भक्तपुर, २८ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा २०८२ साल भदौ २८ गते पार्टी केन्द्रीय सचिवालयको बैठक बस्यो । बैठकले देशको वर्तमान राजनीतिक अवस्थाबारे देहायबमोजिम वक्तव्य दिने निर्णय ग¥यो ।
सचिवालयको निर्णयबारे जानकारी दिन पार्टी सचिव प्रेम सुवालको हस्ताक्षरमा शनिबार वक्तव्य प्रकाशित गरिएको छ । प्रकाशित वक्तव्यमा उल्लेख छ –
“बहुदलीय व्यवस्था पुनःस्थापनापछिको ३५ वर्षयता संयुक्त वा एकल सरकारमा गएका शासक दलहरूले देश र जनताको निःस्वार्थ रूपमा सेवा नगरेको र भ्रष्टाचार, पक्षपात, भागबन्डालगायत अनियमितता गरेको हुँदा भदौ २३ र २४ गतेको जन–असन्तुष्टि छताछुल्ल भएको हो । त्यसपछि देशमा थप राजनीतिक जटिलता उत्पन्न भयो ।
देश र जनताका समस्या समाधानका लागि राष्ट्रपतिबाट समयमा संविधानको संरक्षण तथा पालन भएन र राष्ट्रपतिमा अन्तरनिहित संवैधानिक अधिकार तत्काल प्रयोग गरिएन । समयमै शान्ति सुरक्षा कायम नहुँदा अकल्पनीय जनधनको क्षति भयो । अहिलेको गैरसंवैधानिक कदमको लागि राष्ट्रपति स्वयम्ले जिम्मेवारी लिनुपर्नेछ । इतिहासमा राष्ट्रपति दोषी साबित हुनेछ ।
शासक दलका नेताहरूको सहमतिमा भदौ २७ गते राष्ट्रपतिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा विघटनलगायत संवैधानिक दायरा बाहिरबाट निकास दिनु भनेको जनताको भावनाविपरीत हो । अहिलेको सङ्कटको लागि शासक दलहरू पनि इतिहासमा दोषी साबित हुनेछन् ।
प्रतिनिधिसभाका सभामुखले संसद्मा उठेका विषय कार्यान्वयन गराउन सरकारलाई निर्देशन दिने वा जवाफदेही बनाउनेजस्ता अत्यावश्यक काम गरेनन् । भदौ २३ र २४ गतेको जटिल अवस्थामा समेत सभामुखबाट सर्वदलीय बैठकको आयोजना भएन । यसकारण, इतिहासमा सभामुखसमेत यो सङ्कटको निम्ति दोषी साबित हुनेछन् ।
नेपाल मजदुर किसान पार्टीले ठुला भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण तथा उनीहरूलाई मृत्युदण्डसमेत हुने कानुनी व्यवस्था, नेपालीको सम्पत्तिको सीमाङ्कन र विदेशमा सम्पत्ति राख्न नपाउने, नेपालीलाई योग्यताअनुसार देशभित्र रोजगारी, शिक्षा–स्वास्थ्य उपचार निःशुल्क, व्यक्तित्व विकासमा समान अवसरलगायत बन्दोबस्त हुनुपर्ने विषय उठाउँदै आएको हो । यी न्यायोचित विषयमा नेमकिपा पुनः जोड दिन्छ ।
वर्तमान जटिल राजनीतिक परिस्थितिमा वैदेशिक हस्तक्षेप बढिरहेको यथार्थप्रति सचेत हुँदै अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुँजी एवम् विस्तारवादविरोधी सङ्घर्ष चालु राख्न सम्पूर्ण देशभक्त नेपाली जनतामा नेमकिपा आह्वान गर्दछ ।”