सांसद सुवालको गृहमन्त्री लेखकसँग प्रश्नमन्त्रीजीले २०८१ चैत २९ गतेको राज्य व्यवस्था तथा सुशासन समितिमा ‘हिन्दू धर्म’ उत्कृष्ट दर्शनमा आधारित भन्नुभयो । यो उत्कृष्ट दर्शनमा अन्धविश्वासका विषय के कति छन् ? २०८१ चैत १५ गते काठमाडौँ तीनकुनेमा आगजनी र मान्छेलाई जिउँदै जलाउने ‘हिन्दू’ नहुने यहाँले बताउनुभयो, ‘हिन्दू’ नहुने भए अन्य के हुने भयो त ? त्यस घटनाको के कस्तो छानबिन भयो, प्रतिवेदन कहिले सार्वजनिक होला ?
गृहमन्त्री लेखकको जवाफ: धर्म व्यक्तिगत आस्था र विश्वासको कुरा हो । हिन्दू धर्म र दर्शनप्रति मेरो विश्वास छ । त्यसको अर्थ अरु धर्म नराम्रा छन् भन्ने होइन । सबै धर्ममा मेलमिलाप छ । कुनै पनि धर्मलाई राजनीतिक अभिष्ट पूरा गर्न प्रयोग गर्नु हुन्न । मैले कुनै पनि हिंसात्मक घटनालाई धर्मका आवरणमा उन्मुक्ति दिन नमिल्ने धारणा अभिव्यक्त गरेको हुँ । तीनकुनेमा गरिएको राजतन्त्रको वकालतको विषय नेपालको संविधानविपरीत छ । जोसुकै भए पनि आपराधिक कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याइने छ । (मन्त्री लेखकले प्रश्नको स्पष्ट जवाफ दिनुभएन)
पुरक प्रश्न : काठमाडौँ तीनकुनेमा २०८१ चैत १५ गते भएको घटनाजस्तो दोहोरिन नदिन विद्यालय शिक्षा निःशुल्क र अनिवार्य, विश्वविद्यालय शिक्षा निःशुल्क, देशमा रोजगारीको व्यवस्था र व्यक्तित्व विकासमा समान अवसरको बन्दोबस्त गर्नु जरुरी छैन र ?
गृहमन्त्री लेखकको जवाफ : अपराधजन्य घटना हुन नदिने सन्दर्भमा नेपाल सरकार गम्भीर छ । शिक्षा–स्वास्थ्यका विषयमा माननीयले उठाउनुभएको विषयमा मेरो गम्भीररूपले ध्यान आकृष्ट भएको छ । (मन्त्री लेखकले प्रश्नको स्पष्ट जवाफ दिनुभएन)
गृहमन्त्री रमेश लेखकसँग प्रश्न : २०८१ चैत १५ गते काठमाडौँ तीनकुनेमा अश्रुग्यास, गोली प्रहार, आगजनीसम्मको घटनामा श्रमिक (गाडी चालक) सबिन महर्जन र एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको मृत्यु के कति कारणले भयो ? सरकारद्वारा सञ्चालित जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी, निजी र सरकारी घर तथा गाडीमा आगजनी र तोडफोड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्धन भण्डारणमा आगो फ्याँक्ने, पसल लुटपाट गर्ने, पार्टी कार्यालय तोडफोडलगायत घटनामा संलग्नलाई समयमै नियन्त्रणमा लिन सरकार कसरी सक्षम भएन ? यो घटनाको छानबिन र कारबाही के कस्तो भइरहेको छ ? भौतिक वस्तुमा आगजनी र तोडफोड भएपछि नेपालजस्तो आन्तरिक उत्पादन कमजोर भएको देशमा विदेशी पुँजीलाई फाइदा हुने विषय सरकारलाई कसरी थाहा भएन ?
गृहमन्त्री रमेश लेखकको जवाफ : काठमाडौँ तीनकुनेमा पूर्वराजावादी समूहबाट भएको हिंसात्मक घटनामा एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको प्रदर्शनकारीले एक निजी घरमा लगाएको आगोमा जलेर मृत्यु भएको र अर्का व्यक्ति सबिन महर्जनको हिंसात्मक प्रदर्शन नियन्त्रण गर्ने क्रममा गोली लागेर निधन भएको थियो । उक्त तोडफोड र आगजनीमा संलग्नहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र अभियोजनको कार्य भइरहेको छ । स्वदेशी उत्पादन हुने औषधि कम्पनीमा आगो लगाइएको घटनाको हिंसात्मक प्रदर्शनका आयोजकहरूले जिम्मा लिनुपर्नेमा सरकार प्रस्ट छ ।
पुरक प्रश्न : तीनकुनेमा २०८१ चैत १५ गते शहादत प्राप्त सबिन महर्जन र सुरेश रजक दुवैको परिवार कलेज पढ्न चाहनुहुन्छ । सबिन महर्जनको भर्खरको ८–१० वर्षकी छोरी छिन् । तीनैजनालाई कलेज र विद्यालयमा निःशुल्क पढ्ने र पढाइपछि रोजगारीको बन्दोबस्त गर्नेतर्फ सरकारको योजना के कस्तो छ ?
गृहमन्त्री लेखकको जवाफ : उहाँहरू दुवैजनाको परिवारलाई नेपाल सरकारबाट तत्काल राहत उपलब्ध गराउने निर्णय भइसकेको छ । उहाँहरूको पढाइ र रोजगारीको विषयमा सरकार गम्भीर छ । यसबारे सरकारको तर्फबाट सकारात्मक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।
(नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले २०८२ जेठ ५ गते प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकसँग सोध्नुभएको प्रश्न र मन्त्री लेखकको जवाफको सार–सं)

​​​​​​​