भक्तपुर, १६ माघ । नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा पार्टीका सचिव प्रेम सुवालले दुवाकोट बेसी टोलका जनतासँग भेटघाट गर्नुभयो ।
भेटमा सचिव सुवालले नेपाल मजदुर किसान पार्टी आदर्श समाज निर्माणको लागि ५२ वर्षअघि अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले स्थापना गर्नुभएको उल्लेख गर्दै जनतालाई राजनीतिकरूपमा शिक्षित र सचेत बनाएर मात्र पार्टी सदस्य बनाउने नेमकिपाको नीति भएको बताउनुभयो ।
नेमकिपाले देश र जनताको निःस्वार्थ सेवा गर्दै आएको उल्लेख गर्दै सांसद सुवालले पैतीस वर्षयता सरकारमा गएका दलहरूले सार्वजनिक संस्थान निजीकरण गरी देशलाई वार्षिक १५ खर्ब रूपैयाँ व्यापार घाटा पारेको र २८ खर्बभन्दा बढी ऋणमा देशलाई डुबाएको बताउनुभयो ।
सचिव सुवालले स्पष्टसँग राख्नुभयो, “उमेरले नयाँ पुस्ता भएर पुग्दैन नयाँ विचार पनि हुनु आवश्यक छ । पुँजीवादी विचार बोक्नेहरू उमेरले नयाँ पुस्ता भएर समाधान निस्किँदैन । नयाँ पुस्तासँग वैज्ञानिक समाजवादी विचार भएमात्र समाधान निस्किनेछ ।”
नेमकिपा भक्तपुरका उपाध्यक्ष एवं चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोंजुले नेमकिपाको स्थापना कामदारवर्गका जनतालाई शासकवर्गमा पु¥याउने उद्देश्यले भएको बताउनुभयो ।
मा.वि.तहसम्म निःशुल्क र अनिवार्य शिक्षा, विश्वविद्यालय तहसम्म निःशुल्क शिक्षा तथा स्वास्थ्य उपचार निःशुल्क गर्ने व्यवस्थाको लागि प्रतिनिधिसभामा नेमकिपाको उपस्थिति अनिवार्य रहेको उहाँले बताउनुभयो ।
त्यस्तै नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगर समितिको आयोजनामा शुक्रबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजुले नेमकिपाको स्थापना जनताको प्रजातन्त्र, समाजवाद हुँदै साम्यवादी व्यवस्था स्थापना गर्ने लक्ष्यले भएको बताउनुभयो ।
उहाँले समाजमा व्याप्त भ्रष्टाचार, अन्धविश्वास, कुरीति, कुसंस्कार, बहुविवाह, बालविवाहको विरूद्धमा जनतालाई सचेत, सङ्गठित र सङ्घर्षशील बनाउनु आवश्यक छ भन्नुभयो ।
कार्यक्रममा आयोजक समितिका अध्यक्ष एलएन लिगल र सचिव एस. दुलालले पनि बोल्नुभएको थियो ।

  •  
  •