भक्तपुर, १६ माघ । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिको आयोजनामा शुक्रबार कार्यकर्ता भेला गरी चुनाव प्रचार समिति गठन गरिएको छ ।
उक्त कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले भन्नुभयो, “पुँजीवादी व्यवस्थामा हरेक १० वर्षमा आर्थिक सङ्कट आउँछ । पुँजीपतिवर्गले यो आर्थिक सङ्कटलाई ढाकछोप गर्न नयाँ नयाँ पार्टी र पात्रलाई निर्वाचनमा उभ्याउँछ । नेपालमा पैतीस वर्षयता यस्तै भइरहेको छ ।”
उहाँले अगाडि भन्नुभयो, “दुःख एक एक पाइला गरी मेटिन्छ । सबै दुःखको उपाय वैज्ञानिक समाजवाद हो । नेपालमा सरकारी बजेट प्रणाली बाहिर वार्षिक १ अर्ब १० करोड डलर राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत खर्च भइरहेको सार्वजनिक भयो । यस्तो बजेटले देशका नयाँ पुस्तालाई बाटो बिराउन लगाउँछ । गत भदौ २३ र २४ गतेको घुसपैठ र आगजनीलाई यही दृष्टिकोणबाट हेर्नु आवश्यक छ ।”
“शासक दलहरूलाई विस्तारवाद र साम्राज्यवादले नचाइरहेको पनि खुल्दै छ । कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, एमसीसी सम्झौता आदि यसका उदाहरण हुन् । नेपालका नदीनालाबाट बिजुली निकाल्न नसक्ने र एक एक गरी भारतीय एकाधिकार पुँजीलाई दिने सरकार र तिनका प्रधानमन्त्री एवं मन्त्री कसरी देशभक्त होलान् ?” सचिव सुवालले प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, “संरा अमेरिकी राष्ट्रपति जेम्स मुनरोले ल्याटिन अमेरिकी देशहरूलाई करेसाबारी ठान्नेजस्तै दक्षिण एसियाका देशहरूमा भारतको प्रभुत्व हुनुपर्ने बताउने नयाँ पार्टी र नयाँ पुस्ता पनि विदेशी दलाल नै हुन् ।”
नेमकिपाका कार्यकर्ताहरूले निर्वाचन आचारसंहितालाई पालना गर्न उहाँले निर्देशन दिनुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईले देश र जनताको पक्षमा निःस्वार्थ रूपले सेवा गर्ने भावनामा उत्प्रेरित गर्न हरेक कार्यकर्ताहरू निरन्तर लागिरहनुपर्ने बताउनुभयो ।
पार्र्टीको निर्देशनअनुसार योजनाबद्धरूपमा अनुशासित भई लागिपरे हरेक कार्य सजिलै सम्पन्न गर्न सकिने भएकोले कार्यकर्ताहरू सहनशील, धैर्यवान र मिलनसार भई जनताको बिचमा जानु आवश्यक छ, उहाँले भन्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका उपाध्यक्ष लक्ष्मीभक्त लासिवाको सभापतित्वमा भएको उक्त कार्यक्रममा कृष्णगोविन्द लाखाजु र गङ्गाराम ज्याख्वले पनि बोल्नुभएको थियो ।
भेलाले कृष्णगोविन्द लाखाजुको अध्यक्षतामा नेमकिपा भक्तपुर नगर निर्वाचन प्रचार समिति गठन गरेको छ ।