भक्तपुर, २१ माघ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् भक्तपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेम सुवालले चाँगुनारायण नगरपालिका वडा नं ६, नगरकोट बेसी टोलका स्थानीय जनतासँग भेटघाट गर्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “शासकहरूका पार्टी र नेता फरक भए पनि उनीहरूको आर्थिक र वैदेशिक मामिला फरक छैन । साम्राज्यवाद र विस्तारवादको विरोध र तत्काललाई वैज्ञानिक समाजवादको प्रचार गरी देश र जनताको निःस्वार्थ सेवा गर्ने नेमकिपाको नीति नै नयाँ हो ।”
“उत्पादनका मुख्य–मुख्य साधन र सेवा सामाजिकीकरण हुने, योग्यताअनुसारको काम र कामअनुसार पारिश्रामिकको व्यवस्था हुने, शिक्षा–स्वास्थ्य निःशुल्क हुने र युवालाई स्वदेशमै रोजगारीको बन्दोबस्त हुने व्यवस्था समाजवाद हो ।” उहाँले भन्नुभयो ।
पैसा, सामान, भोजभतेरमा मत किन्ने शासक दल र तिनका उम्मेदवार जनविरोधी हुने उल्लेख गर्दै उहाँले नेमकिपाले चुनावलाई बृहत् राजनीतिक कक्षाको रूपमा अघि बढाउँछ र प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दछ भन्नुभयो ।
नेमकिपा चाँगुका अध्यक्ष न्हुछेभक्त फोजू, वाग्मती प्रदेशसभाका सदस्य गीता काफ्लेलगायतको टोलीले स्थानीय कार्यकर्ता शंखबहादुर थिङको कान्छो छोरा थिङ्कु थिङको असामयिक निधनमा समवेदना प्रकट ग¥यो ।