भक्तपुर, ३ माघ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ २ वडा समिति, भक्तपुरको आयोजनामा प्रवीणता प्रमाणपत्र तह, दस जोड दुई, स्नातक तह, स्नातकोत्तर तह, एम फिल तथा पीएचडी उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सांस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले युवा–विद्यार्थीहरूले देश र बाँकी संसारलाई बुझ्न जरुरी छ भन्नुभयो ।
उहाँले सरकारमा गएका दलका प्रधानमन्त्री र मन्त्रीहरूले देशलाई २८ खर्बभन्दा बढी ऋण बोकाएर विकासको ध्वाङ फुक्नु सत्य होइन भन्नुभयो ।
उहाँले नेमकिपाको घोषणापत्रअनुसार भनपाले स्थापना गरेका ख्वप कलेजहरूबाट देशभरका विद्यार्थीहरूलाई पढाएर सेवा गर्दै छ भन्नुभयो ।
उहाँले समाजलाई जाँड, रक्सी, धूमपानबाट बचाएर सुस्वास्थ्य बनाउनु जरुरी छ भन्नुभयो ।
उहाँले कृषिमन्त्रीहरू भ्रष्टाचारको चलखेलमा परेर कृषि मल कारखाना नेपालमा स्थापना नगरेको उल्लेख गर्दै नेताहरूले नेपालको नदीनाला भारतलाई सुम्पेर देशघात गर्दा नेमकिपाले विरोध गरेको बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने सोचले कलेजहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
उहाँले कलेजले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि गोलमेडल हासिल गरिसकेको उल्लेख गर्दै कलेज स्थापनाताका अग्रजहरूको सपनाअनुरुप कार्य भइरहेको बताउनुभयो ।
उहाँले विश्वविद्यालय अनुदान आयोगले १०० भन्दा कम विद्यार्थी भएकालाई बन्द गरिसकेको स्थितिमा ख्वप इन्जिनियरिङ कलेजले बढी क्षमताका साथ पढाउँदै आएको बताउनुभयो ।
विद्यार्थीले गरेका अनुसन्धानलाई विश्वका सबैले हेर्न पढ्न मिल्ने गरी व्यवस्था गरेको चर्चा गर्दै उहाँले कलेजले विद्यार्थीहरूलाई आफ्नै खुट्टामा उभिन सफल बनाउने कार्य गरिरहेको बताउनुभयो ।
भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले नेमकिपा सिद्धान्तमा चलिरहेको पार्टी हो† भक्तपुर नगरपालिकाले गर्दै आएको विकास निर्माण एवं शैक्षिक ऋणबारे प्रकाश पार्नुभयो ।
वडा सदस्य श्यामसुन्दर मातांले देश बेचुवाहरू देशका लागि खतरा भएको उल्लेख गर्दै रास्वपाले नेपाललाई भारतको छातामुनि राख्न खोज्नु गलत हो भन्नुभयो ।
कार्यक्रममा स्थानीय गणेशप्रसाद सुवालले नेमकिपा माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधाराअनुरूप अगाडि बढिरहेको उल्लेख गर्दै ठुला पार्टीका नेताहरूले व्यक्तिगत स्वार्थका लागि मात्र राजनीति गरिरहेको बताउनुभयो ।
नेक्राविसङ्घका प्रज्ज्वल खत्रीले विद्यार्थीले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा ज्ञान दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
उमा मातांको सभापतित्वमा भएको सो कार्यक्रममा श्रद्धा कोजु, दीपशीखा बासुकला, कृष्णप्रसाद सुवाल र सुजिना ब्याञ्जुले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा पुरस्कार वितरणको साथै सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

  •  
  •