भक्तपुर, १५ माघ । नेपाल मजदुर किसान पार्टीको स्थापना दिवसको अवसरमा भक्तपुर नगरपालिका वडा नं. १ मा स्थानीय कार्यकर्ताहरूबिच मार्गनिर्देशन कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले महिलामाझ पनि सङ्गठन विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै सङ्गठनमा महिलाको सहभागिताले नै प्रजग कोरिया युद्धमा सफल भएको बताउनुभयो ।
नयाँ पुस्तालाई सिद्धान्त र विचारबाट सुसूचित गर्नुपर्नेमा जोड दिँदै उहाँले सिद्धान्त र विचारबिनाको राजनीति सफल नहुने बताउनुभयो ।
कुलतबाट जोगाउन युवाहरूलाई खेलकुदको क्षेत्रमा लगाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पार्टी कार्यकर्ताहरू हरेक क्षेत्रमा सक्रिय भएर समाज परिवर्तनको निम्ति अग्रसर हुनुपर्छ भन्नुभयो ।
विगतमा महिला रात्रिकक्षा, प्रौढ कक्षा, साहित्यिक गतिविधि, सफाइ अभियान, सांस्कृतिक तथा राजनीतिक सचेतना कार्यक्रम भएकै कारण उहाँले जनतामा राजनीतिक चेतना, नागरिक भावना र सांस्कृतिकस्तर उठेको हो भन्नुभयो ।
भारतले नेपाली भूमि सुस्ता मिचेको विरोधमा नेपालको भूमि जोगाउन आन्दोलन भएको स्मरण गराउँदै उहाँले देशभक्त, सच्चा कम्युनिस्टहरू कुनै पनि देशको थिचोमिचो, अतिक्रमण र दबाब सहँदैनन् बरू स्वाधीनता र सार्वभौमसत्ताको निम्ति सङ्घर्ष गर्छन् भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष कृष्णबहादुर दुगुजुको सभापतित्वमा भएको सो कार्यक्रममा स्थानीय वडाध्यक्ष श्यामकृष्ण खत्रीले पनि बोल्नुभएको थियो ।