकविरूद्ध प्रतिनिधिसभामा नेमकिपाले गरेको सङ्घर्षबारे स्पष्ट पार्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा प्रदेशसभा भक्तपुर क्षेत्र नं. १ ‘ख’ का उम्मेदवार सुरेन्द्रराज गोसाईले यो निर्वाचन देशभक्त र देशघातीहरूबिचको सङ्घर्ष रहेको बताउनुभयो ।
सभामा समानुपातिक उम्मेदवार हिमालयश्वरलाल मुल, लक्ष्मीभक्त लासिवा, प्रेमगोपाल कर्माचार्य र राजेन्द्र चवालले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार