भक्तपुर, १३ माघ । नेपाल मजदुर किसान पार्टी भनपा नं. ९ वडा समितिको आयोजनामा ५२ औँ पार्टी स्थापना दिवस मङ्गलबार प्रवचन कार्यक्रम गरी मनाइयो । पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले पार्टी स्थापनाको यो आधा शताब्दीमा समाजको तल्लो वर्गको श्रमजीवी जनतालाई राजनीतिकरूपले सचेत बनाउने काम भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “राजनीतिक चेतना जगाउने काम स्कुल, कलेज चलाएजस्तै निरन्तर गर्नुपर्दछ । समाजलाई सचेत पार्न सके व्यक्ति मरे पनि विचार बाँचिरहन्छ† अन्याय र शोषणविरुद्ध मान्छेलाई जगाउनकै लागि पार्टीले निर्वाचनलाई उपयोग गर्ने नीति लिएको हो ।”
निर्वाचनको जितभन्दा पनि आन्दोलनमा पार्टीले पु¥याएको योगदानलाई बढी महत्व दिने चर्चा गर्दै उहाँले पुँजीवादी निर्वाचनबाट कुनै पार्टी बहुमत आए पनि देशमा आमूल परिवर्तन नहुने बताउनुभयो । निर्वाचन घोषणापत्रको आधारमा जनतासँग मत माग्नुपर्नेमा यहाँ अझै शासक दलहरू जनतालाई पैसा र अनेक वस्तु दिएर मत लिने गलत प्रयास गर्छन् भन्नुभयो ।
ढिलै भए पनि बिस्तारै जनताले नेमकिपाको इमानदारी बुझ्न थालेको बताउँदै अध्यक्ष बिजुक्छेँले विगतको तुलनामा पार्टीले धेरै जिल्लामा उम्मेदवारी दिएको र त्यसमा पनि महिला उम्मेदवार सबभन्दा बढी दिन सक्नु यस पटकको निर्वाचनको सकारात्मक पक्ष भएको प्रस्ट्याउनुभयो ।
शासक दलहरूले विगतको निर्वाचनमा घोषणा गरेको वाचा कुनै पूरा नगरेको उदाहरण दिँदै उहाँले नेमकिपाले प्रखर प्रतिपक्षमा रहेर बोलेअनुसार काम गरेर देखाएको बताउनुभयो ।
“पार्टी कार्यकर्ताहरू धैर्य र संयम पनि हुनुपर्ने हुन्छ भन्दै शत्रुले हामीलाई उत्तेजित पार्न सक्छ, लोभ देखाएर घुस खुवाउन सक्छ; त्यसमा अत्यन्त सतर्क हुनुपर्छ”, उहाँले भन्नुभयो ।
निःस्वार्थपूर्वक जनताको सेवा गर्नेबाहेक पार्टीको अर्काे कुनै स्वार्थ नभएको हुँदा पार्टी गलत शैलीको प्रचारमा नलाग्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।
निर्वाचनपछि राष्ट्रपति बनाउने लोभ देखाएर उम्मेदवारी फिर्ता लिन लगाएको र राष्ट्रपति बन्ने आशाले नै जेलभित्रको बन्दीलाई छुट्याएको पनि चर्चा छ भन्दै उहाँले नयाँ पुस्तालाई राजनीतिका यस्ता कुटिल चालहरूबारे सचेत पार्नुपर्नेमा जोड दिनुभयो ।
जेन–जीले दुई दिनमा देश खरानी पार्न नसक्ने बरु त्यसको पछाडि अमेरिका र भारत हुनैपर्छ भनेर त्यसबेला भनेको कुरा अहिले बिस्तारै खुल्दै छ भन्दै उहाँले त्यसको लागि लामो समयदेखि तयारी गरेकै हुनुपर्छ र त्यो तयारी सरकारका सैनिक, सशस्त्र, प्रहरीलगायतका गुप्तचरहरूले सरकारलाई जानकारी दिएकै हुनुपर्छ† यदि गुप्तचरको सूचनाप्रति सरकार सचेत वा पूर्वतयारी नगरेको भए त्यो ओली सरकारको ठुलो कमजोरी भएको पनि उहाँले बताउनुभयो । उहाँले सरकारले चाहेमा त्यो आगजनी र लुटपाटमा संलग्न सबैलाई पक्रन सक्ने पनि बताउनुभयो ।
शत्रुले सिङ्गो देश जलाउँदा लाखौँ कार्यकर्ता भएको दाबी गर्ने शासक दलहरू त्यतिबेला के हेरेर बसे भन्ने प्रश्न गर्दै उहाँले त्यस्तो अवस्थामा कर्तव्यच्युत भएर बस्न नहुने पनि बताउनुभयो । उहाँले राजनीतिक चेतना नभए मानिस शासकको दास भएर बस्नुपर्ने हुन्छ† जेन–जी आन्दोलनबाट सरकार र राज्यसत्ताको भेद पनि प्रस्ट भएको बताउनुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नयाँ पुस्ता सामाजिक सञ्जालको लहलहैमा लाग्न नहुनेमा जोड दिँदै उम्मेदवारी दर्ताको क्रममा सुदूरपश्चिम प्रदेशमा देखिएको पार्टीको उत्साहजनक प्रगति सुनाउनुभयो ।
सरकारमा रहँदा ख्वप विश्वविद्यालयको निम्ति सिन्को नभाँच्ने शासक दलहरू अहिले निर्वाचनको बेला ख्वप विश्वविद्यालयको एजेन्डा लिएर आउनु राजनीतिक बेइमानी भएको उल्लेख गर्दै उहाँले कुनै पनि पार्टीको राजनीतिक दलको वर्गीय र सैद्धान्तिक आधार प्रस्टिनुपर्छ; तर यहाँ त्यस्तो कुनै आधारविना नै लहलहैकै भरमा निर्वाचन जित्ने प्रयास गरिँदै छ; त्यो जनतालाई धोका दिनु जतिकै हो; यसमा जनता नै सचेत हुन आवश्यक छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा सूर्यमढी पार्टी समितिका अध्यक्ष दिलभक्त कोजू र काशीलाल प्रजापतिले पनि बोल्नुभएको थियो ।

  •  
  •