भक्तपुर, १८ फागुन । नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति भक्तपुर क्षेत्र नं. २ को आयोजनामा मध्यपुर थिमि नगरव्यापी घरदैलो कार्यक्रम सम्पन्न भयो । मध्यपुर थिमि नगरपालिकाको मुख्य नगर परिक्रमा गरी मध्यपुर भुलाँखेलमा बृहत् कोणसभामाको आयोजना गरी सम्पन्न भयो ।
प्रचारप्रसारको अन्तिम दिन नगर परिक्रमा कार्यक्रममा सहभागी हुनुभएका नेमकिपा केन्द्रीय समिति सदस्य सुनिल प्रजापतिले खराब संसद्मात्र होइन नेमकिपाले देशभक्त सक्षम उम्मेदवार उठाएको भन्नुभयो ।
ठुला भनाउँदा पार्टीले पाँच वर्ष सरकार चलाउने भनेकोमा युवाहरूको दुई दिनको आन्दोलनबाट भाग्नुपरेको उल्लेख गर्दै उहाँले नेमकिपाले सधैँ देश र जनताको पक्षमा काम गरेको, विदेशी दलाली गर्ने र एमसीसीजस्ता देशधाती सन्धि तथा सम्झौता गर्ने पार्टीहरू जतिसुकै ठुलो भए पनि एकदिन पतन हुने, घोषणापत्रविपरीत देश र जनताको हित विपरित कार्य गर्ने पार्टी अराष्ट्रिय घोषित गरी खारेज गर्नुपर्ने बताउनुभयो ।
नेमकिपाका तर्फबाट मादल चुनाव चिह्नको साथ प्रतिनतिधिसभा भक्तपुर क्षेत्र नं. २ उमेदवार रहनुभएका रमेश वैद्यले ख्वप विश्वविद्यालय विधेयक संसद्बाट पारित गराउन, देश र जनताको पक्षमा कानुन निर्माण गर्न मादलमा मतदान गर्न अनुरोध गर्नुभयो ।