काभ्रे २२, माघ । नेपाल मजदुर किसान पार्टी काभ्रेको आयोजनामा बिहीबार काभ्रे जिल्लाको पनौतीमा कार्यकर्ता भेला सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले राजनीतिक दल आदर्श समाज निर्माणको लागि गठन र स्थापना हुने उल्लेख गर्दै नेमकिपा सबैलाई शिक्षा, स्वास्थ्य, रोजगारी, आवाससहितको शोषण नहुने आदर्श समाज निर्माणको लागि स्थापना भएको स्पष्ट पार्नुभयो ।
उहाँले राजनीति देश र जनताको निःस्वार्थ सेवाको लागि हुुनुपर्ने चर्चा गर्दै पार्टीले जनतालाई देश र बाँकी संसारबारे सचेत र शिक्षित पार्ने काम गरिरहेको बताउनुभयो ।
पटक पटक निर्वाचन जितेर सरकारमा पुगेका शासक दलहरूले जनताको पक्षमा काम नगरेको उल्लेख गर्दै उहाँले सडक र सदनमा देश र जनताको हितका विषयमा आवाज उठाउने नेमकिपा नै नयाँ भएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले निर्वाचन पनि वर्गसङ्घर्ष तथा घोषणापत्रको लडाइँ भएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सृजना सैँजूले देश र जनताको सेवाबाहेक नेमकिपाको अरु केही स्वार्थ नरहेको स्पष्ट पार्दै नेपाल मजदुर किसान पार्टीको अहिलेको लडाइँ देशलाई नवउपनिवेश बनाउने एमसीसीवादीहरूविरुद्ध रहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीको तर्फबाट काभ्रे जिल्ला क्षेत्र नं १ का उम्मेदवार राजु तामाङले निर्वाचनलाई उपयोग गरेर पार्टीले देश र जनताको निःस्वार्थ सेवा गर्ने बताउनुभयो ।