भक्तपुर २०, माघ । नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा नेमकिपा चाँगुनारायण ५, छालिङ एकाइ समितिले मङ्गलबार नेमकिपाका सचिव एवम् प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रेम सुवालको स्थानीयसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न ग¥यो ।
सचिव सुवालले जनताको उच्च सांस्कृतिक स्तर भएको आदर्श समाज स्थापना गर्ने उद्देश्यले राजनीतिक दल स्थापना हुनुपर्ने आवश्यकता औँल्याउँदै नेपाल मजदुर किसान पार्टी समाजवाद हुँदै साम्यवादसम्म पुग्ने दीर्घकालीन लक्ष्य प्राप्तिको निम्ति स्थापना भएको बताउनुभयो ।
उहाँले बहुदलपछि नेका नेतृत्वमा बनेको सरकारले नेपालको ६००० नदीनाला भारतको साझा बनाएको उल्लेख गर्दै शासक दलहरूले नेपालको बिजुली बाल्ने र निभाउने स्वीच भारतको दिल्लीमा राख्ने गरी सार्क ग्रीड सम्झौता गरेको देशघात नै भएको बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “पटक पटक सरकार चलाएका नेका, एमाले, माओवादी, राप्रपा, रास्वपालगायतका शासक दलहरूले देशलाई ३० खर्ब ऋण बोकाए, वैदेशिक रोजगारीको नाउँमा नेपाली युवालाई विदेशमा पशुजस्तै बेचबिखन गरे, कृषिप्रधान देश नेपालमा दाल, चामल, तरकारी, फलफूलसमेत विदेशबाट खर्बौको आयात गर्नुपर्ने अवस्थामा पु¥याए । नेपाली जनताले देशघात गर्ने शासक दलहरूलाई निर्वाचनमा ठेगान लगाउनु जरुरी छ ।”
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजूले नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन गर्न नेपाल मजदुर किसान पार्टी स्थापना भएको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष रत्नबहादुर ह्यौँमिखाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मिनबहादुर बाटाले पनि बोल्नुभयो । भेलाले रत्नबहादुर ह्यौँमिखाको संयोजकत्वमा चाँगुनारायण नपा ५, छालिङस्तरीय निर्वाचन परिचालन समिति पनि गठन ग¥यो ।