काठमाडौँ, १८ असोज । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा देशको समसामयिक राजनीतिबारे कार्यकर्ता भेला भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले नयाँ पुस्ता सचेत नभए कुनै पनि समयमा देशको सार्वभौमिकता गुम्न सक्ने बताउनुभयो । उहाँले अमेरिकी साम्राज्यवादको सहयोगमा भारतीय विस्तारवाद र एकाधिकार पुँजीले राजनैतिक हस्तक्षेप गरेकै कारण ७२ सालमा संविधान जारीको नाममा नाकाबन्दी गरेर दुःख दिएको बताउनुभयो ।
भारतीय नाकाबन्दीको विरोधमा नेपाल मजदुर किसान पार्टीले सडक र संसद्बाट तीव्र विरोध गरेपछि भारतीय सरकारले नाकाबन्दी फिर्ता लिन बाध्य भएको उहाँले बताउनुभयो ।
उहाँले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले नयाँ ढङ्गको षड्यन्त्र गर्नेबारे सजग हुनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले नयाँ पुस्ता राजनैतिकरूपले सचेत र सङ्गठित हुनुपर्ने बताउनुभयो ।
नेमकिपाका पूर्वकेन्द्रीय सदस्य श्रीकृष्ण महर्जनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक लोभमा देशलाई बर्बाद पार्न सक्नेबारे सचेत हुनुपर्ने बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला सदस्य रमेश वैद्यले जेनजीको इतिहास, जेनजी आन्दोलनको सफल र असफल पक्षबारे उल्लेख गर्दै युवाहरू राजनीतिकरूपले अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय अध्यक्ष मिनबहादुर बाटाले देशमा पुँजीवादी बन्दोबस्त रहेसम्म भ्रष्टाचार अन्त्य नहुने भएकोले अहिलेको सरकार पनि पुँजीवादी नै हो भन्नुभयो । उहाँले अन्तरिम सरकार संविधानविपरीत गठन भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा कान्छाबाबु महर्जनले पनि बोल्नुभएको थियो ।